वर्तमान शासन व्यवस्थाबिरुद्ध नलाग्न पूर्वराजालाई प्रधानमन्त्रीको चेतावनी



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई चुनाव लडेर शासन गर्न चुनौती दिएका छन् । कांग्रेसका संस्थापक नेता गणेशमान सिंहको १०७औँ जन्मजयन्तीका अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई चुनाव लडेर शासन गर्न चुनौती दिएका हुन् ।

प्रधानमन्त्रीले मुलुकमा जनताभन्दा ठूलो शक्ति अरू कोही नभएकाले जनता नै देशको मालिक भएको बताए । उनले पूर्वराजा शाहलाई प्रजातन्त्रबाहेक सबै कुरा सुम्पिने बताउँदा आफूलाई जेलमा हालेको स्मरण गर्दै शासन व्यवस्थाबिरुद्ध नलाग्न चेतावनी दिए । उनले भने, ‘गणतन्त्र राजा ज्ञानेन्द्रले नै ल्याएको हो, हामीले ल्याएकै होइन, मैले सरकार सबै चढाउँछु, प्रजातन्त्रबिरुद्ध जान सक्दिन सरकार भनें तर मलाई जेलमा थुनियो । प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै हो । उनीहरुले चुनाव आएर लडे भइहाल्यो नि, चुनाव लड्न नसक्ने अनि प्रजातन्त्रको खिलाफ भनेर हुन्छ ?’

फरक प्रसङ्गमा प्रधानमन्त्री देउवाले नेपालको संविधानले सामान्य अवस्थामा संसद् भङ्ग गर्ने व्यवस्था नगरेको उल्लेख गर्दै यो प्रावधान मुलुकमा राजनीतिक स्थायित्वका लागि राखिएको बताए ।

“अर्को कुरा संविधानको अन्तिम व्याख्या गर्ने ठाउँ भनेको सर्वाेच्च अदालत हो, अरूलाई यो अधिकार छैन । सर्वाेच्चको व्याख्या सबैले मान्नैपर्छ”, उनले भने । नेपालको संविधान विश्वमै समावेशी भएको र यसले सबै वर्ग र समुदायको समावेशिताको व्यवस्था सुनिश्चित गरेको उनले बताए । संविधानमा कुनै समस्या आए प्रजातान्त्रिक विधिबाट समाधान गर्न सकिने उनको धारणा थियो ।

प्रधानमन्त्री देउवाले संविधानको सफल कार्यान्वयन गरेर प्रजातन्त्रलाई दिगो र समृद्ध बनाउन सके मात्र नेता गणेशमान सिंहप्रति सच्चा सम्मान हुने उल्लेख गरे । विसं १९९७ सालदेखि नै राणा शासनविरुद्ध आन्दोलन थालेको भन्दै उनले प्रजातन्त्रका लागि ठूलो सङ्घर्ष गरी लामो जेल र निर्वासन जीवन बिताएका नेता सिंहले प्रजातन्त्र प्राप्तिपछि पदको कुनै लोभ नगरेको उल्लेख गरे । प्रधानमन्त्री देउवाले मुलुकमा प्रजातन्त्र मास्नलाई तत्कालीन राजाले आफूलाई थुनेको र जनता सडकमा ओर्लिएपछि गणतन्त्र आएकोसमेत स्मरण गरे ।

कार्यक्रममा प्रधानमन्त्री देउवाले हालै सम्पन्न आफ्नो जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको भ्रमणका दौरान विश्वमा नै पेट्रोलियम पदार्थको विस्थापनसम्बन्धी बहसबारे अवगत गराए । उनले भने, “नेपाललाई पेट्रोलियम पदार्थको विस्थापन गर्न सहज छ, मुलुकमा जलविद्युत्को अपार सम्भावना छ । चुलो, गाडी, सवारीलगायतका साधन विद्युतीय बनाउन सक्छौँ ।” साथै उनले पछिल्लो समय नेपाल जलवायु परिवर्तनको चपेटामा परेको उल्लेख गर्दै यसबाट बचाउन सबै लाग्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा कांग्रेस पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले प्रतिगमनविरुद्धको आन्दोलनमा तत्कालीन अवस्थामा प्राध्यापकलगायत नागरिक समाजले खेलेको भूमिकाको उच्च प्रशंसा गरे । उनले अझै पनि राजनीतिक क्षेत्रमा गर्नुपर्ने धेरै काम बाँकी रहेको उल्लेख गर्दै राजनीतिक व्यवस्थाको स्थायित्वका लागि सबैको खबरदारीको आवश्यकता आँैल्याए ।

फरक प्रसङ्गमा नेता सिटौलाले कांग्रेस महाधिवेशन समयमै गर्नुपर्ने र अहिलेको कार्यतालिका एक दिन पनि परिवर्तन गर्ने ठाउँ नरहेको उल्लेख गर्दै यसलाई सफल बनाउन सबै लाग्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा गणेशमान सिंह तथा जनआन्दोलन शहीद स्मृति शान्ति प्रतिष्ठानका अध्यक्ष एवं सङ्घीय सांसद भीमसेनदास प्रधानले हाल भइरहेको सर्वाेच्च अदालतको विवादको उचित समाधान निकाल्न सरकारसँग आग्रह गरे ।

कांग्रेसका पूर्वजिल्ला सभापति तीर्थराम डङ्गोल र प्रा धर्मकान्त बास्तोलाले प्रजातन्त्र स्थापना र पुनस्र्थापनमा गणेशमान सिंहको योगदान इतिहासले बिर्सन नसक्ने बताएका थिए । कार्यक्रममा प्रधानमन्त्री देउवाले २०६२÷६३ को जनआन्दोलन सफल पार्न आम प्राध्यापकको नेतृत्वदायी भूमिका निर्वाह गर्ने नेपाल प्राध्यापक सङ्घका तत्कालीन अध्यक्ष प्रा खगेन्द्रप्रसाद भट्टराईलाई स्वर्ण पदकबाट विभूषित गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सुनकोसी मरिण डाइभर्सनको सुरुङ छिचोल्न एक सय १० मिटर मात्र बाँकी, वैशाख २६ गते ‘ब्रेक थ्रु’ गरिने

काठमाडौँ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन परियोजनाको सुरुङ निर्माण

नीति र नेतृत्वमा एमालेभित्र कुनै विवाद छैन : अध्यक्ष ओली

    काठमाडौं । नेकपा एमालेका  अध्यक्ष केपी शर्मा ओलीले नीति र नेतृत्वमा

हाम्रो पार्टीको भूमिकालाई कसैले अवमूल्यन गर्छ भने उसले ठूलो मूल्य चुकाउनुपर्छः माधव नेपाल

रौतहट । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आफू कसैको दास बन्ने व्यक्ति

तामाकोशीमा पौडी खेल्ने क्रममा दोलखाको गौरीशंकरका दुई युवा बेपत्ता

दोलखा । दोलखाको गौरीशंकर गाउँपालिका–८ खारेका दुई युवा तामाकोशीमा पौडी खेल्ने क्रममा बेपत्ता