विदेशबाट फर्केर क्वारेन्टाइनमा नबस्नेलाई कैद सजाय हुने
काठमाडौं । सरकारले विदेशबाट फर्केर क्वारेन्टाइनमा नबस्ने र सम्पर्कमा पनि नआउनेहरुलाई कारबाही गर्ने भएको छ । कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको आइतबार बसेको बैठकले क्वारेन्टाइनमा नबस्ने तथा सरकारको सम्पर्कमा नआउनेहरुलाई कारबाही गर्ने निर्णय गरेको हो । चैत एक गतेबाट नेपाल आएकाहरुलाई होम क्वारेन्टाइनमा बस्न अनिवार्य गरिएको थियो ।
तर अहिले पनि धेरैले त्यसलाई पलना गरेका छैनन् । संक्रमित भएर पनि लुकेर बस्ने, जति सम्पर्क गर्दा पनि नआउने प्रवृत्ति देखिएकाले संक्रमण रोग ऐनको दफाअनुसार कैद सजाय गर्ने निर्णय भएको सचिव नारायण विडारीले जानकारी दिए ।
समितिले क्वारेन्टाइनमा सुरक्षाकर्मी परिचालन गर्ने तयारी गरेको छ । त्यस्तै समितिले चीनबाट ल्याइएका सबै सामग्रीहरू आवश्यक स्थानमा पठाउने निर्णय पनि गरेको छ । बैठकले नेपाल आउने अन्तराष्ट्रिय उडानमा लगाएको प्रतिबन्ध अप्रिल १५ अर्थात् ३ वैशाखसम्म लम्ब्याउने निर्णाय पनि गरेको छ ।
त्यस्तै बैठकले नेपालको सीमा क्षेत्रमा अलपत्र परेका नेपालीलाई प्रवेश दिने भएको छ । तर उनीहरु स्थानीय तहले बनाएको क्वारेन्टाइनमा अनिवार्य बस्नुपर्नेछ । भारतीय सुरक्षाकर्मीले नेपालतर्फ पठाएका तर सीमा नाका बन्दका कारण दशगजा क्षेत्रमा अलपत्र परेका नेपालीलाई प्रवेश दिने निर्णय गरेको सचिव विडारीले जानकारी दिए । बैठकले लकडाउनको समय पनि एक साता थप गर्न सरकारलाई सिफारिस गरेको छ ।