प्रचण्ड-ओली वार्ताः सचिवालय र स्थायी कमिटी बैठकबाट समाधान खोज्न प्रचण्डको आग्रह
काठमाडौं । सत्तारुढ नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच मंगलबार झण्डै तीन घण्टा भएको वार्ता निष्कर्षविहीन भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा नेकपाभित्रको विवादका विषयमा छलफल भएको थियो ।
बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्रीसमेत रहेका ओलीले आफूलाई सहयोग गर्न पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डलाई आग्रह गरेका थिए । तर प्रचण्डले सचिवालय र स्थायी समिति बैठकबाट समस्याको समाधान गर्नुपर्नेमा जोड दिएका स्रोतको दावी छ ।
सबै पक्षलाई विश्वासमा लिएर अगाडि बढ्नुपर्नेमा प्रधानमन्त्रीले आफूखुसी सीमित घेराबाट सरकार सञ्चालन गरेकाले निम्तिएको समस्या भन्दै प्रचण्डले निकास दिने विषयमा पनि नेतृत्व लिन ओलीलाई नै आग्रह गरेका थिए । प्रधानमन्त्री ओलीले अब विगतमा भएका सहमतिको कार्यान्वयन गर्ने र एकता महाधिवेशनसम्म मिलेर जान प्रचण्डलाई आग्रह गरेका छन् ।
प्रचण्डले भने विगतमा आफूले प्रधानमन्त्री पद पनि छाडेको, पटक पटक सहमति गरेपनि पालना नभएको गुनासो गरेका छन् । अहिले आफूलाई प्रधानमन्त्री पनि नचाहिएको भन्दै प्रचण्डले नेतृत्वदायी भूमिका देखाएर पार्टीमा देखिएको समस्या समाधानमा गम्भीर बन्न आग्रह गरेका स्रोतको भनाइ छ । आज आन्तरिक छलफल गरेर भोलिसम्म सचिवालय बैठक बस्नेगरी दुई अध्यक्षबीच छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ ।