कठै हाम्रो इतिहास !



केशवप्रसाद भट्टराई ।
नेपालको इतिहासको निर्णायक कालखण्डका साक्षी राजा ज्ञानेन्द्रले आफ्नो राजगद्दी, राजमुकुट र राजदण्ड त नेपाली जनतालाई सुम्पिएर गए तर उनीसँग र उनको स्मृति पटलमा रहेका सामग्रीहरू त नेपाली जनताका लागि उक्त राजगद्दी, राजमुकुट र राज दण्ड भन्दा बढी मूल्यवान होलान !

१. हामी सधैँ स्वतन्त्र र सार्वभौम मुलुक रहेको दावी गर्दछौँ, तर हाम्रो दुर्भाग्य के भने पहिलो नेपालको इतिहास एक अङ्ग्रेज अधिकारीले लेखिदिए I  नेपाली शव्दकोश र नेपाली व्याकरण पनि अङ्ग्रेजहरूले लेखिदिए I  त्यही इतिहास पढेर ए हाम्रो इतिहास यस्तो रहेछ भनेर हाम्रा विद्वानहरूले इतिहास लेखे I

२. बाबुराम आचार्य,योगी नरहरिनाथ,नयराज पन्त, डिल्लीरमण रेग्मीहरूले असाधारण र कठिन साधना गरेर नेपालको वास्तविक इतिहास लेखनको थालनी गरे I धनबज्र बज्राचार्य, दिनेशराज पन्त, महेशराज पन्त, ज्ञानमणि नेपाल, लुडविग स्टिलरहरूहरूले त्यो परम्परालाई समृद्ध बनाए I  तर त्यो परम्परा त्यहीँ पुस्तामा टुंगिए जस्तो भयो I अहिले त इतिहास भनेको नेता वाक्य, भाषण र चुनावी नारा, गालीगलौज बुझिने भयो I

३. १९५०को नेपाल र भारतवीच भएको सन्धि सम्वन्धमा सो सन्धि हुनु अघि दुई मुलुकवीच पत्राचारहरू भए होलान, कम्तीमा दुई पक्ष वीच लामा लामा कुराकानी भए होलान I माथिल्ला नेपाली सरकारी अधिकारी स्तरमा राय -परामर्श भए होलान, आफ्ना आफ्ना पक्ष राख्ने काम भए होलान, सहमति-असहमति व्यक्त भए होलान ! खोई तिनको प्रामाणिक अभिलेख ?

सात सालको क्रान्ति समाप्त हुँदै गर्दा भारतमा राजा त्रिभुवन, प्रधानमन्त्री नेहरू , उप प्रधानमन्त्री सर्दार पटेल,अनि भारतीय नेतृत्व र नेपाली काङ्ग्रेस नेतृत्व वीच राय, परामर्श, सहमति, विमति भए होलान खै तिनको बारेमा नेपालको आधिकारिक सरकारी विवरण ?
नेपालको चीन र ब्रिटिस भरात सरकारवीच भएका सय दुई सय वर्ष अघि भएका लेखापढी, कुराकानीका विवरण त छन् भने यो त हिजोको कुरा !

४. भारत, चीन,अमेरिका, बेलायत जस्ता मुलुकलाई धेरथोर विश्वासमा नलिई वा उनीहरूलाई त्यसको पूर्व जानकारी नगराई राजा महेन्द्र जस्ता चतुर राजाले सत्र सालको कदम चाले होलान भनेर सोच्न सकिन्न I
पुस एक गतेको कदम पछि ती मुलुकले नेपालका सम्वन्धमा गरेको टिप्पणी र उनीहरूको कूटनीतिक व्यवहारले त्यसलाई बुझाउँछ तर त्यसको अभिलेख छैन I

५. कालापानीमा भारतीय सेना आएर कहिले देखि बस्यो ? सो सम्वन्धमा नेपाल र भारतवीच के कस्ता समझदारीहरू भएका थिए ?
नेपालले सिआइएलाई कुनै न कुनै किसिमले अनुमति नदिई उसले विमान मार्फत तिब्बती विद्रोहीहरूलाई हतियार र रकम उपलव्ध गरायो होला भनेर अनुमान गर्न सकिन्न I नेपाली सेना, प्रहरी, गुप्तचर संगठन, रक्षा र परराष्ट्र मन्त्रालय र राज दरवारमा त्यसको अभिलेख नभएको हुन सक्दैन ! खै त्यो ? सिआइएका सम्वन्धित अधिकारीले त्यो बारेमा लेखेका छन् तर हामीले ? सधैँ अनुमानमा लेखिने हाम्रो इतिहास !

६. नेपालले पहिलो पटक आफ्नो नक्सा प्रकाशित गर्दा लिम्पियाधुरा किन छुटाइयो ? के आधारमा छुटाइयो ? कसैले फोन गरेर वा मौखिक कुरामा त्यो अहिले छोड भनेर भने अनि छोडियो भनेर दरवार देखाएर नकच्चरो कुरा गर्न पाइन्छ ? त्यसको पनि त कहिँ अभिलेख राखेर त्यो छुटाइएको हुनुपर्दछ I त्यसै मुलुकको भूभाग छुटाएर नक्सा निकाल्न पाइन्छ ? न तिनै छुटाउनेले त्यसरी फोन गर्ने वा मौखिक निर्देशन दिने व्यक्तिलाई आफ्नो प्रमाण नभएको, नपुगेको बताएका थिए कि ? नक्सा तयार गर्ने निकायको प्रमुखले आफ्नो कार्यालयको अभिलेखमा त्यो जनाएको छ ? त्यसबारे आफ्नो राय ठहर उल्लेख गरेको छ ?  सम्वन्धित माथिल्लो तहवाट त्यस्तो निर्देशन आए न आएको वा वीचैमा कसैले त्यो कुरा गरे गराएको पुष्टि गरेको पाइन्छ ? पाइदैन ?

७. २०४४-४५मा नेपाल र चीन वीच हातहतियार खरिद गर्दा कुन प्रक्रिया अवलम्वन गरियो ? के कस्ता पत्राचार भएका थिए ? के कस्ता हतियारहरू ल्याइए ? ती हतियारहरूको आवश्यकता कसरी अनुभव गरियो ? त्यसको मूल्यांकन र अध्ययन त राज्यले गरेको थियो होला !
२०४५-४६ सालको अवधिमा राजा वीरेद्र, प्रधानमन्त्री मरिचमान सिंह र परराष्ट्र मन्त्री शैलेन्द्र कुमार उपाध्याय र अन्य राजनीतिक र कूटनीतिक अधिकारीहरूको समकक्षी भारतीय अधिकारीहरूवीच कुराकानी भएका थिए होलान, सहमति, असहमति भए होलान !
खै त्यो विवरण ?

८. माओवादी विद्रोहबारे नेपाल र भारतका राजनीतिक, कूटनीतिक र सुरक्षा एजेन्सी माझ प्रशस्त कुराकानी र लेखापढी भएका होलान !
माओवादीहरूले दुवै देशका त्यस्ता अधिकारीहरूसँग शुरु देखिनै विभिन्न चरणमा वार्ता, सहमति र समझदारीहरू गरेकै थिए – त्यसको पनि प्रामाणिक अभिलेख होलान !

नेपालमा २०६२-६३को परिवर्तनको क्रममा नेपाल र भारत तथा अन्य मुलुकका विभिन्न राजनीतिक, कूटनीतिक र सुरक्षा अधिकारीहरूवीच पनि अनेकौँ सहमति/असहमति भएका थिए I प्रचण्ड र बाबुरामले भारतीय सुरक्षा एजेन्सी समक्ष आफूहरूले भारतको हित विरूद्ध कहिल्यै कुनै गतिविधि नगर्ने र त्यस वापत आफूहरूलाई भारतले सुरक्षा, अन्य सहयोग र राजनीतिक समर्थन गर्नु पर्ने र नेपालमा गणतन्त्र स्थापनामा साथ दिनु पर्ने बारे गरेको कागजको अस्तित्वबारे तत्कालीन भारत सरकार र त्यहाँका सुरक्षा एजेन्सी निकट एसडी मुनीले लेख्न त लेखे ,
विदेश सचिव श्यामसरणले पनि त्यस्तो कुरालाई पुष्टि हुने गरी लेखे तर त्यस बारे नेपाल सरकार, प्रचण्ड, बाबुराम र नेपाली सेनाका तत्कालीन प्रमुख लगायत नेपाल प्रहरी र गुप्तचर निकायका अधिकारीहरूको पनि त मूल्यांकन होला ,
खै त्यो ?

९. राजा ज्ञानेन्द्रले असोज १८ र माघ १९को कदम चाल्नु अघि पर्याप्त राजनीतिक र कूटनीतिक परामर्श नगरेका हुनै सक्दैन I
त्यसपछि पनि राजा ज्ञानेन्द्रले भारतीय, चीनियाँ लगायत विभिन्न देशका राजनीतिक र कूटनीतिक नेतृत्व वीच धेरै वार्ता, सहमति गरे होलान,
असहमति राखे होलान , त्यसले कहिले नेपालको इतिहासमा प्रवेश पाउने हो ? नेपालको इतिहासको निर्णायक कालखण्डका साक्षी राजा ज्ञानेन्द्रले आफ्नो राजगद्दी, राजमुकुट र राज दण्ड त नेपाली जनतालाई सुम्पिएर गए तर उनीसँग र उनको स्मृति पटलमा रहेका सामग्रीहरू त नेपाली जनताका लागि उक्त राजगद्दी, राजमुकुट र राज दण्ड भन्दा बढी मूल्यवान होलान ! राजा त्रिभुवन, राजा महेन्द्र र वीरेन्द्रहरू, सो अवधिका प्रधानमन्त्री र परराष्ट्र मन्त्रीहरूसँगै उनीहरूको पालाका इतिहासका सामग्री हरू लोप भए जस्तै ती पनि हराएर जाने हुन् कि ?

१० . नेपाल भित्र र वाहिर नेपाल लक्षित बाक्लो वाह्य राजनीतिक, कूटनीतिक र सुरक्षा एजेन्सीहरू ( गुप्तचर संगठनहरू ) गतिविधिहरू भएका थिए I त्यस सम्वन्धमा कम्तीमा नेपालको सेना, प्रहरी र गुप्तचर संगठनहरूको स्तरमा वस्तुगत र गोप्य अध्ययन, अनुषन्धान र मूल्यांकन भएको हुनै पर्दछ ,  त्यसको जानकारी उनीहरूले आफ्नो तालुक मन्त्रालय र दरवारलाई दिएकै हुनुपर्दछ I त्यसको लागि हामीले कुनै एस डी मुनी, श्याम सरण वा प्रणव मुखर्जी कै मात्रै प्रतीक्षा गर्नु पर्ने वा कुनै सिआइए वा रअका पूर्व अधिकारीहरूको कथन र लेखन मात्र पर्खिएर बस्नु पर्ने ? नेपालको पनि त गुप्तचर संगठन छ ! नेपालको सेना र प्रहरीको पनि त इन्टेलिजेन्स संयन्त्र छ ! मुलुकको वास्तविक इतिहासको स्रोत त ती संगठनहरू हुन् I निश्चित समय पछि त ती सार्वजनिक हुनुपर्ने हो नी !
तलव मात्रै थापेर , रामजीले जे गर्छन भलै गर्छन मात्रै भनेर त बसेनन् होलान कि ?

११ . भारत, अमेरिका, बेलायत लगायतका विभिन्न मुलुकका सेना, प्रहरी र गुप्तचर संगठनका प्रमुखहरूले आफ्नो कार्यकालमा आफूले देखेका -भोगेका कुराहरू सत्यसत्य लेख्ने गरेका, राख्ने गरेका र निश्चित अवधि पछि ती सार्वजनिक हुने गरेका छन् ! खै नेपालको ?
स्मरणीय छ , त्यस्ता विवरण घटनाको समयको निश्चित अवधि भित्र कुनै पक्षले त्यसको विवरण तयार गरेर अभिलेख वद्ध गराइएको छैन भने त्यो प्रमाण बन्दैन ! सय पचास वर्ष पछि कुनै नोकर, चाकर, सुसारे र बैठकेले खुस खुस कानमा सुने सुनाएका कुरा इतिहासका सामग्री बन्दैनन् I

१२ . स्पष्ट छ, २००७ साल यताका मात्रै पनि नेपाली इतिहासका धेरै पाना रिक्त छन् I धेरै प्रश्न अनुत्तरित छन् ! इतिहासको नाउमा धेरै भ्रम, आग्रह र कुण्ठाहरू पोखिएका छन् ! नेपालको इतिहास पार्टीहरूको इतिहास बनेको छ I इतिहासको नाउमा शासक र नेताहरूका प्रशस्तीगाथाहरू लेखिएका छन् I यो अवधिका इतिहासका केही पात्रहरूका आत्मकथाहरू प्रकाशित छन् तर ती आत्म केन्द्रित छन्,
आत्म प्रशंसाहरूले भरिएका छन् I शासकहरू,नेताहरू , पार्टीहरू इतिहासका महत्वपूर्ण पात्र हुन् , इतिहास निर्माता हुन् तर त्यो वस्तुगत तथ्यमा आधारित छैन र अर्को तथ्य र प्रमाणले त्यसलाई सत्यापित गर्दैन भने त्यो इतिहासको फोहोर मात्रै हो I

१३. इतिहासले मिल्काएको फोहोरबाट स्वतन्त्र, सार्वभौम र स्वाभिमानी राष्ट्रको इतिहास लेखिन्न ! राष्ट्रको अश्मिता र स्वाभिमान जोगाउन सकिन्न ! त्यसको लागि वास्तविक इतिहास नै लेखिनु र पढिनु पर्दछ ! आफ्नो वास्तविक इतिहास नलेखिएको, लेख्ने हिम्मत नगर्ने देश कसरी देश र राष्ट्र बन्न सक्छ ? राष्ट्र, राज्य देश जे भने त्यो इतिहासले निर्माण गरेको इकाई हो, स्वरूप र संरचना हो ! राजनीतिक अस्तित्व हो !
राजतन्त्रले दिएका बाबुराम आचार्य,योगी नरहरिनाथ,नयराज पन्त, डिल्लीरमण रेग्मी, धनबज्र बज्राचार्य, दिनेशराज पन्त, महेशराज पन्त, ज्ञानमणि नेपाल, लुडविग स्टिलरहरूहरू जस्तै व्यक्तिहरू गणतन्त्रले दिने ह्याउ र क्षमता राख्न पर्दैन ? राष्ट्रको इतिहासलाई बाँझो राजनीतिको दास मात्रै रहन दिने ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेकपाका अध्यक्षद्वय ओली र प्रचण्डका प्रस्ताव अब स्थायी कमिटी बैठकमा छलफल हुने

काठमाडौं । सत्तारुढ नेकपामा देखिएको विवाद समाधानका लागि स्थायी कमिटीमा छलफल गरिने भएको

थप १०२४ जनालाई कोरोना संक्रमण, २२०६ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा थप १०२४ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य

राजतन्त्र पुनस्र्थापनाको माग गर्दै काठमाडौंमा राजावादीहरुको प्रदर्शन

काठमाडौं । राजतन्त्र पुनस्र्थापनाको माग गर्दै राजावादीहरुले शनिबार काठमाडौंमा बृहत प्रदर्शन गरेका छन्

गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु

काठमाडौं । कोरोना संक्रमणबाट कास्कीमा थप तीन जनाको मृत्यु भएको छ । कोरोना