काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको स्वतन्त्रता र स्वाधीनता रक्षा गर्न आन्दोलनको विकल्प नभएको बताएका छन् । बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा मनोनीत तीन केन्द्रीय सदस्यलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउँदै अध्यक्ष ओलीले देशलाई थप सङ्कटमा जानबाट रोक्न आन्दोलनको तयारी गर्नुपर्ने बताएका हुन् ।
अध्यक्ष ओलीले देशले अहिले स्वतन्त्रता उपयोग गर्न नपाएको र स्वाधीनता खण्डित भएको टिप्पणी गरे । ‘अहिले देशले स्वतन्त्रता उपयोग गर्न पाएको छैन, स्वाधीनता खण्डित भएको छ। देश कमसेकम स्वतन्त्रताको प्रयोग, स्वाधीनताको प्रयोग गर्न सक्ने हुनुपर्छ,’अध्यक्ष ओली भने।
उनले देशमा कोही पनि बोल्न नसक्ने अवस्था सिर्जना गरिएको, राज्य आतङ्क र गुण्डाराज चलिरहेको तथा सरकार बेलगाम रूपमा फासीवादतर्फ अगाडि बढिरहेको आरोप लगाए। अध्यक्ष ओलीले यस्तो अवस्थालाई थप बिग्रन नदिन देशलाई स्वतन्त्रता र स्वाधीनताको अभ्यास गर्न सक्ने अवस्थामा पुर्याउनुपर्ने बताए।
एमालेले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षालाई गन्तव्य बनाएर आधुनिक नेपाल निर्माणको लक्ष्य लिएको उल्लेख गर्दै अध्यक्ष ओलीले देशलाई अहिलेको ‘क्रिटिकल’ अवस्थाबाट पार लगाउने अभिभारा पनि पार्टीको काँधमा आएको बताए ।
उनले पार्टीको सही नीति र विचारका आधारमा एकताबद्ध तथा अनुशासित भएर अघि बढ्न नेता–कार्यकर्तालाई आग्रह गरे । त्यसो गर्दा मात्रै कार्यकर्तामा उत्साह भर्न, जनतामा एमालेप्रतिको आकर्षण फर्काउन र पार्टीले लिएको जिम्मेवारी पूरा गर्न सकिने उनको भनाइ थियो ।
गत वर्ष फागुन २१ मा भएको निर्वाचनलाई चुनाव नभई प्रतिगमनको योजनाबद्ध दोस्रो शृङ्खला भएको टिप्पणी गर्दै अध्यक्ष ओलीले एमाले सत्य, न्याय, देश र जनताको पक्षमा रहेको दाबी गरे। उनले आगामी स्थानीय तहको निर्वाचनमा एमालेले विजय हासिल गर्ने विश्वाससमेत व्यक्त गरे।

प्रतिक्रिया