रविसँग चिनियाँ राजदूतले भने-खोज, उद्दारदेखि पुनःनिर्माणसम्म नै चीन नेपालको साथमा रहन्छ


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेसँग नेपालका लागि चीन राजदूत झाङ माओमिङले भेटवार्ता गरेका छन् । सभापति लामिछानेको बुढानिलण्ठस्थित निवासमा मंगलबार भएको भेटमा भोटेकोशी बाढीबाट उत्पन्न परिस्थितिबारे छलफल भएको रास्वपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिए ।

भेटमा राजदूत झाङले भोटेकोसी बाढीबाट भएको क्षतिबारे दुःख व्यक्त गरे । खोज, उद्दारदेखि पुनःनिर्माणसम्म नै नेपालको साथमा रहेको बताउँदै उनले नेपाललाई जुनसुकै ढङ्गबाट सहयोग गर्न चीन तयार रहेको जानकारी दिए । विपद्लगत्तै उद्दारकर्मी, डिएनए विशेषज्ञलगायत आवश्यक सबै सहयोग चीनले गरिरहेको र त्यो आवश्यकता रहेसम्म जारी रहने जानकारी उनले दिए ।

सभापति लामिछानेले विपद्का समयमा चीनले गर्दै आएको सहयोगप्रति आभार व्यक्त गरे । नेपालको विपद् जोखिम न्यूनीनकरण तथा व्यवस्थापनमा चीनको आर्थिक तथा प्राविधिक सहयोग महत्त्वपूर्ण हुने बताउँदै आगामी दिनमा थप सहकार्यको आग्रह गरे ।