आन्तरिक उडान र लामो दूरीको यातायात भदौ मसान्तसम्म सञ्चालनमा रोक लगाउने सरकारको निर्णय
काठमाडौं । सरकारले आन्तरिक उडान र लामो दूरीको यातायात भदौ मसान्तसम्म सञ्चालमा रोक लगाएको छ । आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।
महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले आन्तरिक उडान र लामो दूरीको यातायात सञ्चालनमा भदौभर रोक लगाएको हो ।
यसअघि भदौ १५ सम्मका लागि गरेको स्थगनलाई भदौभर लब्याएको एक मन्त्रीले जानकारी दिएका छन् । कोरोना संक्रमण बढ्दै जाँदा सरकारले देशभरका अधिकांश जिल्लामा निषेधाज्ञा गरेको छ।
त्यस्तै बैठकले हङकङ र ल्हासामा महावाणिज्य दूत नियुक्ति गर्ने निर्णय गरेको छ। ल्हासाको महावाणिज्य दूतमा नवराज ढकाल र हङकङको महावाणिज्य दूतमा उदयबहादुर रानालाई नियुक्ति गर्ने निर्णय भएको हो। राना झापा जिल्लाको प्रमुख जिल्ला अधिकारीको रुपमा कार्यरत छन् भने ढकाल वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव हुन्।