जनताले दिएको विश्वासको भारी बोक्ने क्षमता नै आर्जन गर्न सकेन एमालेले



केशवप्रसाद भट्टराई ।
१. चुनाव आयो भन्छन् तर जुन दललाई भोट दिने गरिएको थियो–उसले मैले मतदान गर्ने गरेको क्षेत्रमा उम्मेदवार उठाउन नै छोडेको छ । आउने मंसिरको चुनावमा मुलुकको आधा निर्वाचन क्षेत्रमा ऊ उम्मेदवार खडागर्न सक्ने हैसियतमा नै छैन । सवै राजनीतिक र नैतिक मूल्य र विश्वासहरूलाई तिलान्जली दिएर सरकारमा पुगेर पनि उक्त दल आफ्ना कार्य र उपलव्धिको बलमा भन्दा सत्ता गठबन्धनका दलहरू समक्ष आत्मसमर्पण गरेर आफ्नो राजनीतिक भविष्य जोहो गर्दै छ । त्यहाँ भित्रको अन्तरविरोध पनि कुनै मूल्य र मान्यताको लागि होइन, आफ्नै निजी महत्वाकांक्षाको लागि हो !
२. प्रमुख प्रतिपक्ष छ ।
शक्तिशाली छ !
शक्तिशाली भएकैले ऊ बहुपक्षीय राजनीतिक षड्यन्त्रको सिकार भएकै हो । संसद विघटनको सवाल राजनीतिकरूपमा गलत थिएन, नैतिक रूपमा पनि गलत थिएन । तर ऊ समेतले सर्वोत्तम मानेको संविधानले संसदको नेताको रूपमा, राष्ट्रको नेताको रूपमा प्रधानमन्त्रीलाई त्यो अधिकार नदिएर संविधानमा अनेकौँ जाली र किर्ते प्रवन्धहरू जोडेर प्रधानमन्त्रीको हात गोडा बाँधेको त हो नी । संविधानमा ती जाली र किर्ते प्रवन्धहरू जोड्ने कार्यको नेतृत्व त्यही दलको संविधान सभाका अध्यक्षले गरेका थिए । अदालतमा मुद्दा चल्दा–त्यस सम्बन्धी लामोसमय सम्म चलखेल हुँदा उसले रोजेर भर्ती गरेका त्यहाँका सम्मानित जागिरेहरूको भूमिका सही र जिम्मेवार थियो ? त्यसको दायित्व धेरथोर उसको हुन्छ हुँदैन ? लौ त्यो दलले फेरी बहुमत ल्यायो रे । सरकार पनि बनायो रे क्ष्
तर जव उसले चुनावमा राम्रो गर्छ –दल फुटिहाल्छ । आफ्नो पार्टीको प्रधानमन्त्री विरूद्ध संसदमा, राष्ट्रपति कार्यालयमा र अदालतमा हूल बाँधेर, लाम लागेर मुद्दा हाल्न जानेहरूले भोलि त्यो दलमा कस्तो भूमिका खेल्लान् ।
फेरि अर्को २०५४, २०७८ ?
हुनत काङ्ग्रेसको इतिहास पनि त्यस्तै त्यस्तै हो तर बहुमत र ठूलो दलको हैसियत दुर्भाग्य बन्ने गरेको छ एमालेलाई । जनताले दिएको विश्वासको भारी बोक्ने क्षमता नै आर्जन गर्न सकेन उसले । हो , उसको नेतृत्वमा सरकार सरकार जसरी चलेको थियो, सरकारको केन्द्र थियो । काम नभएका पनि होइनन् । तर कतिपय सवालमा उसको भूमिका राम्रो भए पनि केही महत्वपूर्ण सवालमा उसको दोहोरो भूमिकाले उसलाई जिम्मेवार राजनीतिक दलको छवि प्रदान गरिरहेको छैन । अझ अत्यन्त संवेदनशील सवाल त परराष्ट्र नीति हो । नेपालको सुरक्षा, स्थीरता र समृद्धि अत्यन्त स्वस्थ्य, संयमित र सन्तुलित परराष्ट्र नीति हो । तर मुलुकको परराष्ट्र नीतिलाई उसले खेलाँचीपूर्ण तरिकाले,हचुवा र भावनात्मक कुरा उरालेर संचालन गर्यो । नेपालको हकमा त्यो राष्ट्र हितमा हुँदैन । परराष्ट्र नीतिलाई चुनावमा भोट बटुल्ने साधनको रूपमा उपयोग गर्ने गलत अभ्यास उसले हिजो पनि गर्यो र आज पनि गरिरहेको छ ।
३. राष्ट्रिय प्रजातन्त्र पार्टी छ !
मूल नेतृत्व निसन्देह बेदाग छ । उसका मूल नीति ठिक–बेठिक आफ्ना ठाउँमा छन् । तर मुलुकको अत्यन्त अवसरवादी दल मध्ये एक हो त्यो दल । जीवनभरी पञ्च भएर खाए, सत्ता र शक्तिको उपयोग –दुरुपयोग गर्नुसम्म गरे, तर जनमत सङ्ग्रहमा विजयी पंचायतलाई राजाले विघटन गर्दा एउटा पन्च अगाडि आएर पंचायतको पक्षमा बोलेन । तर २०४६ सालको आन्दोलनको क्रममा र त्यसपछि पंचहरूले पंचायतको पक्षमा उभिनेसम्म हिम्मत नगर्नु भनेको पन्च र पन्चायतको नैतिक र राजनीतिक शक्तिको धरातल कति क्षीण र कमजोर रहेछ भन्ने कुरालाई सावित गर्दछ । वहुदलीय व्यवस्थाको स्थापना उपयुक्त निर्णय थियो, प्रजातान्त्रिक निर्णय थियो, जनमत र जन आवाजको सम्मान थियो तर बहुदलीय व्यवस्था स्थापना लगत्तै उनीहरूले एउटा पार्टी खोल्ने हिम्मत गरेनन् । जव गरे, एउटै नाउका दुई दल बनाएर आए । ल त्यहाँ , त्यो समयमा त जे भयो भयो । जीवनभरी राजाको नाउमा राजनीतिक जागिर खाए गणतन्त्रको घोषणा पछि लगत्तै त्यसको स्वागत गर्ने तिनै भए , तुरून्तै गणतन्त्रवादी भैदिए । धेरै काङ्ग्रेसीहरू भन्दा धेरै सजिलै , सहजताका साथ उनीहरू गणतन्त्रवादी बन्न पुगे । ती आज फेरि राजावादी रे ! एक जना छन्–पार्टीको अध्यक्षको चुनावमा जितेको भए राजावादी नै रहन्थे –हारे गणतन्त्रवादी भए । यो चरित्र हो त्यो दलको । उनी अहिले त्यो दलमा छैनन् तर उनको चरित्र त्यहाँ अनुपस्थित छैन भन्ने कुरा सावित हुन बाँकी नै छ ।
४. नेपाली काङ्ग्रेस बीपी छ । आफ्नो विचार, मूल्य र विश्वासमा इमान्दार देखिन्छ । तर जो त्यहाँ छन् ती सैद्धान्तिक आधारमा मूल काङ्ग्रेससँग विमति राखेर त्यहाँ गएका हुन् ? त्यो कारणले नयाँ पार्टी बनाएका हुन् ? वा मूल काङ्ग्रेसमा आफ्ना लागि अवशर नपाएर त्यहाँ बसेका र त्यहाँ गएका हुन् ? पार्टी भन्दा ठूलो उसको विश्वसनीयता निर्माण हो ।

५. वैकल्पिक दलको रूपमा आएको विवेकशील साझा थियो÷ छ । योग्य र सक्षम नेतृत्व थियो , नेतृत्व मण्डल नै आशा र विश्वास जगाउने खालको थियो । प्रचूर सम्भावना देखाएको थियो । तर योग्य र सक्षम वौद्धिकहरूको समूहले मात्रै पार्टी बनाउँदो रहेनछ । पार्टी निर्माण एउटा राजनीतिक, प्राविधिक र कानुनी अभ्यास मात्रै होइन रहेछ । नेपालका स्थापित दलका ठूला नेताहरूसँगसँगै संघर्ष गरेका, जेलनेल र निर्वाशन भोगेका हजारौँ अझै जीवित छन् । त्यसको पीडा भोगेका त्यसका परिवारका सदस्यहरू, नातागोता , कुटुम्ब र गाउँ घर र समाजका दाजुभाइहरू छन् । उनीहरू वीचको भावनात्मक एकता र लगाव ती पार्टीहरूसँग जोडिएका छन् । ती पार्टी मात्र नभएर परिवार हुन्, समाज हुन् । तिनले ती पार्टीलाई सुरक्षा कवच प्रदान गरेका छन् । आज ती दलले गरेका गल्ती ठूला होलान्, अक्षम्य पनि होलान् रे तर त्यो गल्ती तिनको ठूलो परिवारले –समाजले बुझेको– देखेको छैन । उनीहरूले पहिले देखि जानेको–बुझेको पत्याएको मानिसले आएर नभनुञ्जेल कुनै मिडिया र सामाजिक संजालमा चलाइएको अभियानले त्यो. सुरक्षा कवच भेदन गर्न सक्दैन । विवेकशील साझाको चुनौती त्यही थियो । त्यसका नेताहरूसँग योग्यता र क्षमताको कुनै कमी थिएन , कमी थियो इतिहासको । अर्को कुरा, त्यहाँ भित्रको विवादले बतायो –त्यो पार्टी बन्न नै बाँकी छ । आफ्ना लागि मूल्य र मान्यता निरोपण गरिसकेकै छैन । अहिले पनि यौटा भरोसालाग्दो, योग्य र सक्षम महिलाले नेतृत्व सम्हालेकी छन् तर पहिला पार्टी बन्नु पर्यो नी । पार्टी बन्ने प्रक्रिया प्राविधिक होइन, वैधानिक प्रवन्ध मात्रै होइन, पार्टीलाई वैधता कानुन र निर्वाचन आयोगले दिने होइन, कानुन र निर्वाचन आयोगले त प्रमाण पत्र मात्रै दिने हुन् । वैकल्पिक भनेर आउने अरूका हकमा पनि कुरा त्यही हो । स्वतन्त्रहरू प्रजातन्त्रका परिचय हुन्, गहना हुन् । शक्ति पनि हुन् । तर मुलुकसामू विध्यमान समस्या र चुनौतीका सवल सँस्थागत उत्तर र समाधान होइनन् !

६. अन्यहरू शक्तिमा होलान् , सत्तामा होलान् तर …… भो !
७. जति लामो डोरी बाटे पनि गाँठो एउटै । भोट कहाँ हाल्ने ?
मुलुकको प्रजातान्त्रिक आन्दोलनमा लाग्दा, मुलुक र जनताको लागि बहुदलीय प्रजातन्त्र माग्दा आफूले रोजेको दललाई भोट हाल्न सम्म नपाउने अवस्था आउन सक्छ भन्ने कुरा सोचेका थिए होलान् , कसैले ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
टोपबहादुर रायमाझीलाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका निलम्बित सांसद टोपबहादुर

पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला

काठमाडौं । कांग्रेस नेता तथा पूर्वमन्त्री मोहमद आफताब आलम र उनका भाई मोहमद

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासकाे मत

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । बिहीबार

तत्काल कानून बनाएर सहकारी र तिनका कारण बचतकर्ताले बेहोर्नुपरेको समस्या समाधानको प्रक्रिया सुरू गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले सहकारी र तिनका कारण बचतकर्तामा परेका समस्याको समाधान गर्न प्रक्रिया