तनहुँका ४५ प्रतिशत नागरिक स्वास्थ्य बीमामा आबद्ध



तनहुँ । तनहुँमा ४५ प्रतिशत नागरिक स्वास्थ्य बीमामा आबद्ध भएका छन् । जिल्लास्थित स्वास्थ्य बीमा बोर्डका अनुसार जिल्लाका तीन लाख २१ हजार एक सय ५३ जनामध्ये एक लाख ४५ हजार सात सय ९८ जना स्वास्थ्य बिमामा आबद्ध भएका हुन् ।

विपन्न नागरिकतर्फ दुई हजार पाँच सय ८९ परिवार र साधारणतर्फ २४ हजार आठ सय ८६ परिवारको स्वास्थ्य बीमा गरिएको कार्यालयका संयोजक सिर्जना पोख्रेलले जानकारी दिइन् । उनका अनुसार १९ हजार नौ सय ३३ ज्येष्ठ नागरिक, एक सय ८७ एचआइभी सङ्क्रमित, चार जना क्षयरोगी, छ सय ५५ अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य बीमा भएको छ ।

अझै ५५ प्रतिशत नागरिक बीमाको पहुँच बाहिर रहेकाले जनचेतना जगाएर आबद्ध गराउने योजना रहेको संयोजक पोख्रेलले बताइन् । जनचेतनाको कमी र गरिबीका कारण अझै पनि ठुलो जनसङ्ख्या स्वास्थ्य बीमामा आबद्ध हुन नसकेको उनको भनाइ छ ।

सर्वसाधारणले प्रथम सेवा विन्दुमा विशेषज्ञ स्वास्थ्यकर्मी, औषधि र उपकरणको पर्याप्त सुविधा नहुँदा सबै प्रकारका स्वास्थ्य सेवा लिनबाट वञ्चित भएका संयोजक पोख्रेलको बुझाइ छ । उनका अनुसार जिल्लामा स्वास्थ्य बीमामा आबद्ध भएकालाई प्रथम सेवा विन्दु ६ वटा रहेका छन् ।

पुरनडिही प्राथमिक स्वास्थ्य केन्द्र, भिमाद प्राथमिक स्वास्थ्य केन्द्र, बन्दीपुर अस्पताल, जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्र, दमौली अस्पताल र आँबुखैरेनी अस्पतालबाट सर्वसाधारणले स्वास्थ्य बीमाको सुविधा पाउने गरेका उनले जानकारी दिइन् ।

स्वास्थ्य बीमा कार्यक्रममा सहभागी हुन पाँच जनासम्मको परिवारले वार्षिक रूपमा रु तीन हजार पाँच सय तिर्नुपर्दछ । परिवारमा पाँच भन्दा बढी सदस्य भएमा प्रति सदस्यको रु सात सयका दरले थप रकम तिर्नुपर्ने प्रावधान रहेको संयोजक पोख्रेलले जानकारी दिइन् । स्वास्थ्य बीमा नियमावली २०७५ ले ७० वर्ष उमेर पूरा भएका ज्येष्ठ नागरिकलाई सङ्घीय सरकारले प्रिमियम रकम तिरेर निःशुल्क स्वास्थ्य बीमा गर्दै आएको छ ।

सरकारले बीमामा आबद्ध पाँच सदस्यलाई वार्षिक रु एक लाख बराबरको स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ । नेपालको संविधान, २०७२ को धारा ३५ मा आधारभूत स्वास्थ्य सेवालाई नेपाली नागरिकको मौलिक हकका रूपमा स्थापित गरेपछि नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउन आर्थिक वर्ष २०७२/७३ देखि यो कार्यक्रम लागू गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कोरोना भाइरस संक्रमित एक महिलाको विराटनगरमा उपचारका क्रममा मृत्यु

विराटनगर । विराटनगरमा कोरोना भाइरस संक्रमित एक महिलाको मृत्यु भएको छ । उपचारका

मनमोहन प्राविधिक विश्वविद्यालयद्वारा आयुर्वेदिक औषधि उत्पादनको तयारी

मोरङ । मोरङको बूढीगङ्गा गाउँपालिकास्थित मनमोहन प्राविधिक विश्वविद्यालयले आयुर्वेदिक औषधि उत्पादनको तयारी सुरु

५ वर्षभित्रमा १२ हजार स्वास्थ्य जनशक्ति थप गरिने

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले साउनदेखि निर्माण सम्पन्न आधारभूत अस्पताल सञ्चालनमा

सङ्खुवासभामा ५० शय्याको अस्पताल सञ्चालनमा

किमाथाङ्का  । सङ्खुवासभामा ५० शय्याको जिल्ला अस्पताल निर्माण पूरा भएपछि हस्तान्तरण गरिएको छ