काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)की सांसद बलावती शर्माले भोटेकोसीमा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति सरकारको ध्यानाकर्षण गराएकी छन् ।
बिहीबारको प्रतिनिधिसभा बैठकमा सांसद शर्माले भदौ १० गते भोटेकोसीमा आएको बाढीका कारण हजारौँ परिवार प्रभावित हुनुका साथै अर्बौँ रुपैयाँ बराबरका भौतिक संरचना ध्वस्त भएको बताइन् ।
उनले बाढीका कारण रसुवा, नुवाकोट र धादिङका नागरिक मात्रै नभई सिंगो देश र नेपालीले पीडा भोग्नुपरेको बताइन् । बाढीले नागरिक र भौतिक संरचनासँगै हजारौँ नागरिकका सपना समेत बगाएको उनको भनाइ थियो ।
सरकारलाई विपद्को अवस्थामा साथ रहेको बताउँदै उनले उद्धारमा भइरहेको ढिलाइप्रति प्रश्नसमेत उठाइन् ।
उनले भनिन्, ‘अन्तरिक्षमा समेत गएर जीव विज्ञानको खोजी गर्ने आजको युगमा एउटा मामुली सुरुङभित्र फसेका नागरिकहरूको उद्धार गर्ने प्रविधि छैन भन्ने प्रधानमन्त्रीको भनाइ सरासर झुट र लज्जाजनक भएन र ?’
उनले सुरुङमा फसेका नागरिकको उद्धारका लागि उपलब्ध प्रविधि र स्रोतसाधनको प्रभावकारी परिचालन गर्न सरकारसँग माग गरिन् ।
विदेशी विज्ञ र प्राविधिकले नेपाल आएर सहयोग गर्छौँ भन्दा किन ५ दिनसम्म अनुमति नदिएको भन्दै प्रश्न गरिन्।
उनले भनिन्, ‘पहिला अनुमति नदिने, अहिले सकेनौँ भनेर किन हात ठड्याउँदै छ ? जनताको पीडादायी जीवन र फेसबुक प्रचार एउटै होइन। मन्त्री, सांसद गएर स्थानीय निकायका पदाधिकारीहरूलाई थर्काउने, स्टन्ट गर्ने र कन्टेन्ट क्रिएट गर्ने काम भयो।’

प्रतिक्रिया