कसले गर्दैछ श्रम संस्कृति पार्टीलाई सखाप पार्ने काम ?


काठमाडौँ । श्रम संस्कृति पार्टीका नेता सुदन किराँतीले नेताहरूबीच खेल्ने, द्वन्द्व गराउने र स्वार्थको रोटी सेकाउने नेपाली राजनीतिको एउटा खतरनाक पुरानो प्रवृत्ति भएको बताएका छन् ।

सामाजिक संजालमार्फत किराँतीले पार्टीमा यो प्रवृत्तिले कुनै स्थान पाउन नहुने बताएका हुन् । उनले भनेका छन्, ‘आदरणीय ! श्रमदाता तथा शुभचिन्तकहरु कोही भ्रममा नपरौं । नेताहरुको बीचमा खेल्ने, द्वन्द्व सिर्जना गराउने र त्यही द्वन्द्वबाट आफ्नो स्वार्थको रोटी सेकाउने नेपाली राजनीतिको एउटा खतरनाक पुरानो प्रवृत्ति हो । यो प्रवृतिको भुक्तभोगी र साक्षी हामी स्वयं हौं । यसबाट हामीलाई कुनै फाइदा हुँदैन । त्यसैले, हाम्रो पार्टीमा यो प्रवृत्तिले कुनै स्थान पाउनु हुँदैन ।’

उनले यतिबेला पार्टीविरुद्ध घेरा हाल्ने, भ्रम छर्ने र सखाप पार्ने उद्देश्यसहित विभिन्न गतिविधि भइरहेका भन्दै सचेत रहन नेताहरुलाई आग्रह गरेका छन् ।

उनले भनेका छन्, ‘भनिन्छ, ज्ञानहरुबाट नै विज्ञान बन्छ । एक जिवन्त र सृजनशील पार्टीमा आ–आफ्ना मत, दृष्टिकोण र बहस हुनु स्वभाविक हो । तर फरक मतलाई व्यक्तिगत स्वार्थ, गुटगत खेल र पार्टी कमजोर पार्ने हतियार बन्न दिनु हुँदैन भन्नेमा हामी सचेत छौं । यतिबेला हाम्रो पार्टीको विरुद्ध घेरा हाल्ने, भ्रम छर्ने र सखाप पार्ने उद्देश्यसहित विभिन्न गतिविधि भइरहेका छन् । त्यसैले हामी अझ बढी सचेत र एकताबद्ध बन्न जरुरी छ । यस्तो बेला हाम्रो मूल कार्यभार भ्रम चिर्ने, घेरा तोड्ने र पार्टीलाई सुरक्षित अघि बढाउने हुन्छ ।’’