नाइजेरियामा बोको हरामलाई अवज्ञा गर्ने बहादुर महिला



नाइजिरियामा बालिकालाई ठूलो सङ्ख्यामा बन्धक बनाइएको विषय विश्वभर समाचार बन्ने गरेको छ । चिबोकको एउटा विद्यालयमा पाशविक हमलापछि बन्धक बनाइएकी एक जना युवतीका लागि यस्ता अपहरणका खबरहरू पीडादायी हुने गर्छन् । नाओमी अडामु शान्त देखिन्छिन्। कुरा गर्दा उनी विरलै आँखा जुधाउँछिन्।

तर उनको मधुरो आवाज निरन्तर सुनिन्छ । उनलाई भेट्ने कमैले मात्र उनी एकदमै त्रासदीपूर्ण अनुभवबाट बाँचेको आकलन गर्छन् तर उनको शान्त आचरणले उनको असाधारण व्यक्तित्व झल्काउँछ । बोको हरामको हमलाको समयमा २४ वर्षकी रहेकी नाओमी छात्रामात्रै पढ्ने चिबोक सरकारी माध्यमिक विद्यालयबाट बन्धक बनाइएका २७० भन्दा बढी विद्यार्थीमध्ये सबैभन्दा जेठी थिइन् ।

इस्लामवादी उग्रवादी समूहले सन् २०१४ को एप्रिलमा ती छात्राहरूलाई अपहरण गरेको थियो । उनका कक्षाका सहपाठीहरूले उनलाई मामान मु अर्थात् हाम्री आमा भनेर सम्बोधन गर्थे । बाल्यकालमा स्वास्थ्यका कारण उनको पढाइ रोकिएको थियो । ’चिबोक छात्रा’हरूको बारेमा प्रकाशित नयाँ पुस्तकको उनी अहिले मुख्य पात्र बनेकी छन्।

’बुवालाई क्रिसमस सन्देश’
’ब्रिङ ब्याक आवर गर्ल्स’ नामक पुस्तक पत्रकारद्वय जो पार्किन्सन र ड्र्यु हिन्सले बन्धक बनाइएका विद्यार्थी, उनीहरूका परिवार र उक्त विषयसँग जोडिएका सयौँसँग लिइएका अन्तर्वार्ताका आधारमा तयार पारेका हुन् । उक्त पुस्तकले छात्राहरू बन्धकमा बसेको अवधिलाई विस्तृतमा प्रस्तुत गर्दै सामाजिक सञ्जालबाट चलाइएको चर्चित अभियानले उनीहरूको रिहाइ प्रक्रियालाई कसरी अप्ठेरोमा पार्यो भन्ने पनि खुलासा गरेको छ ।

उनीहरूको चर्चाले उनीहरूलाई त्यसै छाड्न नमिल्ने मूल्यवान् वस्तुमा रूपान्तरण गरेको लेखकहरूले उल्लेख गरेका छन् । तीन वर्ष बन्धक बनेर बस्दा नाओमीले लडाकुसँग विवाह गर्न वा इस्लाम धर्म अँगाल्न अस्वीकार गरेकी थिइन् । बरु उनी र उनकी एक सहपाठीले इस्लाम मन्त्र लेख्न उपलब्ध गराइएका कापीलाई गोप्य दैनिकी लेखनका लागि प्रयोग गरेका थिए । उनले आफ्नो खुट्टामा बाँधेर राखिएको एउटा अस्थायी प्याकेटमा त्यसलाई लुकाएकी थिइन् । ‘हामीले हाम्रो कथा लेख्नुपर्छ भन्ने निष्कर्ष निकाल्यौँ,’ उनले भनिन्, ‘यदि हामीमध्ये एक जना भाग्न पायौँ भने मानिसहरूले हामीलाई के भयो भन्ने थाहा पाउनुपर्छ भन्ने हामीलाई लाग्यो।’ आफ्नो दैनिकी उतार्ने क्रममा उनले आफू बन्धक भएको सालको क्रिसमसको ठिकअघि आफ्ना पितालाई पत्र लेखेको पाइएको छ ।

‘प्रिय मेरो प्यारो बुवा, यो पल म तपाईँलाई ज्यादै सम्झिरहेको छु।’ ‘बुवा, म तपाईँलाई हेर्न चाहन्छु। मलाई तपाईँ, आमा र घरमा रहेका बाँकी अरूको चिन्ता छ।’ ‘मलाई थाहा थिएन कि बोको हरामले बन्धक बनाएका मलाई वा हामीलाई यस्तो हुनसक्छ। भगवान्को कृपाले बुवा म तपाईँलाई ज्यादै सम्झिरहेकी छु।’

‘म तपाईँले आफ्नो प्रार्थनामार्फत मलाई सधैँ सहयोग गर्नुहोस् भन्ने चाहन्छु ताकि मैले मलाई पीडा दिन आउँदा त्यो राक्षसलाई सधैँ पराजित गर्न सकौँ। अहिले यहीँ नै रोकिन चाहन्छु बुवा।’ ‘म तपाईँलाई ज्यादै सम्झिरहेकी रहेकी छु। अलबिदा, तपाईँको दिन शुभ होस्।’ ‘तपाईँकी प्यारी छोरी, नाओमी आडामु। तपाईँलाई क्रिसमसको शुभकामना’ आफ्ना प्रिय व्यक्तिहरूबाट अलग गरिएका ती छात्राहरूले ज्यादै कष्ट व्यहोरेका थिए। उनीहरू जीवित रहे या नरहेको पनि प्रस्ट थिएन ।

नाइजिरिया र विदेशका सेना सहितका सुरक्षा निकायले पत्ता लगाउन नसकून् भनेर उनीहरूलाई निरन्तर एक ठाउँबाट अर्को ठाउँ सार्ने गरिएको थियो । सन् २०१४ को अन्त्यतिर केही समय एउटा नगरमा बिताउनु बाहेक उनीहरूले अधिकांश समय बोको हराम लुक्ने गरेको जङ्गलमा बिताएका थिए । ‘सामबीसा जङ्गल हाम्रा लागि कठिन थियो। त्यहाँ खाना थिएन, पानी थिएन। महिनावारी भएको समयमा हामीले माटोको प्रयोग गरेर आफूलाई सफा गर्नुपथ्र्यो ।’

विवाह गर्न दबाव
उग्रवादी समूहका वरिष्ठ नेताहरूले नाओमीलाई आफ्ना एक लडाकुसँग विवाह गर्न दबाव दिइरहन्थे । उनले विवाह गरे उक्त समूहमा रहेका अन्य किशोरीहरू पनि विवाह गर्न सहमत हुने उक्त समूहको विश्वास थियो । बोको हराम समूहले नाइजिरियामा आतङ्ककारी हमलाहरू गर्ने गरेको छ । प्रत्येक पटक विवाह अस्वीकार गर्दा नराम्रोसँग पिटिएको र ज्यान लिइने धम्की खेप्नुपरेको उनको अनुभव छ । झुक्न तयार नभएपछि उनी र अरूहरूलाई बोको हरामका नेता अबुबकर सेकाउसँग भेट गराइएको थियो। त्यस बेला उनले अप्रत्याशित खुलासा गरेका थिए ।

अप्रत्याशित खुलासा
‘सेकाउले हामीलाई विवाहको लागि बन्धक बनाइएको नभई आफूले जेलमा रहेका आफ्ना साथीहरू रिहा गराउन सरकारलाई दबाव दिन त्यसो गरेको बताएका थिए।’ उक्त जानकारी पाएपछि उनको सङ्कल्प अझ दृढ भयो र त्यसपछि अरूहरूले पनि विद्रोह गर्न थाले ।

नाओमी र अरू जिद्दी छात्राहरूलाई अन्यबाट अलग गरेर कमजोरहरूलाई विवाहका लागि दबाव दिने उग्रवादीहरूले प्रयास गर्दा नाओमी र उनका साथीहरूले लुकाएर खानेकुरा उपलब्ध गराउने गरेका थिए । त्यस बेला उनीहरूले सुरक्षा गार्डहरूका अगाडि प्रार्थना गर्ने गर्थे। बन्धक बनाइएका अधिकांश विद्यार्थी इसाई थिए। उनीहरूले बाइबलका आफूलाई मन पर्ने पङ्क्ति र प्रार्थनाहरू आफ्ना डायरीमा लेख्ने गर्थे ।

नाओमी सहित ८१ जनालाई नाइजेरियाली स्वयंसेवक र स्विस कूटनीतिज्ञको पहलमा भएको एउटा लामो वार्तापछि सन् २०१७ मा रिहा गरिएको थियो । त्यस बेला बोको हराम कमजोर भइसकेको उनलाई लागेको थियो ।

‘मलाई बोको हराम आजको दिनसम्म सक्रिय रहन्छन् भन्ने लागेको थिएन किनभने उनीहरू दुई वटा समूहमा विभाजित भइरहेका थिए। हामीले अब उनीहरू सकिए भन्ने ठानेका थियौँ।’ नाओमी रिहा भएको एक वर्ष पनि नपुग्दै उक्त उग्रवादी समूहले थप १०० जना बालिकालाई दाप्ची भन्ने नगरबाट बन्धक बनाएको थियो । एक महिनापछि आफ्नो धर्म त्याग्न नमानेकी एक जना इसाई बालिकाबाहेक सबैलाई रिहा गरिएको थियो ।

सामूहिक अपरहणको सिलसिला
हालैका दिनमा नाइजिरियामा भइरहेको बालबालिकाको सामूहिक अपहरणले पुनः विश्वको ध्यान तानिरहेको छ । उत्तरी नाइजेरियामा पछिल्लो तीन महिनामा चार वटा त्यस्ता घटना भएका छन् जसमा ८०० जनालाई बन्धक बनाइएको छ । बोको हरामको आधार इलाकाभन्दा सयौँ माइल पर भएका यी अपहरणमा को जिम्मेवार छन् भन्ने प्रस्ट छैन ।

तर सबै जना चिबोक छात्राहरूकै अपहरणले यी घटनालाई प्रेरित गरेकोमा सहमत छन् । नाओमीलाई प्रत्येक नयाँ अपहरणले आफूलाई झस्काउने यादहरू ताजा बनाउँछ । पछिल्लो एउटा अपहरणबारे थाहा पाएपछि आफू रातभर सुत्न नसकेको भन्दै उनले भनिन्, ‘म आफू गुज्रेको अवस्था अरू कसैले भोग्नु नपरोस् भन्ने चाहन्छु।’ नयाँ जीवनको सुरुवात गरिरहेकी नाओमीले विवाह गरेकी छन् र आफ्नो पहिलो सन्तानको प्रतीक्षा गरिरहेकी छन्। अझै पनि एक सयभन्दा बढी चिबोक छात्राहरू भेटिएका छैनन्।

माएनी जोन्स
बीबीसी न्यूज, माइडुगुरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा पहिलो पटक  पुगे दुई टिपर

  सिमकोट (हुम्ला) । राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोटमा

बागलुङमा आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु, दुई घाइते

  ढोरपाटन (बागलुङ) । बागलुङमा आगलागीमा परी एकजानको मृत्यु भएको छ भने दुईजना

चीन भ्रमण गर्ने योजनामा पुटिन

  रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगमी मे महिनामा चीन भ्रमण गर्ने योजना बनाउनुभएको

नेपालमा विश्वमै सबैभन्दा सस्तोमा हाइड्रोजन उत्पादन गर्न सकिने

  काठमाडौँ । नेपालमा जलविद्युतसँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक ऊर्जा उत्पादनमा पनि