कोरोना भित्रिन नदिन सीमाका ४३ स्थानमा स्वास्थ्य विन्दु राखेर परीक्षणको व्यवस्थाः स्वास्थ्यमन्त्री
काठमाडौं । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले नेपालमा हालसम्म कसैलाई पनि कोरोना भाइरसको संक्रमण नदेखिएको बताएका छन् । राष्ट्रियसभाको शुक्रबारको बैठकमा सरकारकातर्फबाट कोरोना भाइरससम्बनिध जानकारी गराउँदै स्वास्थ्यमन्त्री ढकालले हालसम्म नेपालमा कोरोना भाइरस संक्रमित नभेटिएको बताएका हुन् ।
उनले हालसम्म ४ सय ६४ जनामा कोरोना संक्रमणको आशंकामा स्वास्थ्य परिक्षण गरिएपनि सबैको रिपोर्ट नेगेटिभ आएको जानकारी दिए । देशमा साना ठूला १२९ नाकामध्ये ४३ विन्दुमा जाँच गरेर भारत हुँदै नेपाल आउनेको स्वास्थ्य परीक्षण गर्ने गरिएको जानकारी दिए ।
सीमा जोडिएका स्थानीय तहलाई पनि २१ बुँदे निर्देशन पठाइएर आवश्यक सावधानीको व्यवस्था गरिएको मन्त्री ढकालले जानकारी गराए । एसईइ परीक्षाका बारेमा चार गतेसम्म हेरेर निर्णय लिइने बताए । उनले सगरमाथा संवाद स्थगित गरिएको, अन्तर्राष्ट्रिय कार्यक्रममा भाग नलिने, भोजभतेर र भिडभाड हुने कार्यक्रममा नगएर सहयोग गर्न आमनागरिकलाई आव्हान गरे ।