नेकपाको सचिवालय बैठक बालुवाटारमा जारी
काठमाडौँ । सत्तारुढ नेकपाको सचिवालय बैठक बालुवाटारमा सुरू भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सिट परिवर्तन गरिएको छ ।
यसअघि अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली भन्दा बेग्लै बस्ने व्यवस्था गरिएपनि आजको बैठकमा सँगै बस्ने कुर्सी राखिएको छ । गत बुधबार बसेको बैठकमा बहुमत सदस्यले ओलीलाई दुवै पदबाट राजीनामा दिन भनेपछि प्रधानमन्त्रीले कोरोना संक्रमण सकिएपछि बामदेव गौतमलाई प्रधानमन्त्री बनाउने र वरिष्ठ नेता माधवकुमार नेपाललाई पार्टीमा तेस्रो अध्यक्ष बनाउने प्रस्ताव राखेका थिए । त्यसपछि नेकपाको विवादले नयाँ मोड लिएको छ ।
आजको बैठक अघि प्रधानमन्त्री ओलीले गौतम, सचिवालय सदस्य रामबहादुर थापा र महासचिव विष्णु पौडेलसँग छलफल गरेका थिए । त्यसैगरी सचिवालय बैठक सुरु हुनुअघि प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई समेत भेटेका छन् ।