तीन दशकको सहयात्रा साहित्यमा रूपान्तरण : ‘जोडीका कविता’ माथि पोखरामा गहन परिचर्चा


पोखरा । तीन दशक लामो वैवाहिक सहयात्राका अनुभूति, प्रेम, संघर्ष र आत्मीयतालाई साहित्यिक स्वरूप दिँदै स्रष्टा दम्पती तारक धिताल र दिना सुवेदीद्वारा संयुक्त रूपमा लिखित कविता संग्रह ’जोडीका कविता’ माथि पोखरामा विशेष परिचर्चा कार्यक्रम सम्पन्न भएको छ ।

’जीवन सहयात्राको तीन दशक’ भन्ने भावनात्मक सन्दर्भलाई केन्द्रमा राखेर आयोजित उक्त कार्यक्रममा साहित्य, दाम्पत्य जीवन, सामाजिक विश्वास र समकालीन समाजका विविध विषयमा गम्भीर विमर्श गरिएको थियो ।

स्रष्टा समाज पुम्दि–भुम्दिको आयोजनामा सम्पन्न कार्यक्रमको अध्यक्षता समाजका अध्यक्ष गोविन्द प्रसाद बराल ले गरेका थिए । कार्यक्रममा प्रमुख आमन्त्रितका रूपमा गण्डकी प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सूर्य खड्का ‘बिखर्ची’ उपस्थित थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष गोविन्द प्रसाद बरालले ’जोडीका कविता’ केवल साहित्यिक कृति मात्र नभई जीवन सहयात्राको विश्वास, त्याग, समर्पण र पारिवारिक मूल्यको दस्तावेज भएको बताए । उनले आजको समाजमा सम्बन्धहरू क्रमशः कमजोर बन्दै गइरहेका बेला यस्तो कृतिले दाम्पत्य सम्बन्धमा आपसी विश्वास र सहकार्यको सकारात्मक सन्देश प्रवाह गर्ने उल्लेख गरे । साहित्यले समाजलाई जोड्ने र मानवीय संवेदनालाई जीवित राख्ने काम गर्ने उनको धारणा थियो ।

प्रमुख आमन्त्रित सूर्य खड्का ‘बिखर्ची’ले संयुक्त सिर्जनाको यो प्रयास नेपाली साहित्यमा अर्थपूर्ण र प्रेरणादायी रहेको बताए । उनले दम्पतीले एउटै कृतिमार्फत जीवनका अनुभूति र संवेदनालाई साझा रूपमा अभिव्यक्त गर्नु आफैंमा दुर्लभ र सिर्जनात्मक उदाहरण भएको उल्लेख गरे । साहित्यले समाजका विकृति, विसंगति र विघटनका बीच मानवीय सम्बन्धलाई जीवन्त बनाइराख्ने काम गर्ने भन्दै उनले यस्ता सिर्जनाले समाजमा सकारात्मक ऊर्जा प्रवाह गर्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा लेखनाथ साहित्य प्रतिष्ठानसँग आबद्ध छन्द कवि ऋषिकेष बरालले कृतिमाथि समीक्षात्मक धारणा राख्दै पुस्तकले प्रेम, आत्मीयता, संघर्ष र सामाजिक यथार्थलाई संवेदनशील ढंगले प्रस्तुत गरेको बताए ।

कार्यक्रमका संयोजक तथा स्रष्टा समाज पुम्दि–भुम्दिका उपाध्यक्ष एवं वरिष्ठ संगीतकार नवराज बरालले साहित्य समाज रूपान्तरणको चेतनशील माध्यम भएको उल्लेख गर्दै ’जोडीका कविता’ले पारिवारिक सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरे ।

कार्यक्रममा पोखराका साहित्यप्रेमी, कवि, लेखक तथा बुद्धिजीवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । एक दर्जनभन्दा बढी स्रष्टाहरूले कविता तथा मुक्तक वाचन गर्दै समकालीन राजनीतिक, सामाजिक, आर्थिक तथा सांस्कृतिक विषयमा आफ्ना गहकिला धारणा व्यक्त गरेका थिए ।

वक्ताहरूले वर्तमान समयमा बढ्दो सामाजिक विखण्डन र सम्बन्धमा देखिएको दूरीका बीच ’जोडीका कविता’ जस्तो कृतिले प्रेम, सहअस्तित्व, विश्वास र पारिवारिक एकताको सन्देश फैलाउने विश्वास व्यक्त गरेका थिए ।