काठमाडौँ । जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते सिंहदरबार तथा सर्वोच्च अदालतसहित विभिन्न सार्वजनिक संस्थाहरूमा आक्रमण गरेको अभियोगमा ४६ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ ।
मंगलबार जिल्ला सरकारी वकिलको कार्यालयले मंगलबार ३६ जनाविरुद्ध आपराधिक उपद्रव र १० जनाविरुद्ध निजी सम्पत्तिमाथि आक्रमण र तोडफोडको अभियोगमा मुद्दा दर्ता गरेको हो । जिल्ला अदालत काठमाडौँका स्रेस्तेदार तीर्थराज भट्टराईले घटनामा संलग्न भएको अभियोग लागेकाहरूविरुद्ध मुख्यतः आपराधिक उपद्रवसम्बन्धी र एकाध डाकासम्बन्धी कसुर तथा हातहतियार खरखजाना मुद्दाहरू दर्ता भएका जानकारी दिए ।
जेनजी आन्दोलनका क्रममा प्रहरीले चलाएको गोली लागी भदौ २३ गते १९ जना विद्यार्थीको मृत्यु भएपछि २४ गते तोडफोड र आगजनी भएका थिए । त्यसक्रममा सिंहदरबार, सर्वोच्च अदालत, व्यवस्थापिका संसद् र राष्ट्रपतिको कार्यालय लगायत विभिन्न सार्वजनिक संस्थालगायत देशैभरिका प्रहरी कार्यालयहरूमा समेत तोडफोड र आगजनीका घटनाहरू भएका थिए।
सर्वोच्च अदालतलगायत तोडफोड भएका कतिपय संस्थाहरूले घटनामा संलग्नमाथि अनुसन्धान गरी कारबाहीको माग गर्दै प्रहरीमा जाहेरी दिएका थिए ।
जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते देशभरि गरिएको तोडफोड, आगजनी तथा लुटपाटका घटनाबारे सर्वोच्च अदालतलेसमेत प्रहरीमा जाहेरी दिएको थियो । घटनाको छानबिनका लागि पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वमा उच्चस्तरीय जाँचबुझ आयोग गठन भएको थियो । असोज पहिलो साता गठन भएको उक्त आयोगको पटकपटक थपिँदै आएको म्याद फागुन २२ गते सकिँदै छ।

प्रतिक्रिया