भूकम्पको बेला जस्तै कोरोना भाइरस विरुद्धको लडाईंमा पनि एकताबद्ध भएर अघि बढौंः प्रधानमन्त्री



काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पपछिको राहत, उद्धार, पुनःनिर्माण तथा पुनःस्थापनाको काममा अघि बढेझै सबै नेपालीको जीवन रक्षाका लागि कोरोना भाइरस विरुद्धको लडाइमा एकताबद्ध हुन सबैमा आग्रह गरेका छन् ।

प्रधानमन्त्री ओलीद्वारा भूकम्प स्मृति दिवसका अवसरमा शुक्रबार जारी सन्देशमा विषम परिस्थितिका बीच अनेकन दुःखकष्ट भोग्दै कोरोना रोकथाम तथा नियन्त्रणको अभियानमा जुटन आग्रह गरेका हुन् ।

पाँचाै भूकम्प स्मृति दिवसका अवसरमा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले दिनुभएकाे सन्देश

आदरणीय दिदी बहिनी तथा दाजुभाइहरु !
आजभन्दा ठीक ५ वर्षअघि २०७२ साल वैशाख १२ गते बिहान ११ बजेर ५६ मिनेटमा गोरखा जिल्लाको बारपाकमा केन्द्रविन्दु भई विनासकारी भूकम्प गएको थियो । भूकम्प र त्यसपछिका पराकम्पबाट करिब ९ हजार व्यक्तिले ज्यान गुमाउनु पर्‍यो भने मुलुकले करिव सात खर्ब रुपैयाँ बराबरको आर्थिक क्षति बेहोर्नु प¥यो । म त्यस भूकम्पमा परी आफ्नो अमूल्य ज्यान गुमाउनु भएका सबै दिदी बहिनी तथा दाजुभाइहरुको स्मरण र हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु ।

त्यतिबेला कतिपय, यसरी पनि सोच्दै थिए– भूकम्पबाट क्षति पुगेका लाखौंको संख्याका निजी आवास, यतिधेरै सार्वजनिक संरचनाहरु र पुरातात्विक महत्वका धार्मिक एवं साँस्कृतिक सम्पदाहरुको पुनर्निर्माण गर्न त सकिएला ? गल्र्याम्मै ढलेको धरहरा फेरि उभ्याउन सकिएला ? यसरी पनि तर्क गरिंदै थियो, नब्बे सालको भूकम्पपछि नयाँ सडक बनेझैं के अब पनि नयाँ सिर्जना हुनसक्लान् ?

म स्मरण गर्न चाहन्छु, हामी नेपालीहरु भुकम्पको लगत्तै एकआपसबीच सहकार्य र सहयोगमा जुट्यौं । पहिले उद्दार, अनि राहत र त्यसपछि पुनर्निर्माणको अभियानमा जुट्यौं । ‘पहिलेको भन्दा राम्रो र त्यो भन्दा झन् बलियो’ भन्ने नाराका साथ पुनर्निर्माण अभियान थाल्यौं ।

फर्केर हेर्दा आज, विगतेका पाँच वर्षको अवधिमा हामीले भूकम्प प्रतिरोधी र आकर्षक कैयौं संरचनाहरु बनाउन सफल भएका छौं । निजी आवासतर्फ मात्रै हामीले करिव पाँच लाख घरहरुको पुनर्निर्माण सम्पन्न गरिसकेका छौं । १ लाख ९० हजार घरहरु पुनर्निर्माणको क्रममा छन् । हालसम्म ९ वटा एकीकृत बस्तीहरुको पुनर्निर्माण सम्पन्न भई नै सकेका छन् । थप ७० वटाको योजना स्वीकृत भई पुनर्निर्माणको क्रममा छन् । यसरी व्यवस्थित र सुन्दर एकीकृत बस्तीहरु बनिरहेका छन् । ५ हजार ५ सय ९८ विद्यालयको पुनर्निर्माण सम्पन्न भएको छं ।
६ सय ६९ वटा स्वास्थ्य संस्थाहरुको पुनर्निर्माण सम्पन्न भएको छ । १ सय ४५ वटा पुनर्निर्माणको क्रममा छन् । सम्पदा क्षेत्रका १ सय ७० मध्ये १ सय १ साँस्कृतिक तथा पुरातात्विक सम्पदाहरुको पुनर्निर्माण सम्पन्न भइसकेको छ । थप ५४ सम्पदाहरु पुनर्निर्माणको क्रममा रहेका छन् । ३ सय ४९ वटा सरकारी भवनहरुको पुनर्निर्माण गरिएको छ र ४९ वटा पुनर्निर्माणको क्रममा छन् ।

भूकम्पपछि असुरक्षित स्थानमा रहेका ४ हजारभन्दा धेरै लाभग्राहीलाई सुरक्षित स्थानमा जग्गा व्यवस्था गरी नयाँ बसोबासको प्रबन्ध मिलाइएको छ । करिव ९ हजार भूमिहीन तथा सुकुम्बासीहरुलाई जग्गाको व्यवस्थापन सहित घर निर्माण गर्ने वातावरण मिलाइएको छ ।
हाम्रो ऐतिहासिक धरोहरका रुपमा रहेका धरहरा र रानीपोखरीको अत्याधुनिक र सुन्दर पर्यटकीय गन्तव्यका रुपमा नयाँ निर्माण कार्य अघि बढेको छ । धरहराको दशौं तल्ला ढलान भइसकेको छ ।

सम्पदा क्षेत्रमा पुनर्निर्माण सम्पन्न भएका र निर्माणको क्रममा रहेका गरी हामीले ९१ प्रतिशत प्रगति हासिल गरेका छौँ । ३२ जिल्लाका सम्पदाहरुको पुनर्निर्माण ४३.७ प्रतिशत सम्पन्न भइसकेका छन् । काठमाडौँ उपत्यकाका सम्पदाको पुनर्निर्माण ५९ प्रतिशत सम्पन्न भएको छ । यो हाम्रा लागि चानेचुने उपलब्धि मात्र होइन ।

यदि यस बीचमा कोरोना भाइरसको महामारी नआएको भए हाम्रो धरहरा यसका थप दुई तल्ला अग्लो ढलान भइसक्ने निश्चित थियो । । मल्लकालीन नासो रानी पोखरीको आजकै दिन पुनर्निर्माण सम्पन्न गरी उद्घाटनको तयारी थियो । नेपालको शैक्षिक जागरणको पहिलो विद्यालय दरबार हाइस्कूलको नवनिर्माण सम्पन्न भइसकेकाले त्यसको पनि सगौरव उद्घाटन हुने थियो । सिंहदरबारको रेट्रोफिटिङ र पुनर्निर्माण कार्य सम्पन्न गरी त्यहाँ पूर्ववत् प्रधानमन्त्री तथा मन्त्रिपरिषदको सचिवालय स्थानान्तरणको तयारी गरिएको हुने थियो ।

पुनर्निर्माण तथा पुनस्र्थापनामा हाम्रो अवधारणा र हामीले अपनाएको विधि विश्वका अरु देशका लागि पनि अनुकरणीय हुनसक्ने स्तरका छन् । त्यो तपाईँ हामी सबैको सहयोग, सहकार्य, दृढता र संकल्पकै कारण सम्भव भएको हो । यस अवसरमा म पुनर्निर्माण तथा पुनस्र्थापनामा सहयोग पु¥याउनु हुने स्थानीय जनसमुदाय, राजनीतिक दल तथ जनप्रतिनिधिहरु, निर्माणकर्मी, प्राविधिक, राष्ट्रसेवक, संचारकर्मीहरु एवं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहयोगीहरु सबैलाई हार्दिक धन्यवाद भन्न चाहन्छु ।

आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरु,
सदृश्य भग्नावशेष निर्माण गर्न जति गाह्रो हुन्छ, अदृश्य शत्रुसँंग लड्ने कार्य त्यसभन्दा धेरै जटिल हुँदो रहेछ भन्ने हामी सबैले बुझिरहेकै छौं । यतिबेला विश्वका विभिन्न देशजस्तै हामी पनि अर्को विश्वव्यापी महाविपद् कोरोना भाइरसको महामारी विरुद्धको लडाईंमा छौं । त्यसैका कारण विगत एक महिनादेखि सिंगो देश लकडाउनमा रहन बाध्य भएको छ । लकडाउनका कारण पुनर्निर्माण तथा पुनर्स्थापनाका कार्यहरुमा गम्भीर असर परेको सर्वविदितै छ । मलाई विश्वास छ, कोरोना भाइरस विरुद्धको यस लडाईँमा हामी विनाशकारी भूकम्पपछि सिर्जित विपत्तिमा जस्तै संयम र साहसका साथ सामना गरेर अघि बढ्न सक्षम हुनेछौं । सही नीति, सहकार्य र स्रोत व्यवस्थापन तथा परिचालनको प्रबन्ध मिलाएरै हामी यस लडाईंमा विजयी हुनेछौं ।

हामीले सुरुदेखि नै विशेष सतर्कता अपनाएर कोरोना रोकथाम तथा नियन्त्रणका कार्यहरु गर्दै आएका छौं । यसबीचमा देखापरेका जुनसुकै समस्याहरुलाई सही र सामयिक नीति, निर्णय र सुस्पष्ट योजनाका साथ सल्टाउँदै अघि बढेका छौं । सबैको साथ, सहयोग र सजगताले गर्दा कोरोना भाइरसका कारण विश्वभर करिब दुई लाख मानिसले ज्यान गुमाउनुपरेको भए तापनि हामीकहाँ अहिलेसम्म मानवीय क्षति भएको छैन । यस निम्ति हामीले समयमै चालेका कदमहरुको सहीपना र नेपाली दिदीबहिनी तथा दाजुभाइहरुको एकता र समझदारी मुख्य कारक रहेको छ । यसरी विषम परिस्थितिका बीच अनेकन् दुःखकष्ट भोग्दै कोरोना रोकथाम तथा नियन्त्रणको अभियानमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग पुर्‍याउनु हुने सबैलाई म हार्दिक धन्यवाद दिन चाहन्छु ।

भूकम्पपछिको राहत, उद्दार, पुनर्निर्माण तथा पुनस्र्थापनाको काममा अघि बढेझैं सबै नेपालीको जीवन रक्षाका लागि कोरोना भाइरस विरुद्धको लडाईंमा एकताबद्ध हुन म फेरि सबैमा आग्रह गर्दछु ।

अहिले लकडाउनका कारण सिंगो अर्थतन्त्र ठप्पप्रायः नै रहेको छ । यसले अर्थतन्त्रमा पार्ने नकारात्मक असरलाई न्यून गर्न आइपरेको यस संकटको सामना गरेर अघि बढ्नुको अर्को कुनै विकल्प पनि छैन । यसबाट केही हदसम्म भूकम्पपछिको पुनर्निर्माणका बाँकी कामहरु पनि प्रभावित हुनपुगेका छन् । आवश्यक स्वास्थ्य उपकरणको व्यवस्थासहित अबरुद्ध पुनर्निर्माणको प्रक्रियालाई सुचारु गर्ने प्रबन्ध मिलाउन जरुरी भइसकेको छ । पुनर्निर्माण कार्यमा कुनै ढिलाई नहोस् भनी समन्वय र प्रबन्ध मिलाउन सरकार गंभीर र संवेदनशील छ ।
भूकम्पपछिको पुनर्निर्माणका बाँकी कार्यहरुलाई पनि हामी योजनाबद्ध ढंगले टुंगोमा पुर्‍याउन/सम्पन्न गर्न सफल हुनेछौं ।
धन्यवाद ।

केपी शर्मा ओली
प्रधानमन्त्री
१२ बैशाख २०७७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रूकुम पूर्वको भूमेमा आठ महिने नाबालकसहित दुईको हत्या, आरोपीको पनि भीरबाट लडेर मृत्यु

  त्रिवेणी (रूकुम पश्चिम) । रूकुम पूर्वको भूमे गाउँपालिका–४ को साकिममा आठ महिने

सामाजिक सञ्जालसम्बन्धी विधेयक जसरी पनि संसद्बाट पास गर्छौं : सञ्चारमन्त्री गुरूङ

काठमाडौं । सञ्चार तथा सूचनाप्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयक जसरी पनि

फागुन ४ गते बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीसँग प्रश्न उत्तर

काठमाडौँ । आगामी फागुन ४ गते बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँग प्रश्न उत्तर कार्यक्रम

माधव नेपाल र विप्लवसँग पार्टी एकताको कुरा भइरहेको छः अध्यक्ष प्रचण्ड

काँक्रेविहार (सुर्खेत)। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले