कांग्रेसका लामाले गरे बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश
बागमती । बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका बहादुर सिंह लामाले दाबी पेश गरेका छन् । लामाले मंगलबार कांग्रेसका ३७ र एमालेका २७ गरी ६४ सांसदको समर्थनसहित प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष मुख्यमन्त्रीका लागि दाबी पेश गरेका हुन् ।
प्रदेश प्रमुख शर्माले आज साँझ ५ बजेभित्र संविधानको धारा १६८ (२) अनुसार बहुमतको सरकार गठनका लागि आइतबार आह्वान गरेका थिए । प्रदेश प्रमुख शर्माले आजै लामालाई मुख्यमन्त्रीमा नियुक्त गर्ने तयारी गरेका छन् । बागमतीमा मन्त्रालय भागबण्डामा कांग्रेस–एमालेबीच सहमति भइसकेको छ ।
कांग्रेसले मुख्यमन्त्रीसहित ७ र एमालेले भौतिक पूर्वाधार मन्त्रालयसहित ६ वटा मन्त्रालय लिने सहमति भएको छ । ११० सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि ५६ सांसदको समर्थन आवश्यक पर्छ ।