मनिषाको मानमर्दनविरुद्ध नेपाली मिडिया किन मौन ?
अचानाको चोट खुकुरीलाई के थाहा ? घाउ उसैलाई दुख्छ, जसलाई चोट परेको हुन्छ । शायद यस्तै नियतिमा छिन् अहिले वलिउडकी चर्चित नेपाली अभिनेत्री मनिषा कोइराला । मनिषाले नेपालको राष्टियता, राष्ट्रिय स्वाभिमान र देशभक्तिका लागि गरेको एउटा ट्वीटले उनीमाथि सिंगै भारतीय मिडिया खनिएका छन् । तर यसको प्रतिवादमा नेपालका गन्यमान्य सम्पादहरुको कलम अपेक्षाकृत आक्रामक रुपमा झिकीकटक गर्नेगरी चलिरहेको छैन । वौद्धिक, विश्लेषक भन्ने तप्का पनि मौन रमिते झैं देखिदैछ । आखिर आम नेपालीको प्रतिनिधि बोली र स्वर बोल्ने मनिषाका पक्षमा किन सिंगो राष्ट्र धन्यवाद मनिषा, सलाम मनिषा भन्न हिच्किचाईरहेको छ ? के नेपाली पत्रकार, वौद्धिक जगत त्यति तन्नम भैसक्यो की ऊ मनिषा कोइराला स्तरका राष्ट्रवादी नायिकाको प्रतिरक्षामा शिरमा कफन बाँधेर भारतीय मिडियाको प्रतिवाद गर्न सक्दैन ?
२०५७ सालमा ऋतिक रोसन काण्डमा काठमाण्डौंमा विध्वंश भयो । नेपालीलाई अपमान गरेर बोलेकोमा नेपाली क्रोधित थिए । क्षति नेपालीकै भएपनि धुवाँधार विरोध भारतीयको भयो ।
२०६१ मा ईराकमा मारिएका १२ नेपालीको पक्षमा राजधानीमा भएको वितण्डाले संसारकै सातो लियो । यस पटक भारतीय मिडियाहरु नेपाली चेली मनिषा कोइरालाको सातो लिईरहेका छन्, अपमानको विष वर्षा गरिरहेका छन् । तर हाम्रा मुटु भएका सम्पादकहरु न विशेष सम्पादकीय लेख्छन्, न बाईलाईन नै । किन सम्पादकज्यूहरु मनिषा काँग्रेसी, कम्युनिष्ट वा सत्ताकी जयजयकार गर्नेवाली नपरेर हो ?
सिद्धान्ततः कुनै जुलुस, विज्ञप्ती वा आन्दोलन विशेषको पक्षधरता लिनै नहुने, त्यस्तो कल्पनै गर्न नहुने पत्रिकाका सम्पादकहरु , मिडियाका लिडरहरु एकपक्षिय भएर मैदान उत्रेका र व्यवसायिक धर्म निर्वाहबाट च्यूत भएका कैयन उदाहरण यत्रतत्र छन् ।
नेपालका सम्पादकहरुले डा. गोविन्द केसीको पक्षमा पटक पटक जुलुश गरेर प्रतिबन्धित भनिने माईतीघर मण्डलाको हरियो दुबो पहेलो पार्न धेरथोर योगदान गरेका छन् । तर बडे बडे मिडियाका सम्पादक ज्यूहरु, मुटु भएको आत्मा प्रशंसा आफ्नै अखबार र अनलाईनमा लेखेर नथाक्ने सम्पादकहरु किन मनिषाको मानमर्दन विरुद्ध भारतीय मिडियाहरुको निरन्तर प्रहारको प्रतिरोधमा उत्रने आँट गदैनन् ? किन की मनिषा उनीहरुका दृश्य अदृश्य शक्ति र स्रोतकी पूँजी बनिदिने, बनाईदिने पात्र नभएर हो सम्पादक ज्यूहरु ?
मनिषा जननायक विपीकी नातिनी वा राजावादी प्रकाश कोइरालाकी छोरी मात्रै हुन् र नेपालका स्वानामधन्य सम्पादकहरुले उनीविरुद्ध जेहादी छेडिरहेका भारतीय मिडियाहरुलाई रमिते बनेर हेरिदिने वा नजरअन्दाज गरिदिने छुट छ कुनै पनि स्वाभिमानी नेपाली सम्पादकलाई ?
डा. केसी प्रकरणमा अक्सर दर्जन हाराहारी गोलबन्ध हुने सम्पादकहरु अस्ति भर्खर चिनियाँ राजदूतको एक विज्ञप्तीको प्रतिरोधमा १९ थान सम्पादक एकजुट भए । प्रेस स्वतन्त्रता नै चिनियाँ साम्यवादी सत्ताले खोसिदिए झैं उनीहरुले विज्ञप्तीको वाण तेस्र्याए । कोभिड १९ को संक्रमणबाट सुरुमा नै थलिएको चीनलाई जिस्क्याए, काखी बजाए र कार्टुन बनाएर धज्जी उडाउने पश्चिमा मिडियाहरुको लोलीमा नेपाली सम्पादहरुको झुण्डले पनि बोली मिलाए । शायद यो उनीहरुको मुटुकै परिचायक प्रतिरोध थियो ।
तर अहिले मनिषा कोइराला अर्थात् भारतीय चलचित्र जगतमार्फत नेपालको शिर उच्चो राखेकी एक स्वाभिमानी नेपाली नायिकाप्रति मौन छन् मुखभरी पानी हाले जसरी ।
नेपालस्थित भारतीय राजदूतावासको विज्ञापन लिन पल्केका सम्पादकहरुको मुटुले मात्रै हो मनिषामाथिको नाँगो भारतीय आक्रमणलाई नदेख्ने, महसुस नगर्ने । भारतीय दूतावासका भोजभतेर, दान अनुदान र आईसीले कक्रयाएको होईन भने नेपालका सम्पादहरुले बोल्नु, लेख्नु पर्दैन मनिषा कोईराला स्तरकी अन्र्तराष्ट्रिय व्यक्तित्वमाथि भएको बेतुकको हमलाको विरुद्ध ? के हो त चुरो कुरो ठूला मिडियाका ठूला मुटु भएका सम्पादक महोदयहरु ?
नेपालमा मनिषाको राजनीतिक आस्था हिन्दू राष्ट्रको पक्षमा रहयो । उनको राजसंसथाप्रतिको फरक विचार र निष्ठाभाव छ । त्यो उनको वैयतिक स्वतन्त्रा र छनौटको विषय हो । अन्यथा उनले भारतीय बिस्तारवाद र मिचाहा प्रवृत्तिलाई नेपाल सरकारकै हारहारीमा उत्रेर झापड हानिन् । उनी वीर योद्धा हुन जसले भारतीय प्रहारलाई शव्दवाण्बाटै एकैपट्क झसंग हुने गरी तरंग उठाईदिईन् ।
तर यति धेरै भारतीयलाई लगलग हल्लाईदिन सक्ने मनिषाको पक्षमा नेपाली सम्पादकहरु आगो ओकल्न र सत्य पस्कन पनि हात खुट्टा किन कमाईरहेका छन् ? सबैभन्दा पहिलो देश, सबैभन्दा माथि मेरो देशको नारा र संकट पर्दा राष्ट्रवादी मनिषा कोइराला जस्ती साहसी वीरंगनाको पक्षधरता लिन नसक्ने नेपाली समाज साँच्चै टीठलाग्दो वौद्धिक दरिद्रताको उदाहरण नै हो ।
मनिषा सत्ताभित्र वा बाहिर रहेकी कुनै एक पात्र हुन्थिन् भने के नेपाली मिडिया यसैगरी मनिषामाथिको धारबाहिक आक्रमणको दर्शक मात्रै बन्थे ? मनिषाको पछि लागेर कुनै पनि मिडिया हाउसको आर्थिक क्रान्ति सुनिश्चित भएको भए यसैगरी मिडिया उनीविरुद्ध मौनता साधेर बस्थे ? मुटु भएका सम्पादकहरुले जवाफ दिनुपर्छ, समयको यो कठीन घडीमा ।
साना ठानिनेहरु नै सही, राष्ट्रियताको पक्षमा शव्द प्रहारले भारतीय हैकमवादीहरु, बिस्तारवादी र हेपाहा, मिचाहाहरुको सातो लिन सक्ने देशभक्त महानायिका मनिषाको पक्षमा लेख्ने, बोल्ने र प्रतिरक्षा गर्ने हर मानिस, हर मिडिया र वौद्धिक वा राजनीतिक तप्का नै असलीमा देशभक्त चरित्रका प्रतिनिधि हुन् । आखिर वैरीको विरोध नगरी राष्ट्रियता कहाँ बलियो हुन्छ र ?
यो पनि