ढुक्क हुनुस् अब सरकार ७६ (२) कै बन्छः शेखर कोइराला
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले दुईटा ठूला दल कांग्रेस र एमाले मिलेर आलोपालो सरकारमा जाने निर्णयले मुलुकको अर्थतन्त्र बलियो हुने बताएका छन् ।
मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा कोइरालाले अब अर्थतन्त्रलाई अगाडि बढाउने हिसावले दुई दल कांग्रेस र एमाले मिलेको बताएका हुन् ।
उनले प्रधानमन्त्री प्रचण्डले संविधानअनुरुप विश्वासको मत लिन लागेकाले अरुले हतार गर्न आवश्यक नरहेको बताए । उनले अबको सरकार ७६ (२) कै बन्नेमा विश्वस्त रहन आग्रह गरे ।
उनले भने, ‘शेखर त ७६ (३) कै सरकार खोजिराखेको छ भन्ने हल्ला सुनें । तर मैंले पहिले नै भनिसकेको छु हामीलाई स्थिर सरकार चाहिएको हो । अब सरकार ७६ (२) कै बन्छ । २८ गते विश्वासको मत प्रधानमन्त्रीले लिन्छु भन्नु भएको छ, विश्वासको मत लिने अधिकार संविधानले नै दिएको छ । राजीनामा गर्नुपर्छ या त विश्वासको मत छिटो ल्याउनुपर्छ भनेर केही हुनेवाला छैन यो सबै अधिकार संविधानले दिएको हुनाले यसमा हतार गर्नु उचित हुँदैन ।’