देशभर निर्वाचनको चटारो


काठमाडौँ । आगामी बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी पूरा भएको छ । निर्वाचन आयोगले मतदान केन्द्रमा मतदान सामग्री पुर्याउने र कर्मचारीहरु पुग्नेक्रम जारी रहेको जनाएको छ ।

यतिबेला मतदानस्थल निर्माणको काम भइरहेको छ भने कतिपय स्थानमा मतदान सामग्रीसहित कर्मचारी पुग्ने क्रम जारी रहेको छ । त्यस्तै सुरक्षाकर्मीहरुले पनि आफ्नो गस्तीलाई बढाएका छन् । त्यस्तै मौन अवधि पनि सुरु भएको छ ।

गएराति १२ बजेदेखि लागू हुनेगरी मौन अवधि सुरु भएको हो । यसअवधिमा निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला गोष्ठीलगायत कार्यक्रम पाइने छैन । त्यसैगरी भारतसँग सीमा जोडिएका नाकासमेत तीन दिनका लागि बन्द गरिएको छ ।