-केशवप्रसाद भट्टराई
१. राजनीतिक सहकार्यले एउटा दीर्घकालीन रणनीतिक दृष्टि माग गर्दछ । सहकार्य सम्बन्धी त्यस्तो दीर्घकालीन रणनीतिक दृष्टि विपी, सुवर्ण , सूर्य प्रसादहरूसँग थियो । विपीको निधनको तीन वर्षमै गणेशमान, कृष्णप्रसाद र गिरिजाप्रसादले विपीको दृष्टि र विचार विपरित राजनीतिक सहकार्यमा पार्टीलाई होमे । त्यसको चार वर्ष पछिको जनआन्दोलनले त्यसलाई संस्थागत बनायो ।
२. २०६२–६३को आन्दोलन र त्यसपछि त काङ्ग्रेस र माओवादी वीच भिन्नता नै देखिन छोड्यो । परिणाम विपीलाई त्याग्ने काङ्ग्रेसले पहिला नै गणेशमान र अन्त्यमा आएर कृष्णप्रसादलाई पनि परित्याग गर्यो ? काङ्ग्रेसका संस्थापकहरूले काङ्ग्रेसलाई परित्याग गर्दा काङ्ग्रेस रमायो । पछि आएर गणतान्त्रिक काङ्ग्रेसले गणतन्त्रका पिता भनिने र मृत्यु शैयामा रहेका गिरिजाप्रसादलाई पनि अपमान काङ्ग्रेसले अपमान गर्न छोडेन । पूर्वप्रधानमन्त्री र आफ्नो पार्टीको सभापति सुशील कोइरालाको निधन कसरी भयो काङ्ग्रेससँग कुनै जानकारी नै छैन ।
३. प्रधानमन्त्री काङ्ग्रेसका, गृहमन्त्री काङ्ग्रेसका, रक्षा र राजदरवार मन्त्री काङ्ग्रेसका हुँदा दरवार हत्याकाण्ड भयो । तत्कालीन शाही नेपाली सेनाका प्रधानसेनापतिले दरवारको सुरक्षाको जिम्मा आफ्नो नभएको बताए । प्रधानमन्त्री, गृहमन्त्री, रक्षा र राजदरवार मन्त्री र तत्कालीन शाही नेपाली सेनाका प्रधान सेनापति र राजदरवार भित्रको र राजपरिवारको सुरक्षाको जिम्मा रहेको दरवारको सुरक्षा अधिकारी कसैले राजपरिवारको हत्या सम्बन्धमा कुनै जिम्मेवारी स्वीकार गरेनन्,
(स्मरणीय छ, सिंहदरवारमा आगलागी हुँदा र आकस्मात आएको हावा हुरीका कारण भागाभाग गर्दा दशरथ रङ्गशालामा भिडले मिचिंदा केही दर्शकको निधन हुँदा तत्कालीन प्रधानमन्त्री र शिक्षा तथा खेलकुद मन्त्रीले राजीनामा दिएका थिए )
तर दरवार हत्याकाण्डमा कसैलाई जिम्मेवार मानिएन, कसैले जिम्मेवारी स्वीकार गरेनन् । जबकी त्यतिखेर राज परिवारको सदस्य भएका कारण विशेष नागरिकको मात्र हैसियतमा रहेका र व्यापार–व्यवसाय र प्रकृति संरक्षणको क्षेत्रमा लागि परेका ज्ञानेन्द्र शाहलाई जिम्मेवार देखाउने कायर प्रयासमा माओवादी र एमालेसँगै काङ्ग्रेस पनि जोडिएको देखियो ।
४. स्कूलमा पढाइरहेका शिक्षक, पुराण भनिरहेका कथावाचक, पत्रकार, सयौं –हजारौँ नागरिक सहित बाँदरमुढे जस्तो नृसंश नरहत्या (बसमा यात्रा गरिरहेका महिला, बालबालिका, वृद्ध–वृद्धा सहितका सर्वसाधारण नागरिकको हत्या) टिकापुर नरहत्या, गौर नरहत्या आदि हत्या काण्डमा प्रत्यक्ष जिम्मेवारहरूलाई जिम्मेवार नबनाउने मुलुकले दरवारमा प्रवेश गर्दा पनि जटील र सघन सुरक्षा प्रणाली पार गरेर जानुपर्ने र दरवार हत्याकाण्ड हुँदा पोखरामा रहेका तत्कालीन अधिराजकुमार ज्ञानेन्द्रलाई सुनियोजित रुपमा दोषी देखाउने माओवादी र एमालेको षड्यन्त्रमा काङ्ग्रेसपनि उचालिएर लाग्यो ।
५. आफ्ना नेताहरू मदन भण्डारी र जीवराज आश्रितको अविश्वसनीय निधनलाई एमालेले षड्यन्त्रपूर्ण हत्या भनिरह्यो, तर भण्डारी र आश्रितको निधन पछि मुलुकमा छ पटक मुलुक एमालेकै नेतृत्वको सरकार बन्यो । २०६२–६३ अघि पनि एमाले बारम्बार सरकारमा थियो र ६२–६३ पछि त एमाले बेगरको सरकार मुलुकमा झन्डै छैन । मदन भण्डारीकी श्रीमती पार्टीको नेतृत्व मण्डलमा शक्तिशाली हैसियतमा हुनुहुन्थ्यो, सरकारमा हुनुहुन्थ्यो र दुई कार्यकाल राष्ट्रपति हुनुभयो । तर उहाँहरूले हत्या भन्ने गरेको उक्त रहस्यपूर्ण दुर्घटनाको सरकारको तर्फबाट छानबिन गराइएन ।
त्यतिमात्र होइन, उक्त दुर्घटनाका जीवित साक्षी अमर लामा दुर्घटना पछि पनि धेरै वर्ष सार्वजनिक जीवनमा रहे – सरकारको तर्फबाट उनीसँग सोधी–खोजी गरिएन । धेरै पछि कीर्तिपुरमा मध्य दिनमा सयौँ व्यक्तिहरूको उपस्थितिमा नेमकिपाले कर्ण ह्योजुलाई मारेकै जस्तो शैलीमा भण्डारी र आश्रितको दुर्घटनाका जीवित र एकमात्र साक्षी अमर लामालाई मारियो । अमर लामाको हत्याको छानबिन भयो ? जिम्मेवार को को हुन् पत्ता लगाउने प्रयास भयो ? यति लामो प्रजातान्त्रिक अभ्यास पछि पनि झापा हत्याकाण्डको संस्कार र स्कूलिङ्बाट एमाले सम्भवत मुक्त हुन सकेको छैन त्यस अवस्थामा माओवादी ?
६. प्रचण्डले त जिम्मेवार राजनीति गर्न जान्नु भएकै छैन, उहाँको स्कूलिङ र उहाँले ग्रहण गरेको विचार र संस्कारले त्यो गर्न दिंदैन , त्यसैले उहाँको कुरा नगरौँ । तर ती सवै बारे मौन रहने प्रधानमन्त्री केपी ओली अझै राजा ज्ञानेन्द्रलाई दोषी देखाएर आफ्नो राजनीतिक जीवनलाई सुरक्षित गर्न भरमग्दुर गर्दै हुनुहुन्छ । तीन कुने घटनाको निष्पक्ष न्यायिक जाँच गराउने राजनीतिक र नैतिक साहस नभएका प्रधानमन्त्री त्यही घटनाको नाउमा आफ्नो राजनीतिक र सत्ता स्वार्थको आयु लम्ब्याउने भगिरथ प्रयत्न गरिरहनु भएको छ । र नागरिक राज्य नभएर राणा र राजा हुँदै दलहरूको विर्ता बनेको अर्थात् दलीय राज्यको स्वरूप ग्रहण गरेको देशमा यी सवै स्वाभाविक लाग्छन् !
७. अनि काङ्ग्रेस यी सवै घटनाको समर्थक र साक्षी बनेर रहेको छ । वर्षौँदेखि कहिले माओवादीको र कहिले एमालेको भात्री सँस्थाको रुपमा नेपाली राजनीतिमा काङ्ग्रेस छ । काङ्ग्रेस विचार, लक्ष,पहिचान र परिचयविहीन सत्ता साझेदार स्वार्थ समूह मात्रै भएर रहेको छ ।
८. तर हाल कहिले माओवादीको र कहिले एमालेको भातृ संस्थाको रुपमा रहेको काङ्ग्रेससँग विमति राख्ने त्यसका पारम्परिक मतदाता ठूलो राजनीतिक र भावनात्मक पीडामा छन् । तर प्रजातन्त्र, उदार अर्थतन्त्र सहित व्यक्तिगत स्वतन्त्रताका मूल्यहरूप्रति प्रतिवद्ध वैकल्पिक राजनीतिक दलको अनुपस्थिति अझ ठूलो पीडाको विषय बनेको छ ।
९. ती परम्परागतरूपमा काङ्ग्रेसका मतदाता हुन् तर माओवादीको र कहिले एमालेको भात्री संस्थाको रुपमा रहेको काङ्ग्रेससँग निकट रहन चाहन्नन् । सम्भवत ती काङ्ग्रेसका परम्परागत मतदाताहरू पछिको पुस्तामाझ काङ्ग्रेस कसरी बाँच्ला भविष्यले नै बताउला ।
१०. काङ्ग्रेस र एमाले त अझै वैचारिक रूपमा प्रष्ट र स्थिर अनि समयको माग र हाँक बमोजिमको नीति र नेतृत्व सहितको नीति र राजनीतिक दलको रूपमा उभिन नसकिरहेको पृष्ठभूमिमा राप्रपा, रास्वपा आदि इत्यादि दलहरूको कुरै भएन । तर विचारणीय विषय के पनि हो भने , राप्रपा, रास्वपा,तमलोपा जस्ता दलहरू मुलुकको प्रजातान्त्रिक विकास र स्थिरताका लागि महत्वपूर्ण राजनीतिक शक्ति बन्न सक्दछन् र उनीहरूसँग निरन्तर संवाद र सहकार्य गरेर मुलुकमा प्रजातान्त्रिक शक्तिलाई सवल बनाउने दायित्व काङ्ग्रेसको थियो र छ । साथै, प्रजातान्त्रिक शक्तिहरूसँग दूरी निर्माण गरेर विपरित आस्थाका कम्युनिस्ट पार्टीहरूसँग सहकार्य मात्रै नभएर चुनावी तालमेल समेत गरेर काङ्ग्रेसले प्रजातन्त्र माथि एक किसिमले विश्वासघात नै गरेको छ । राप्रपा, रास्वपा,तमलोपा जस्ता दलहरू काङ्ग्रेसको प्रतिद्वन्द्वी होइनन् –सहयोगी प्रजातान्त्रिक दल हुन् र तिनलाई सवल बनाएर आफू सवल हुने र प्रजातन्त्रलाई सवल बनाउने भूमिका मा काङ्ग्रेस रहनु पर्दछ भन्ने लाग्दछ ।
स्मरणीय छ, गणतन्त्र, राजसंस्था, सङ्घीयता धर्म सापेक्षता वा निरपेक्षता कुनै वैचारिक र दार्शनिक सवाल होइनन् तर काङ्ग्रेस त्यसैलाई विचार र दर्शन मानेर उफ्रिरहेको छ । अनि विपरित आस्था र विश्वासका राजनीतिक दलहरूको भरिया बनेर राजनीति धानिरहेको छ । कठै काङ्ग्रेस ! विचरा नेपाली मतदाता !

प्रतिक्रिया