प्रतिनिधिसभाको बैठक LIVE
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट गर्न आह्वान गरिएको प्रतिनिधिसभाको अधिवेशन शुरु भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले बैठकका प्रारम्भमा अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिबाट प्राप्त पत्र पढेर सुनाए ।
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीले आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट गर्न आवश्यक ठानेकाले सोही प्रयोजनका लागि प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी हुन् ।
त्यसलगत्तै सभामुखले अधिवेशनका क्रममा बैठकको अध्यक्षता गर्ने सदस्यको मनोनयन गरे । उक्त प्रयोजनका लागि सदस्यमा डा डिला संग्रौला, मानबहादुर विक, राधाकुमारी ज्ञवाली, रेखा शर्मा, रेणुकुमारी यादव, लालबाबु पण्डित र सोमप्रसाद पाण्डेयको नाम मनोनयन गरिएको छ ।
यसअघि बैठकमा गणतन्त्र र लोकतन्त्रका लागि जीवन आहुति दिने शहीदका सम्मानमा बैठकमा एक मिनेट मौनधारण गरिएको थियो । बैठकमा सभामुख सापकोटाले प्रधामन्त्री ओलीले संविधानबमोजिम विश्वासको मत लिन सूचना दिएकाले सो प्रयोजनका लागि १५ मिनेटपछि अर्काे बैठक बस्ने जानकारी गराए । बैठकमा भाग लिन प्रधानमन्त्री अपराह्न १ः०५ बजे यहाँ आइपुगेका थिए ।
अर्को बैठकमा प्रधानमन्त्री शर्मा ओलीले विश्वासको मत लिने प्रस्ताव प्रस्तुत गर्नेछन् । प्रस्ताव टेबल गरिएसँगै प्रधानमन्त्रीले आफ्नो मन्तव्य शुरु गरेका छन् ।