प्रचण्डलाई नेपालको अध्यावधिक नक्सा हस्तान्तरण
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई लिम्पियाधुरा, लिपुलेक र कालापानी समावेश गरिएको नेपालको अध्यावधिक नक्सा हस्तान्तरण गरेकी छन् । शनिवार बिहान अध्यक्ष प्रचण्ड निवास खुमलटार पुगेर मन्त्री अर्यालले नेपालको राजनीतिक तथा प्रशासनिक नक्सा प्रचण्डलाई हस्तान्तरण गरेकी हुन् ।
सो अवसरमा अध्यक्ष प्रचण्डले नक्सा तयार पार्न खट्नु हुने मन्त्री सहित मन्त्रालयका सम्पूर्ण कर्मचारीहरुलाई धन्यवाद दिएका थिए । मन्त्री अर्यालले आफूहरु नक्सा प्रकाशनको तयारी अवस्थामा नै रहेको र त्यसका लागि पार्टी र सरकारको निर्देशनको पखाईमा रहेको स्पष्ट पारेकी थिइन् । त्यअघि शुक्रबार मन्त्री अर्यालले राष्ट्रपति विद्यादेवी भण्डारी, सभामुख अग्नी सापकोटा, कांग्रेस सभापति शेरबहादुर देउवालगायतलाई नक्सा हस्तान्तरण गरेकी थिइन् ।