शनिबार बस्ने सचिवालय बैठकका एजेण्डाबारे प्रचण्ड र नेपालबीच छलफल
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपालबीच भेटवार्ता भएको छ । शनिबार बस्ने पार्टीको सचिवालय बैठकका एजेण्डाकाबारेमा दुई नेताबीच छलफल भइरहेको हो ।
नेता नेपाललाई भेट्न अध्यक्ष प्रचण्ड नेपाल निवास कोटेश्वर आएका हुन् । सचिवालय बैठकको पूर्वसन्ध्यामा दुई नेताबीचको भेटलाई महत्वका साथ हेरिएको हो । शनिबार बस्ने सचिवालय बैठकमा प्रस्तुत हुने विषयवस्तुको बारेमा छलफल गर्न नेताहरुबीच भेटघाट भएको नेता नेपालका सहयोगी मोहन गौतमले जानकारी दिएका छन् ।
बुधबार बसेको सचिवालय बैठक विना निष्कर्ष टुंगिदै शनिबारका लागि बोलाइएको थियो । बुधबारको बैठकमा प्रधानमन्त्रीले बामदेव गौतमलाई प्रधानमन्त्री र नेता नेपाललाई तेस्रो अध्यक्ष बनाउने प्रस्ताव गरेका थिए । अध्यक्ष प्रचण्ड लगायतका नेताले भने प्रधानमन्त्रीलाई दुवै पदबाट राजीनामा दिन सुझाव दिइसकेका छन् । सरकार र प्रधानमन्त्रीको कार्यशैलीको विषयलाई लिएर नेकपाभित्र अहिले विवाद बढेको छ ।