धनी देशहरूलाई खोपको लाइन नमिच्न डब्लुएचओको आग्रह
विश्व स्वास्थ्य सङ्गठनका प्रमुखले देशहरूलाई आफ्ना निम्ति कोभिड १९ खोपको जोहो गर्नका लागि लाइन नमिच्न आग्रह गरेका छन् । टेड्रोस एडहानोम गेहब्रेयससले ’मलाई पहिला’ भन्ने शैली आफ्नै निम्ति समेत हानिकारक हुने बताए ।
त्यसो गर्दा खोपको भाउ बढ्ने उनले चेतावनी दिएका छन् । डब्लुएचओका महानिर्देशकले असमान खोप वितरणका कारण संसार चरम नैतिक सङ्कटको सम्मुख भएको भन्दै अन्तर्राष्ट्रिय खोप आपूर्ति सञ्जाल कोभ्याक्स अभियानप्रति सबै देशको पूर्ण प्रतिबद्धता हुनुपर्ने बताए । कोभ्याक्सअन्तर्गत आगामी महिनादेखि खोप आपूर्ति थालिने बताइएको छ ।
उनले गरिब देशका स्वास्थ्यकर्मी तथा जोखिमपूर्ण समुदायभन्दा पहिले धनी देशका युवा तथा स्वस्थ्य मानिसहरूले खोप लगाउनु अनुचित भएको पनि बताएका छन् ।
सोमबार डब्लुएचओको कार्यकारी समितिलाई सम्बोधन गर्दै उनले भने, ‘मैले केही खरो बोल्नु पर्ने भएको छः विश्व नैतिक विफलताको डिलमा पुगेको छ–अनि यसको मूल्य विश्वका गरिब देशहरूका मानिसहरूले आफ्नो जीवन र जीविकाले तिर्नुपर्नेछ।’ आफूलाई मात्र खोपको जोहो गर्ने शैली प्रति सङ्केत गर्दै उनले भने, ‘अन्ततः यस्ता कार्यले केवल महामारीलाई लम्ब्याइदिनेछ। अनि त्यसका साथै महामारीका लागि आवश्यक निषेध अनि मानवीय र आर्थिक पीडा लम्बिनेछ।’
संसारका ४९ धनी देशहरूले ३ करोड ९० लाख मात्राको खोप लगाइसकेको तर न्यून आय भएको एउटा देशमा जम्मा २५ मात्राको खोप पुगेको उनले बताए । हालसम्म भारत, चीन, रुस, अमेरिका, वेलायत अनि केही बहुराष्ट्रिय टोलीले खोप विकास गरेका छन् । सबैले आफ्नै जनसङ्ख्यालाई खोप लगाउन प्राथमिकता दिएका छन् । उनले अप्रिल ७ को आगामी विश्व स्वास्थ्य दिवस अगावै सबै देशहरूमा कोभिड १९ का खोप लगाउन थालियोस् भन्ने आफूहरुको चाहना रहेको बताए ।
हालसम्म १८० देशहरू कोभ्याक्समा सामेल भएका छन् । यो सञ्जाललाई डब्लुएचओ तथा केही अन्तर्राष्ट्रिय निकायले सहयोग गरेका छन् । यस अन्तर्गत न्यून वा मध्यम आय भएका ९२ देशहरूका निम्ति दाताहरूले खोपको पैसा तिरिदिनेछन् उनेल आफूहले पाँच खोप उत्पादकसँग दुई अर्ब मात्राको खोप आपूर्ति सुनिश्चित गरिसकेको र थप एक अर्ब मात्राको पनि विकल्प रहेको जानकारी दिए ।
उनले फेब्रुअरीबाट आपूर्ति सुरु गर्ने लक्ष्यमा आफूहरु रहेको बताए । विश्वमा सबैभन्दा छिटो आफ्ना जनसङ्ख्यालाई कोरोनाभाइरसको खोप दिलाउँदै आएको इजरेलले खोप निर्माता कम्पनी फाइजरसँग उसको सम्झौताबारे विवरण सार्वजनिक गरेको छ । इजरेली सरकारले देशमा समुदायस्तरमा प्रतिरोध क्षमता वा हर्ड इम्युनिटी कहिलेसम्म भइसक्छ भन्ने आकलन गर्न खोप लगाएका बारे सूचना तत्काल सम्प्रेषण गरिरहेको छ । सञ्चारमाध्यमहरूमा आएका विवरणअनुसार इजरेलले द्रुत गतिमा आपूर्ति सुनिश्चित् गर्न बढी पैसा तिरेको छ।
हालसम्म इजरेलले २० लाखभन्दा धेरै वा एक चौथाइ जनसङ्ख्यालाई खोप दिलाइसकेको छ।