काठमाडौँ महानगरपालिकाभित्र ४६ हजार किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप दिइने



काठमाडौँ । काठमाडौँ महानगरपालिकाभित्र ४६ हजार ९८५ जना किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप दिने लक्ष्य राखिएको छ ।

सामुदायिक विद्यालय, संस्थागत विद्यालयमा अध्ययरत कक्षा ६ देखि १० सम्मका छात्राहरू र विद्यालय नजाने १० देखि १४ वर्षसम्मका किशोरीहरूलाई यो खोप दिइनेछ ।

महानगरपालिकाको स्वास्थ्य विभागले सामुदायिक र संस्थागत गरेर ४९९ वटा विद्यालयका छात्राहरुको संख्या गणना गरेको छ । विभागको विरणमा ७९ वटा सामुदायिक र ४२० वटा संस्थागत विद्यालय छन् । यी विद्यालयहरुमा ४२ हजार ५७ जना छात्रा अध्ययनरत छन् । विद्यालयबाहिर ४ हजार ९२८ जना किशोरीहरु रहेको विवरणमा उल्लेख छ ।

आज बसेको खोप समन्वय समितिको वैठकमा, महिला स्वास्थ्य र खोपका विषयमा कुरा गर्दै महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले, दीर्घ रोग रोकथामका लागि महानगरपालिकाले सञ्चालन गरेका सहभागितामूलक कार्यक्रममा आमनागरिकबाट सहयोग प्राप्त हुने अपेक्षा गरिन् ।

जनस्वास्थ्य कार्यालय काठमाडौँका वरिष्ठ जनस्वास्थ्य प्रशासक सतिश विष्टका अनुसार प्रति १ लाख महिलामध्ये ४ भन्दा कम संख्यामा क्यान्सर सीमित गराउने लक्ष्य अनुरुप खोप सेवा सञ्चालन गरिएको हो । ‘विश्व स्वास्थ्य संगठनले शिफारिस गरेको र नेपालका औषधि व्यवस्था विभागमा दर्ता भएको यो खोप सुरक्षित छ ।’ विष्टले भने ।

पाठेघरको मुखको क्यान्सरबाट बच्न ३ चरणका उपाय छन् । १० वर्षदेखि १४ वर्षसम्म उमेरका किशोरीहरूले एच.पि.भी. खोप लगाउनु पहिलो उपाय हो । दोस्रो उपायमा ३० वर्षभन्दा माथिको उमेरका हरेक महिलाले पाठेघरको मुखको परीक्षण (स्क्रिनिङ्ग) गराउनु पर्छ । तेस्रोमा पाठेघरको मुखको क्यान्सर रोग पहिचान भएका महिलाले उपचार गराउनु पर्छ । बाल कल्याण महाशाखाका निर्देशक डा. विवेकलाल कर्ण भन्छन्, ‘नेपाल सरकारले यी ३ वटै चरणमा ९० प्रतिशत कभरेज गर्ने लक्ष्य राखेको छ । यसका लागि स्थानीय सरकारको भूमिका महत्वपूर्ण छ ।’

स्वास्थ्य विभागका प्रमुख दिपककुमार केसीका अनुसार महानगरपालिकामा माघ २२ गते र माघ २५ गते गरेर दुई चरणमा अभियान सुरु हुनेछ । पहिलो चरणमा वडा नं. १, २, ५, ८, ११, १२, १७, १८, १९, २०, २१, २२, २३, २४, २५, २७, २८ र ३० वडामा खोप सुरु हुनेछ । वडा नं. ३, ४, ६, ७, ९, १०, १३, १४, १५, १६, २६, २९, ३१ र ३२ मा माघ २५ गतेदेखि खोप कार्यक्रम सञ्चालन हुनेछ ।

वडा क्लिनिक र स्वास्थ्य प्रवर्धन केन्द्रले विद्यालयहरुसँग समन्वय गरेर खोप केन्द्र निर्धारण गर्नेछन् । जनस्वास्थ्य अधिकृत तथा खोप कार्यक्रमका फोकल पर्सन मैयाँ सैजुका अनुसार विद्यालयमा खोप लिन छुटेका र विद्यालयभन्दा बाहिरका किशोरीहरुका लागि कार्यक्रमको अन्तिम दिन स्वास्थ्य प्रवर्धन केन्द्रबाट खोप दिइनेछ ।

पाठेघरको मुखको क्यान्सरका कारण नेपालमा प्रत्येक दिन ४ जना महिलाहरूको मृत्यु भइरहेको छ । महिलाहरुलाई क्यान्सर मृत्यु हुनेमा पाठेघरको मुखको क्यान्सर पहिलो कारण हो । यो क्यान्सर ह्यूमन प्यापिलोमा भाइरसको संक्रमणबाट हुन्छ ।

यो भाइरसलाई एच.पि.भी. भाइरस भनिन्छ । एचपिभी भाइरसबाट संक्रमित व्यक्तिसँग यौन सम्पर्क हुँदा यो भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्न सक्छ । यसबाट पटक पटक संक्रमण भएर २० वर्षसम्म संक्रमण रह्यो भने पाठेघरको मुखको क्यान्सर हुन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भक्तपुर अस्पताल स्थापनाको १२१ वर्षमा सिटी स्क्यान सेवा सुरू

भक्तपुर । वीर अस्पतालपछि स्थापना भएको दोस्रो पुरानो अस्पतालका रूपमा चिनिएको भक्तपुर अस्पतालले

काभ्रेका तीन स्थानीय तह पूर्ण खोप सुनिश्चित

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको तीन स्थानीय तहलाई यस आर्थिक वर्षमा पूर्णखोप सुनिश्चित घोषणा गरिएको

जापानले धुलिखेल अस्पतालमा ट्रमा सेन्टर बनाउन नेपाललाई थप ५७ करोड ३० लाख येन अनुदान उपलब्ध गराउने

काठमाडौँ । ‘धुलिखेल अस्पताल ट्रमा एण्ड इमर्जेन्सी सेन्टर (आन्तरिक अनुदान) को सुधार परियोजना’

स्वास्थ्य मन्त्रालय र नेत्रज्योति संघबीच आँखा उपचार सेवा विस्तार गर्न सम्झौता

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नेपाल नेत्रज्योति संघबीच आँखा उपचार सेवा