पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमताका साथ संचालनमा ल्याउँछौंः प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमताका साथ अन्तर्राष्ट्रिय उडानको प्रयोगमा ल्याइने बताएका छन् ।
शनिबार सामाजिक संजालमार्फत प्रधानमन्त्रीले दुई विमानस्थल सञ्चालनमा ल्याउँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप पनि घट्ने भएकाले अब त्यसमा काम गर्ने बताएका हुन् ।
उनले भनेका छन्, ‘थाइ एयर एसियाले हिजोदेखि साताको चार दिन भैरहवा– थाइल्यान्ड उडान अनुमति पाएको छ। पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमताका साथ अन्तर्राष्ट्रिय उडानको प्रयोगमा ल्याउन हामी लागिरहेका छौं। हिजो हामीले यस सम्बन्धी कार्यदल गठन गरेर यसै साता बस्ने मन्त्रिपरिषद्को बैठकमा एयरपोर्ट सञ्चालन सम्बन्धी योजना पेश गर्ने जिम्मेवारी तोकेका छौं। यी दुई विमानस्थल सञ्चालनमा ल्याउँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप पनि घट्ने छ। विमानस्थल सञ्चालन सम्बन्धी सुझाव दिन विज्ञहरुलाई समेत अनुरोध गर्छु ।’