खजुरा क्यान्सर अस्पतालका ४४ उपकरण मर्मत


नेपालगन्ज (बाँके) । बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरामा लामो समयदेखि बिग्रिएर थन्किएका ४४ वटा विभिन्न उपकरण मर्मत गरिएको छ । राष्ट्रिय आविष्कार केन्द्रका प्राविधिकले एक साताको अवधिमा ती उपकरण मर्मत गरेका हुन् ।

क्यान्सर अस्पतालका निर्देशक डा. नीरज भट्टराईका अनुसार मर्मत भएका उपकरण प्रयोगमा ल्याइसकिएको छ । केही उपकरण थप मर्मतका लागि सुझावसहित प्राविधिक टोलीले साथमा लगेको छ । मर्मत भएका सबै उपकरण सञ्चालनमा आएपछि बिरामीलाई उपचारमा सहज भएको उनले बताएका छन् ।

साउनको पहिलो साता राष्ट्रिय आविष्कार केन्द्र र क्यान्सर अस्पतालबिच बिग्रिएका उपकरण मर्मत गर्ने सम्झौता भएको थियो । त्यस लगत्तै आविष्कार केन्द्रका बायोमेडिकल टोली प्रमुख तथा इन्जिनियर उमेश किरातीको नेतृत्वमा पाँच सदस्यीय टोलीले उपकरण मर्मत गरेको हो ।

मर्मत गरिएका उपकरणमा क्यान्सर परीक्षण तथा उपचारमा प्रयोग हुने विभिन्न मेसिन रहेका छन् । ती उपकरण पुनः सञ्चालनमा आएपछि बिरामीको उपचार अझ छिटो र सहज भएको अस्पतालले जनाएको छ ।

इन्जिनियर किरातीका अनुसार मर्मत गरिएका उपकरणमा दुई वटा एक्स–रे मेसिन, एउटा अल्ट्रासाउन्ड मेसिन, तीन वटा भेन्टिलेटर, एउटा एनेस्थेसिया मेसिन, एउटा केमो क्याबिनेट, माइक्रोस्कोप र ल्याप्रोस्कोपी टावरलगायत छन् ।

ल्याप्रोस्कोपी टावरका केही सामान बाहिरबाट मगाउनुपर्ने भएकाले पूर्ण मर्मत हुन बाँकी छ । त्यही कारण मेमोग्राफ मर्मतमा पनि समस्या देखिएको छ । अन्य दुई उपकरण मर्मतका लागि काठमाडौँ पठाइएको छ ।

स्थानीय अगुवा शिवराज श्रेष्ठले उपकरण मर्मतपछि अब साना परीक्षणका लागि पनि बिरामीले बाहिर जानुपर्ने बाध्यता कम भएको बताएका छन् ।

उनले सरकारले राष्ट्रिय आविष्कार केन्द्रलाई अझ सशक्त बनाएर देशभरका अस्पतालका बिग्रिएका उपकरण मर्मत तथा नयाँ उपकरण निर्माणमा सक्रिय बनाउनुपर्ने बताएका छन् । गत वर्ष भेरी अस्पतालका १२ वटा विभिन्न उपकरण पनि मर्मत गरिएको थियो ।