रुकुम पश्चिमको घटना छानविन गर्न गृह मन्त्रालयद्वारा छानबिन समिति गठन
काठमाडौँ । रुकुम पश्चिममा तीन जनाको मृत्यु र तीन जना बेपत्ता हुने गरी भएको घटनाको छानबिन गर्नका लागि गृह मन्त्रालयले सहसचिवको नेतृत्वमा समिति गठन गरेको छ । गृहमन्त्री रामबहादुर थापाले दलित युवाले मल्ल थरकी युवतीसँग विवाह गर्न खोज्दा भएको घटनाबारे छानबिन गर्नका लागि समिति गठन भएको सदनलाई जानकारी गराएका हुन् ।
राष्ट्रिय सभाको मंगलबारको बैकठमा गृहमन्त्री थापाले गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा प्रहरी वरिष्ठ उपरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका अधिकृत प्रतिनिधि, महान्यायाधिवक्ताको कार्यालयका अधिकृत प्रतिनिधि र गृह मन्त्रालयका उपसचिव रहने गरी ५ सदस्यीय छानबिन समिति गठन गरिएको जानकारी दिएका हुन् । गृहमन्त्रीले जाजरकोटका १९ जनाको समूह केटी भगाउन रुकुम पश्चिम गएको र त्यसै क्रममा केटी पक्षकाले आक्रमण गरेको जानकारी गराए । जसमा केटी भगाउने केटा नवराज विकसहित ३ जनाको शव भेटिएको र ३ जना बेपत्ता रहेका बताए । त्यस्तै बाँकीलाई सामान्य सोधपुछपछि प्रहरीले छोडेको पनि उनले जानकारी गराए ।
उनले कानुनी राज्य स्थापना गर्नेमा सरकार दृढ रहेको भन्दै घटनामा संलग्न १२ जनालाई नियन्त्रणमा लिइएको बताए । सांसदहरूले जातीय भेदभावका घटना बढेको भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए । प्रमुख प्रतिपक्षी कांग्रेसका राष्ट्रिय सभा संसदीय दलका नेता राधेश्याम अधिकारीले घटनाको उक्त घटनाबारे सत्यतथ्य र त्यसविरुद्ध चालिएका कदमबारे जानकारी गराउन माग गरेका छन् ।
उनले कानुनले छुवाछुतलाई दण्डनीय भनेको तथा अपराध संहिताले छुवाछुतलाई कठोर रूपले दण्डनीय बनाउने व्यवस्था गरेको भन्दै उनले अहिले पनि दलितमाथि गैरदलितबाट आक्रमण हुनु लज्जास्पद विषय भएको बताएका थिए । अन्य सांसदहरुले पनि घटना अमानवीय भएको भन्दै दोषीलाई कडा कारबाही गर्न माग गरेका छन् ।