अमरत्व सम्भव छ ?



समुद्र र नदीमा पाइने ’हाइड्रा’ रोमाञ्चक र हेर्दै अनौठो लाग्ने जीव हो । प्राचीन ग्रीक मिथकमा नयाँ टाउको उमार्न सक्ने सर्पको नाम पैँचो लिएर यसको नामकरण गरिएको हो । यसको जेलीफिश, चम्किलो र फूलजस्तो देखिने अनि ढुङ्गामा पाइने समुद्री जीव एनिमोन र मुगा अर्थात् कोरलसँग नजिकको नाता छ । सिंहपर्णी (ड्यान्डेलिअन) फूलको बीजजस्तो सानो र लामो शरीर अनि एकातर्फ कैयौँ टेन्टकल भएको उक्त जीवमा हेर्नुपर्ने अरू धेरै कुरा छैनन् । तर जीवविज्ञानमा यसको एउटा विशिष्ट विशेषता छ किनभने यो पुनः जीवित हुन सक्छ । यदि तपाईँले एउटा हाइड्रालाई धेरै वटा टुक्रामा काटिदिनुभयो भने प्रत्येक टुक्रा एउटा अलग्गै जीवको रूपमा फेरि हुर्कन्छ । यही विशेषताका कारण प्रकृतिमा अमरत्वको प्रमाणको खोजी गरिरहेका वैज्ञानिकहरूमाझ उक्त जीवलाई लिएर कौतूहल पाइन्छ। यी जीवहरू प्राकृतिक कारणले किन मर्दैनन् ? अनि के मृत्यु अवश्यम्भावी छ ?

के जीवन र मृत्यु लेनदेन हो ?
बीसौँ शताब्दीको मध्यतिर उमेर ढल्किनुलाई प्रजनन र कोष व्यवस्थापनबीचको लेनदेनका रूपमा व्याख्या गरिएको थियो । प्रारम्भिक अवस्थामा हाम्रो शरीरले आफूलाई हुर्काउन र स्वस्थ राख्न आफ्ना कोष प्रयोग गर्छ । बाल्यकालदेखि किशोरावस्थासम्म सकेसम्म बलियो र स्वस्थ रहन जोड रहन्छ। परिपक्व यौन क्षमता विकास भएपछि प्राथमिकता प्रजननमा हुन्छ । किनभने अधिकांश जीवहरूको स्रोत सीमित हुन्छ र सन्तान उत्पादनलाई प्राथमिकता दिने कुरा आफू स्वस्थ रहने कुराभन्दा माथि पनि रहन सक्छ । उदाहरणका लागि सामन माछालाई हेर्नुहोस्। अण्डा पार्न तटको माथिल्लो भागतिर पौडिने उक्त माछा त्यसलगत्तै मर्छ।

अण्डा पार्ने ठाउँसम्म ऊ सहजै पुग्छ र त्यहाँ हुँदा उसले उक्त अवसरलाई यथोचित प्रयोग गर्छ । तर सामन माछा तलको किनारातर्फ फर्किने र समुद्रमा फेरि अर्को वर्ष जीवित रहने अनि सन्तान जन्माउन त्यही किसिमको यात्रा सफलतापूर्वक गर्ने सम्भावना ज्यादै न्यून हुन्छ । प्राकृतिक छनोटले पनि तिनलाई यस्तो अवसर कहिल्यै दिँदैन। तर जे भए पनि उनीहरूले आफ्नो अनुवंश एकचोटि सफलतापूर्वक हस्तान्तरण गर्छन् । तर हामी किन मर्छौँ भन्ने अहिलेको हाम्रो बुझाइ अझ विशिष्ट छ । परिपक्व यौन क्षमता विकास गरेपछि कुनै पनि जीवको प्राकृतिक छनोटको शक्ति कमजोर हुन्छ र बुढ्यौलीको प्रक्रिया आरम्भ हुन्छ। त्यसले अन्ततः मृत्युसम्म पुर्याउँछ । तर त्यो ‘परोपकारी जस्तो देखिने कोण’ भावी पुस्ताका लागि बाटो खोलिदिन भने नभएको यूनिभर्सिटी अफ इस्ट एङ्लिया यूकेका क्रमविकास विज्ञान तथा बायोजेरन्टोलजीका प्राध्यापक एलेक्सेइ माक्लाकोभ बताउँछन् ।
प्राकृतिक छनोट र मृत्यु
हामी जीवित भएको समयमा हाम्रा जीनहरूमा म्यूटेशन अर्थात् उत्परिवर्तनहरू हुन्छन् । कतिपय आफैँ हुन्छन् र अरू कतिपय हाम्रो भोजन वा अरू बाह्य कारणले (जस्तै पराबैजनी किरणका कारणले) पनि हुन्छन् । धेरैले केही प्रभाव पार्दैनन् वा ती घातक हुँदैनन् तर थोरै मात्रै उपयोगी हुन्छन् । यौनका लागि परिपक्व हुने उमेरअघि कुनै पनि आनुवंशिक उत्परिवर्तन जसले जीवको प्रजननको सम्भावना कमजोर बनाउँछ वा सो जीवलाई प्रजननअघि नै ज्यान लिन सक्छ त्यसलाई बलियो रूपमा शरीरले अस्वीकार गरिदिने यूनिभर्सिटी अफ अक्सफर्डकी क्रमविकास जीववैज्ञानिक गाब्रिएला कोउन्टोरिड्स बताउँछिन्। कुनै पनि जीव यौनिक रूपमा परिपक्व भइसकेपछि उसले आफ्नो वंशाणु अर्को पुस्तामा हस्तान्तरण गर्न सक्छ। त्यसपछि प्राकृतिक छनोटको शक्ति कमजोर हुन्छ । फेरि अण्डा पारिरहेको सामन माछातिरै फर्कौँ। वयस्क हुँदासम्म उसले सबै राम्रो गरिरहेको हुन्छ र प्रजनन पनि अघि बढाएको हुन्छ। उसका सन्ततिले पनि त्यसरी नै सन्तान जन्माउने प्रबल सम्भावना हुन्छ ।

तर यदि अण्डा पारिसकेपछि भएको आनुवंशिक उत्परिवर्तनका कारण सामन माछाको आयु बढ्यो र ऊ अर्को वर्ष पनि बाँच्यो भने (जसको सम्भावना एकदमै कम छ) उसका सन्ततिलाई आफ्ना माउका अरू सन्तानभन्दा बढी कुनै विशेष लाभ हुँदैन । सामन माछाको एउटा पुस्ता कुनै उत्परिवर्तनबिना त्यहाँ त्यत्तिकै रहन्छ । प्राकृतिक छनोटको दृष्टिकोणबाट हेर्दा प्रजननपछि पनि स्वस्थ बन्ने प्रयास जारी राख्दा त्यसका केही फाइदा छन् । परिणामस्वरूप कुनै अनुवंश छनोटको दबावमा नपर्न सक्छन्।

तर सबै जीवहरू सामन माछाजत्तिकै अप्ठ्यारा खालका पनि छैनन् । कतिपय अझ धेरै सन्तान जन्माउनलाई केही लामो समय बाँच्छन् । हाम्रो डीएनएमा हुने अधिकांश उत्परिवर्तनको नकारात्मक वा कुनै प्रभाव नै पर्दैन । हाम्रो शरीरले केही डीएनए क्षतिलाई मर्मत गर्न सक्छ तर उमेरअनुसार प्राकृतिक छनोटले त्यसको लागि चाहिने सामर्थ्य घटाइदिन्छ । तर बुढ्यौली र मृत्यु दुई तरिकाले हुन्छन्। एउटा कमजोर छनोट प्रणालीका कारण हुने नकारात्मक उत्परिवर्तन र अर्को प्रजननका लागि लाभदायी हुन सक्ने उत्परिवर्तन जुन दीर्घजीवनका लागि नकारात्मक बन्न सक्छ ।
आनुवंशिक उत्परिवर्तनको असर कस्तो हुन्छ?
ती दुईमध्ये पछिल्लोको एउटा उदाहरण बीआरसीए जीन उत्परिवर्तन हो। तीनका कारण स्तन र गर्भाशयमा हुने क्यान्सरको जोखिम उल्लेख्य रूपमा बढ्ने बताइन्छ । यस्तो उत्परिवर्तन रहेका महिलामा उच्च प्रजनन क्षमता रहने बताइन्छ । त्यही भएर बीआरसीए आनुवंशिक उत्परिवर्तनले सुरुमा बढी प्रजनन लाभ दिन्छ भने दीर्घकालमा बढी स्वास्थ्य जोखिम उत्पन्न गराउँछ । ओरिगन स्टेट यूनिभर्सिटीकी जीववैज्ञानिक केट्लिन मिक्ह्यू भन्छिन्, ‘जीवनको सुरुमा जे हुन्छ त्यो प्रजननशील उमेरभन्दा पछि हुने जुनसुकै कुराभन्दा बढी शक्तिशाली हुन्छ किनभने प्रजननको सम्भाव्यता नै सबैभन्दा महत्त्वपूर्ण हो।’ सेल सिनसन्स अर्थात् कोषहरू जीर्ण हुने प्रक्रियामा कोषको विभाजन रोकिन्छ। यो प्रारम्भिक जीवनमा हुने लाभ र उत्तरार्धमा हुने हानिको उदाहरण हुन सक्छ। कोष विभाजन बन्द हुने प्रणालीले हामीलाई क्यान्सरबाट जोगाउँछ । किनभने यसले डीएनएमा क्षति पुगेको कोषलाई विस्तार हुनबाट रोक्छ।

तर पछि त्यस्ता कोषहरू तन्तुमा जम्मा हुन्छन् र तिनले विभिन्न समस्या र उमेरसँग सम्बन्धित रोगहरू निम्त्याउन सक्छन् । अधिकांश प्रजातिका जीवमा बुढ्यौली देखा पर्ने भए पनि त्यसका केही अपवाद छन् । कतिपय बिरुवामा एकदमै नगण्य सिनसन्स देखिन्छ र केही प्रजातिहरू हजारौँ वर्षसम्म बाँचिरहेको पाइन्छ ।

एउटा त्यस्तै उदाहरणका लागि यूटास्थित फिशलेक नेशनल फरेस्टमा अवस्थित प्यान्डोको रूखलाई लिन सकिन्छ। त्यो एउटै जरा प्रणालीबाट जोडिएको एकै किसिमका अनुवंश रहेका एस्पन रुखहरूको सँगालो हो । त्यसको क्षेत्रफल चार लाख वर्ग मिटरभन्दा बढी र तौल ६,००० टनभन्दा बढी रहेको ठानिएको छ। कतिपय तथ्याङ्कमा उक्त रूख १० हजार वर्षभन्दा बूढो रहेको उल्लेख गरिएको छ । हाइड्रासँग नजिकको सम्बन्ध रहेको अमर जेलीफिशले आफ्नो दीर्घकालीन अस्तित्वका लागि चतुर उपाय अपनाएको छ।

कुनै चोट लागेको, रोग लागेको वा तनाव भएको अवस्थामा वयस्क उमेरबाट पोलिप अर्थात् आफ्नो प्रारम्भिक चरणमा जेलीफिश फर्किन सक्छ । ओरिगन स्टेट यूनिभर्सिटीकी मेक्ह्यूका अनुसार एउटा निश्चित बिन्दुमा यो त्यही जन्तु हो कि अलग्गै हो भनेर स्वयंलाई सोध्नुपर्ने अवस्था समेत आउँछ।

के मृत्यु र यौनको सम्बन्ध छ ?
कतिपय प्रजातिहरू उमेरअनुसार अझ सफल हुने गरेका सङ्केतहरू रहे पनि माक्लाकोभ त्यसको प्रमाण त्यति ठोस नरहेको बताउँछन् । एउटै भालेबाट गर्भधारण गर्ने प्रजातिहरू जस्तै वालरस र मृगमा यसको उदाहरण पाउन सकिन्छ। तिनमा एउटा भालेले पोथीहरूको समूहमाथि नै नियन्त्रण कायम गर्ने गर्छ । त्यो समूहको आकार र भालेका सन्तानहरूको सङ्ख्या उसको उमेर र शरीरको आकारसँगसँगै बढ्दै जान सक्छ। त्यही भएर उसको प्रजनन क्षमता बढ्दै जान्छ । केही प्रजातिहरूले उमेरसँगै आफ्नो प्रजनन क्षमता कायम राख्न सक्ने कुरा सत्य हो । तर ती नेगटिभ सिनसन्सका वास्तविक उदाहरण नभएको र अध्ययनहरूले तिनमा त्रुटि रहेको देखाएको माक्लाकोभ बताउँछन् । उदाहरणका लागि, भाले वालरसले पोथीहरूको समूहलाई सधैँभरि नियन्त्रणमा राख्न सक्दैन । तर हामीलाई कसरी बुढ्यौलीले छुन्छ भन्ने कुरामा यौनको भूमिका हुन सक्छ । यूनिभर्सिटी कलेज अफ लन्डनका मेगन आर्नोट र रुस मेसले गरेको एउटा अध्ययन नियमित यौन सम्पर्क राख्ने महिलामा रजोनिवृत्ति ढिलो सुरु हुन्छ । उनीहरूले यसलाई गर्भ नरहने अवस्थामा बाँकी शरीरले लिन सक्ने शक्ति लेनदेनको एउटा उदाहरण भनेका छन् । तर प्रजातिहरू माझ बढी प्रजननशील हुनु भनेको द्रुत रूपमा बूढो हुनु हो। बढी सन्तान जन्माउने चमेरोको आयु छोटो हुन्छ। सम्भवतः प्रजननको अवसर रहेकाले उनीहरूले आफ्नो सबै क्षमता नै त्यसमा लगाउँछन् । “त्यसमा समयको पनि लेनदेन हुन्छ जहाँ प्रारम्भिक उमेरमा राम्रो प्रजनन क्षमता भएका जीवले पछिको उमेरमा राम्रो गर्न सक्दैनन्।” “तर हाइड्रा यो नियमको अपवाद हो। किनभने यो जीवको जीवनकालमा उसको प्रजनन दर घटेको देखिँदैन।” त्यसपछि अरू केही प्रजातिहरू पनि छन् जसको जीवनकाल उनीहरूको लिङ्गअनुसार व्यापक रूपमा फरक हुन्छ। साधरणतया कमिला, मौरी र धमिराका रानी हुन्छन्। प्रजनन क्षमता उच्च भए पनि रानीहरू प्रजनन क्षमता नरहेका आफ्नै समूहका अन्य सदस्यभन्दा लामो समय बाँच्छन् । रानीले समूहका अरूबाट सुरक्षा पाउने र ती दुई समूहबीचको जीवनयापनमा ठूलो फरक रहेकाले उनीहरूमा समान रूपमा बुढ्यौलीको नियम लागु नहुन सक्छ ।

मानिस लामो बाँच्ने कारण के हो?
उसोभए यदि प्रजननको हाम्रो जीवन अवधिमा त्यति लामो प्रभाव छ भने किन मानवहरू बच्चा जन्माउन छाडेपछि पनि लामो समयसम्म बाँचिरहन्छन् त ? त्यसका लागि हामीले हजुरआमा जोडिएको एउटा परिकल्पनामा जानुपर्ने हुन्छ जसले वृद्ध आफन्तहरूसँगै रहन आवश्यक रहेकोमा जोड दिन्छ। प्रजनन खर्चिलो र जोखिमपूर्ण काम हो । तर हजुरआमाले आफ्ना नातिनातिना आफ्नो अनुवंश लगानी गरेर उनीहरू बाँच्ने कुरा सुनिश्चित गर्न सक्छिन् ।

त्यही भएर दीर्घ जीवनले प्राकृतिक छनोटको विधिबाट पनि केही लाभ निम्त्याएको हुनसक्छ । यूनिभर्सिटी अफ अक्सफर्डकी क्रमविकास जीववैज्ञानिक कोउन्टोरिड्स भन्छिन्, ‘हजुरआमा भएको परिवारमा प्रजनन तन्दुरुस्ती एकदमै राम्रो हुन्छ किनभने आमाले थप सन्तान जन्माउन पाउँछन् र हजुरआमाहरूले जन्मिसकेका बच्चा स्याहार्न सक्छन्।’ तर नातिनातिनामा हजुरआमाको अनुवंशको २५ प्रतिशतमात्रै हस्तान्तरण हुन्छ । “विगतमा धेरै महिलाहरू ५० वर्षको उमेरसम्म गर्भधारण गर्नेगरी बाँच्दैनथे। त्यही भएर ५० वर्षको उमेरमा महिलाको प्रजननको छनोट एकदमै न्यून रहेको छ,” माक्लाकोभ भन्छन्। उनले सन्तान जन्माएपछि प्राकृतिक छनोट कमजोर हुने दोहोर्याए । हामी सबैको जीवनको उत्तरार्धमा सबै कुरा सुखद नहुन पनि सक्छ। तर त्यसबाट हामीलाई जोगाउने बलियो शक्ति मानव क्रमविकासमा देखिएको पनि छैन।
बीबीसीबाट ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मुद्रास्फीति तोकिएको सीमाभन्दा धेरै माथि पुग्ने राष्ट्र बैंकको प्रक्षेपण

काठमाडौं । मुद्रास्फीति तोकिएको सीमाभन्दा धेरै माथि पुग्ने एक अध्ययनले देखाएको छ ।

को-को छन् मधेस प्रदेशमा मुख्यमन्त्रीका आकांक्षी ?

जनकपुरधाम । मधेस प्रदेशमा प्रदेशसभा सदस्यको मतगणना सकिएसँगै सरकार नेतृत्वको रस्साकस्सी सुरु भएको

यस्ता छन् संसदमा प्रतिनिधित्व गर्ने दल र सांसद

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको नतिजा अन्तिम चरणमा छ । प्रतिनिधिसभाको

कपिलवस्तुको मायादेवीमा भारतीय नागरिकमाथि गोली प्रहार

बुटवल । कपिलवस्तुको मायादेवी गाउँपालिकामा गोली प्रहारबाट एक भारतीय नागरिक घाइते भएका छन्