नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबारे चिनियाँ चासो
काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत हउ यान्छीले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेकी छन् । शुक्रबार बिहान अध्यक्ष प्रचण्डलाई भेट्न यान्छी प्रचण्ड निवास खुमलटार पुगेकी थिइन् । भेटमा नेपालमा विकसित राजनैतिक घटनाक्रमवारे कुराकानी भएको बताइएको छ ।
अध्यक्ष प्रचण्डलाई भेटेलगत्तै राजदूत यान्छीले नेकपका बरिष्ठ नेता माधवकुमार नेपाललाई पनि भेटेकी छन् । भेटका अवसरमा दुई देशबीचको घनिष्ठ सम्बन्धका विविध पक्षका बारेमा कुराकानी भएको छ नेकपाका नेता विष्णु रिजालले जानकारी दिएका छन् ।
त्यसैगरी राजदूत यान्छीले बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेट गरेकी थिइन् । बुधबार दिउँसो चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख सोङ्ग ताओले नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाललगायतसँग तीन घण्टा भिडियो कन्फरेन्समार्फत कुराकानी गरेका थिए । सबैतिरबाट नेपालमा विकसित राजनैतिक घटनाक्रमवारे जिज्ञासा, पार्टी एकता रहने आशा ब्यक्त भएका पत्रकार किशोर श्रेष्ठले जानकारी दिएका छन् ।