कोरोनाविरुद्धको लडाइँमा आआफ्ना तर्फबाट सक्दो योगदान गर्न राष्ट्रपतिको आह्वान



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले अहिलेको परिस्थितिमा कुनै भावनामा बगेर होइन कि रोगको गम्भीरतालाई मनन गर्दै रोकथाम, नियन्त्रण र उपचारमा नेपाल सरकारलाई सघाउन आग्रह गरेकी छन् ।

कोरोना भाइरसबाट उत्पन्‍न विश्वव्यापी महामारीको सन्दर्भमा देशबासीको नाममा शुक्रबार सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले सरकारले समयमै लिएका नीति र चालेका कदमहरू प्रभावकारी भएकाले नै यो सीमित रहन भएर फैलन नभएको बताएकी छन् ।

राष्ट्रपति भण्डारीको सम्बोधनको पूर्ण पाठ

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू,

आज मानजातिले कोरोना महामारीको कारण एउटा अकल्पनीय परिस्थितिको सामना गरिरहेको छ ।

संसारका सबैजसो मुलुकहरूमा फैलिइरहेको यस महामारीबाट हाम्रो देश नेपाल पनि अछुतो रहन भने सकेन । यद्यपि अहिलेसम्म नेपालमा आन्तरिक संक्रमण देखिएको छैन । बाहिरबाट संक्रमित भएर आएकालाई पत्ता लगाएर उपचार गरिएको अवस्था हो ।
सरकारले लिएका नीति र चालेका कदमहरू प्रभावकारी भएकाले नै यो सीमित रहन गयो र फैलन पाएन । यदि सतर्कता अपनाइएन भने संक्रमण फैलन सक्ने भएकाले सबैले स्वास्थ्यमा आवश्यक ध्यान दिनु पर्दछ । हामी कुनै भावनामा बगेर होइन बरु यस रोगको गंभीरतालाई मनन गर्दै रोगको रोकथाम, नियन्त्रण र उपचारमा नेपाल सरकारले चालेका कदमलाई साथ दिन म सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक आव्हान गर्दछु ।

जनस्वास्थ्यलाई उच्च प्राथमिकतामा राखी सङ्क्रमण फैलिएर परिस्थिति नियन्त्रण बाहिर नजाओस् भनेर नेपाल सरकारले पूरै देशमा लकडाउन गरेको छ । लकडाउनले गर्दा हाम्रो दैनिक जीवनमा केही अप्ठ्याराहरू सिर्जना भएका छन् । तर पनि सबैले आफ्नो मात्र होइन, आफ्नो परिवार, छरछिमेक र समग्र समुदायको स्वास्थ्य र अमूल्य जीवन जोगाउन लकडाउनका बेलामा संयमित भएर घर बाहिर निस्कनु हुँदैन ।

आ–आफ्नो घरमा बसेर सामाजिक दूरी कायम गरेमा यो रोगको रोकथाम गर्न सहज हुनेछ । हाम्रो संयमताले नै सिङ्गो समाज र राष्ट्रलाई कोरोना भाइरसबाट जोगाउन सकिने भएकाले सबैले यस पक्षमा ध्यान दिनु अति आवश्यक छ । पूरै देश लकडाउन गर्नुपर्ने परिस्थितिले हाम्रो अर्थतन्त्रलाई पनि प्रतिकूल प्रभाव पारेको छ ।
यसले सम्पूर्ण उद्योगधन्दा र व्यापार व्यवसायलाई नकारात्मक असर पुर्‍याएको छ ।

यस परिस्थितिमा दैनिक ज्यालादारीबाट आफ्नो जीवनयापन गर्ने श्रमजीवीहरू सबैभन्दा बढी प्रभावित हुने अवस्था उत्पन्न भएको छ । यसको लागि नेपाल सरकारले विभिन्न राहत प्याकेजको घोषणा समेत गरिसकेको छ । यस विश्वव्यापी महामारीको समयमा संसारका विभिन्न मुलुकहरूमा रहनु भएका सम्पूर्ण नेपाली नागरिकहरूलाई आ–आफ्नो ठाउँमा आवश्यक सकर्तकतासहित सुरक्षित रहन आव्हान गर्दछु ।

नेपालीहरू जो जहाँ हुनुहुन्छ यथास्थानमा रहेर कोरोना विरुद्धको लडाईँलाई सफल पार्न योगदान गर्नुहुनेछ भन्ने समेत अपेक्षा लिएको छु । विभिन्न देशमा रहनु भएका नेपालीहरूलाई कोरोना भाइरसको संक्रमणबाट बचाउन सम्बन्धित देशले देखाएको तत्परताका लागि म सबै मित्रराष्ट्रहरूप्रति आभार प्रकट गर्दछु ।
साथै कोरोना भाइरसका विरुद्धमा जुध्न विभिन्न अन्तर्राष्ट्रिय संघसंस्थाबाट प्राप्त सहयोग र सहयोगको प्रस्तावका लागि सम्बद्ध पक्षलाई धन्यवाद दिन चाहन्छु ।

रोग लाग्नै नदिनु हाम्रो प्रमुख प्राथमिकता भएतापनि रोग लागेको खण्डमा विरामीहरूको उपचारको तयारीमा नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, सम्पूर्ण सुरक्षा निकायहरू र स्वास्थ्य क्षेत्रसँग सम्बद्ध सबै नै अहोरात्र खटिरहनु भएको छ । यसका लागि सम्बन्धीत सबैको योगदानको उच्च कदर गर्दै हार्दिक धन्यवाद दिन चाहन्छु ।
यस्तो महामारीको बेलामा सबैभन्दा जोखिमयुक्त अग्रमोर्चामा रहेर काम गर्ने डाक्टर, नर्स, समग्र स्वास्थ्यकर्मीहरू लगायत सम्पूर्ण राष्ट्रसेवकहरुको धैर्यताको उच्च सम्मान गर्दछु ।

तपाईँहरूको साथमा राज्य छ र आमजनताको गहिरो शुभेच्छा सधैँ रहिरहनेछ । यतिबेला हाम्रो आकाश निर्मल र निलो देखिएको छ ।  तर नोभेल कोरोनाभाइरसका कारण सिङ्गो धर्ती युद्धमैदान जस्तै भएको महसुस हुन्छ । कोरोना भाइरस बिरुद्धको यस लडाइमा मानवजातिले निकट भविष्यमा नै सफलता हासिल गर्नेछ भन्नेमा म पूर्णरुपमा विश्वस्त छु ।

कोरोनाबाट संक्रमित भई उपचाररत सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु । यस महामारी विरुद्धको लडाइँमा आ–आफ्नो तर्फबाट सक्दो योगदान गर्नका लागि सम्पूर्ण राजनीतिक दल, उद्योगपति, व्यापारी, विज्ञ, सञ्चारकर्मी, स्थानीय समुदाय एवं स्वयंसेवी संस्थाहरूलाई हार्दिक आह्वान गर्दछु ।
अन्तमा, सम्पूर्ण राष्ट्र एकजुट भएर अगाडि बढेमा कोरोना भाइरसमाथि अवश्य विजय हासिल गर्न सकिनेछ भन्ने विश्वास सहित तपाईँहरू सबैको सुस्वास्थ्यको कामना गर्दछु । धन्यवाद

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अर्थराजनीतिक दृष्टिकोणमा आधारित परराष्ट्र नीति नेपालको प्राथमिकताः सापकोटा

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का परराष्ट्र मामिला सल्लाहकार डा रुपक सापकोटाले अर्थराजनीतिक

अर्थ मन्त्रालयका सहसचिवको संयोजकत्वमा बजेट मस्यौदा लेखन समिति गठन

काठमाडौँ । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि बजेट मस्यौदा लेखन

पाल्पामा आफ्नै छिमेकीको हत्याका अभियुक्त पक्राउ

  पाल्पा । प्रहरीले  १९ वर्षीया युवती हत्याका अभियुक्त सार्वजनिक गरेको छ ।

सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता नलिए कारबाही गर्ने नाउपा अध्यक्ष रञ्जिताको चेतावनी

धनगढी । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन संसदीय