हाम्रो गाडी लोकल रोडमा हिँडेको होइन, एक्सप्रेस वेमा हिँडेको गाडी हो, गन्तव्यमा पुगेपछि मात्र ब्रेक लाग्छः प्रधानमन्त्री साह


काठमाडौं । प्रधानमन्त्री बालेन साहले रास्वपाको गाडी स्थानीय सडकमा नभई ‘एक्सप्रेस वे’ मा दौडिरहेको भन्दै गन्तव्यमा नपुग्दासम्म पार्टीको अभियान नरोकिने बताएका छन्।

आइतबार चितवनको भरतपुरमा रास्वपाको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले विभिन्न अतिथिहरूले पार्टी र सरकारलाई दिएको सुझाव तथा चिन्ताप्रति धन्यवाद व्यक्त गरे ।

उनले सरकारलाई गाडीसँग तुलना गर्दै भने, ‘सरकार भनेको गाडीजस्तै हो । गाडीमा एक्सिलेटर मात्र होइन, ब्रेक पनि हुन्छ । ब्रेक लगाउनुपर्छ भन्ने चिन्ता स्वाभाविक हो । स्थानीय सडकमा हिँड्दा दायाँ–बायाँबाट धेरै चिन्ता आउँछन्। तर हाम्रो गाडी लोकल रोडमा हिँडेको होइन, एक्सप्रेस वेमा हिँडेको गाडी हो। गन्तव्यमा पुगेपछि मात्र ब्रेक लाग्छ ।’

उनले रास्वपाको यात्रा अनियन्त्रित नभएको स्पष्ट पार्दै पार्टी र सरकारप्रति व्यक्त गरिएका चासो र सुझावलाई सकारात्मक रूपमा लिएको बताए ।

उनले जनमत अस्थिर हुने र हावाको दिशाजस्तै नभएको बताए । उनले भने,‘जनताको भोट हावा जस्तो हुन्छ, कहिले यताबाट त कहिले उताबाट चल्छ भनेर चिन्ता व्यक्त गरिएको छ । तर हामीले कुनै हावा उडाएका छैनौं। हामीले बाढी ल्याएर खोला फर्काएका हौं। त्यसैले त्यो आफ्नै बाटोमा निरन्तर बगिरहन्छ ।’

उनले रास्वपाले स्थापित राजनीतिक प्रवृत्तिलाई परिवर्तन गर्दै नयाँ राजनीतिक धार निर्माण गरेको दाबी गर्दै जनताले दिएको विश्वासलाई सुशासन, विकास र परिणाममार्फत अझ बलियो बनाउने प्रतिबद्धता व्यक्त गरे।

उनले विगतमा भएका फट्याइँबारे खोज्दा आवश्यक परे अख्तियारलाई ५ घण्टा मात्रै नभइ ५ वर्षसम्म नै राखेर सल्लाह गर्ने बताए । उनले भने, ‘निहुँ खोज्दै गर्दा अख्तियारलाई ५ घण्टा सोधपुछ गर्नुपर्छ, सल्लाह लिनुपर्छ भने ५ घण्टा मात्रै होइन ५ वर्ष नै अख्तियारलाई राखेर सल्लाह गरिन्छ । हामी नियम भन्दा बाहिर जाँदैनौं ।’