पार्टीको एकता बचाउन संवाद गरौंः घनश्याम भुसाल
काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य एवं कृषि मन्त्री घनश्याम भुसालले पार्टी एकताका लागि संवादमा जोड दिन आग्रह गरेका छन् । सामाजिक संजाल फेसबुकमार्फत उनले नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको र पार्टी विभाजनसम्मको खतरा रहेको संकेत गरेका छन् ।
उनले भनेका छन्, ‘२०५४ सालमा नेकपा एमाले लोकप्रियताको शिखरमा थियो, फुट्यो । र, २०४७ सालको प्रजातन्त्र अस्थीर हुँदै गयो । २०६४(६५ मा नेकपा माओवादी प्रलयकारी शक्तिकासाथ अगाडि आयो । र, विभाजनको प्रक्रियामा गयो । आज नेकपा असाधारण शक्ति र प्रभावकासाथ उपस्थित छ। र, यसमा समस्या थपिँदै गएका छन्,’ नेता भुसालले लेखेका छन्, ‘समस्याले उपयुक्त समाधान खोज्छ । अनुपयुक्त र गलत प्रयासले समस्यालाई झनै बढाउँछ। पार्टीको एकता बचाउन, लोकतन्त्र र समाजवादका मूल्यहरुको जगेर्ना गर्न पहिलो, नहडबडाउँ, दोस्रो, संवाद गरौं र तेस्रो, संस्थागत प्रणालीभित्रै समाधान खोजौं । मुलुकले सबै कमरेडहरुबाट जिम्मेवारी बोधको ऐतिहासिक गम्भीरता माग गरेको छ।’