डेङ्गुप्रति सचेतना अपनाउन सरकारको आग्रह



 

काठमाडौँ । गर्मीयाम सुरु भएसँगै डेङ्गुको जोखिम पनि बढ्न थालेको छ । गर्मी बढेसँगै मानिसले पानी सङ्कलन गरेर राख्ने र सङ्कलन गरिएको पानीमा लामखुट्टेले डेङ्गुको सङ्क्रमण गराउने भएकाले जोखिम बढ्दै गएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालले गर्मीसँगै पानी पनि पर्न सुरु हुने भएकाले डेङ्गुको जोखिम बढ्ने बताए । डेङ्गुको सङ्क्रमणबाट बच्न सचेतना अपनाउनुपर्नेमा उनले जोड दिए ।

“गर्मीसँगै पानी सङ्कलन गरेर राख्ने गरिन्छ । यसरी सङ्कलन गरिएको पानीमा लामखुट्टेले फुल पार्दछ । सफा पानीमा त्यही लार्भा बन्ने र मानिसलाई टोक्ने गर्दछ”, डा दाहालले भने । उनले जोखिम हुने ठाउँको पहिचान गरेर लामखुट्टे मार्न अभियान सञ्चालनका लागि स्थानीय तहलाई निर्देशन दिइसकिएको बताए ।

“माघयता डेङ्गु देखिएका ३३ स्थानीय तहलाई पत्राचार गरेर लामखुट्टे खोज र नष्ट अभियान सञ्चालन गर्न निर्देशन दिएका छौँ”, डा दाहालले भने, “अन्य स्थानीय तहलाई पनि डेङ्गुबारे सचेतना जगाउन आग्रह गरेका छौँ ।” उनका अनुसार डेङ्गु पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ती फुलबाट लार्भा निस्कन्छ र त्यही लार्भा वयस्क भएपछि टोकेमा डेङ्गु लाग्दछ ।

डेङ्गु हुँदा उच्च ज्वरो आउने, टाउको, आँखाको गेडी, ढाड, शरीर, घुँडाका जोर्नी दुख्ने, पिँडौलाको मासु दुख्नेलगायत लक्षण देखा पर्ने भन्दै डा दाहालले लक्षण देखापरेमा तत्काल चिकित्सकको सल्लाह लिन आग्रह गरे । लामखुट्टेबाट बच्नका लागि सधैँ झुल टाँगेर मात्र सुत्ने, खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउन, घरको झ्याल ढोकामा जाली हाल्न उनले अनुरोध गरे ।

“सम्भव भएसम्म लामखुट्टे भगाउने धूप वा मलमको प्रयोग गर्ने, घरपालुवा पशुपक्षी व्यवस्थित ढङ्गले पाल्ने र घर वरिपरि गमला, टायर वा कुनै पनि खुला भाँडामा पानी जम्न दिनुहुँदैन”, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग शाखाका प्रमुख डा दाहालले भने ।

उनका अनुसार सन् २०२३ मा करिब ५१ हजार एक सय ४३ र सन् २०२२ मा ५४ हजार ६ सय ३० जनामा डेङ्गु देखिएको थियो । नेपालमा पहिलो पटक सन् २००४ मा एक जनामा डेङ्गु देखिएको थियो । सन् २००५ मा भने डेङ्गुका बिरामी देखिएनन् । त्यसपछि सन् २००६ देखि डेङ्गुको सङ्क्रमण देखिँदै आएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
वैशाख ३१ मा बालबालिकाका लागि ‘बृहत खोज र खोप अभियान’

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियमित खोप लगाउन छुटेका बालबालिकालाई आगामी वैशाख

हुम्लामा आयोजित स्वास्थ्य शिविरमा एक हजार आठ सयभन्दा बढीले लिए सेवा

सिमकोट (हुम्ला) । हुम्लाको मध्यभागमा रहेको सर्केगाड गाउँपालिकाको सर्केगाडमा बृहत् निःशुल्क स्वास्थ्य शिविर

चितवनमा रगत अभाव

नारायणगढ चितवन) । गर्मी बढेसँगै चितवनमा रगतको अभाव देखिएको छ । गर्मीले गर्दा

काठमाडौँमा वायु प्रदूषणको स्तर उच्च, बाहिर निस्कदा मास्क लगाउन मन्त्रालयको आग्रह

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौँमा वायु प्रदूषण बढेकाले मास्क लगाउन आग्रह