दलको मान्यता दिन जनता समाजवादी पार्टीद्वारा निर्वाचन आयोगमा निवेदन दर्ता
काठमाडौं । राष्ट्रिय जनता पार्टी र समाजवादी जनता पार्टीले निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएका छन् । बिहान ११ बजे १६ मिनेटमा दुई दलबीच एकताका लागि भएको सहमति पत्र दर्ता गराइएको हो ।
आयोगले निवेदन दर्ता गरेको छ । निवेदनको दर्ता नम्बर १३८८ रहेको छ । आफूहरुले सहमति पत्र सहितको निवेदन दिएको र अन्य कागजात लकडाउनपछि बुझाउने नेता केशव झाले जानकारी दिएका छन् । राजपा र समाजवादी पार्टीबीच बुधबार मध्यराति पार्टी एकीकरणको सहमति भएको थियो । अब एकीकृत पार्टीको नाम जनता समाजवादी पार्टी हुनेछ।
त्यस्तै झण्डा मसाल अंकित यसअघीको समाजवादीको हुनेछ भने चुनाव चिह्न राजपाको छाता हुनेछ । दर्ताका लागि आयोगमा बुझाइएको निवेदनमा राजपाका तर्फबाट अध्यक्ष मण्डलका नेता शरदसिंह भण्डारी र समाजवादीका तर्फबाट उपेन्द्र यादवले हस्ताक्षर गरेका छन् ।