काठमाडौँ । कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लको आदेशका बाबजुद सर्वोच्च अदालत प्रशासनले प्रस्तावित प्रधानन्यायाधीशविरुद्धको रिट दर्ता गर्न अस्वीकार गरेको छ ।
कामु प्रधानन्यायाधीश मल्लले आज बिहान दरपीठ भएका रिट निवेदनहरूलाई तत्काल दर्ता प्रक्रियामा लैजान आदेश दिएकी थिइन् । उनले दिउँसो १ बजेसम्म रिट दर्ता गर्न र भोलिका लागि पेसी तोक्न आदेश दिएकी थिइन् । तर, उनको आदेशपछि पनि सर्वोच्च प्रशासनले सोमबार कार्यालय समयभित्र रिट निवेदन दर्ता गरेको छैन ।
यसअघि दरपीठविरुद्ध फेरि निवेदन दिँदा पनि प्रशासनले फाइल अगाडि नबढाइ अल्झाएर राखेको थियो । संवैधानिक परिषद्ले वरीयता मिचेर न्यायाधीश डा. मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो । वरीयतामा कामु प्रधानन्यायाधीश मल्ल एक नम्बरमा थिइन् ।
शर्माको सिफारिसपछि संसदीय सुनुवाइ प्रक्रिया शुरू भइसकेको छ । वरीयता मिचिएको विषयमा असन्तुष्ट न्यायाधीशहरूले रिट निवेदनमा केही अस्वभाविक आदेश गर्नसक्ने भन्दै दर्ता नगरेको हुनसक्ने अमनुमान गरिएको छ ।

प्रतिक्रिया