एमाले अध्यक्ष ओली आज प्रधानमन्त्री नियुक्त हुँदै
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज प्रधानमन्त्रीमा नियुक्त हुँदै छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाबाट विश्वासको मत पाउन नसकेपछि राष्ट्रपति रामचन्द्र पौडेलले आज साँझ ५ बजेसम्मको समय दिएर प्रधानमन्त्रीमा दावी गर्न आह्वान गरेका थिए ।
त्यसमा कांग्रेसको समर्थनमा ओलीले दावी प्रस्तुत गरेका हुन् । यससँगै राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्ने तयारी गरेका हुन् । राष्ट्रपतिले नेपालको संविधानको धारा ७६ को उपाधारा २ अनुसार प्रधानमन्त्रीमा दावी गर्न आह्वान गरेका हुन् ।
पौडेलले प्रधानमन्त्रीमा दावी गर्न आह्वान गरेपछि शुक्रबार राति नै कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओली राष्ट्रपति भवन शीतलनिवास पुगेर सरकार बनाउने दावी पेस गरेका थिए ।
ओलीलाई आज प्रधानमन्त्रीमा नियुक्त गरिए पनि शपथ भने सोमबार हुने जनाइएको छ । त्यसक्रममा उनले केही मन्त्रीहरूलाई पनि शपथ गराउने तयारी थालेका छन् ।