सांसद राजु पाण्डेलाई ‘सडकछाप’ भन्दै पूर्व जर्नेल बस्नेत आक्रोशित


काठमाडौँ । नेपाली सेनासम्बन्धी पछिल्लो घटनाक्रमलाई लिएर अवकाशप्राप्त सहायक रथी डा. प्रेम सिंह बस्नेतले सार्वजनिक रूपमा गम्भीर असन्तुष्टि व्यक्त गरेका छन् । सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको लामो अभिव्यक्तिमा उनले सांसद राजु पाण्डेको गतिविधिका कारण नेपाली सेनाको संस्थागत गरिमा, निर्णय प्रक्रिया र मनोबलमाथि गम्भीर असर परेको दाबी गरेका छन् ।

उनले उक्त घटनाले भविष्यमा राजनीतिक नेतृत्वले सैनिक संरचना र निर्णय प्रक्रियामा मनपरी हस्तक्षेप गर्न सक्ने गलत नजिर स्थापित भएको आरोप लगाएका छन्। साथै उच्च तहका सैनिक नेतृत्वले सेनाको संस्थागत प्रतिष्ठा र स्वाभिमानको रक्षा गर्न अपेक्षित भूमिका निर्वाह गर्न नसकेको भन्दै तीव्र आलोचना गरेका छन्।

अभिव्यक्तिमा प्रधानमन्त्री तथा रक्षामन्त्री, राष्ट्रपतिलगायत संवैधानिक नेतृत्वको मौनताप्रति पनि प्रश्न उठाइएको छ। उनले नेपाली सेनाका पूर्वउच्च अधिकृतहरूबीच संस्थागत एकताको अभाव रहेको उल्लेख गर्दै, नेपाल प्रहरीका अवकाशप्राप्त नेतृत्वले संगठनका विषयमा सामूहिक रूपमा आवाज उठाउने अभ्यासबाट सिक्नुपर्ने धारणा व्यक्त गरेका छन् ।

यस्तो छ बस्नेतको भनाई

गएराति २ बजेपछि सुत्न सकिन।
कारणहरू
१) अस्तिको सडकछाप र हाल सांसद बनेका राजु पाण्डेले नेपाली सेनाको एउटा संगठनलाई नै हराइछाडे । जसरी मातृकाप्रसाद कोइरालाले नेपाली सेनाको मानार्थ महारथी पाएका थिए, अब सांसद राजु पाण्डेलाई पनि मानार्थ महारथी दर्जा दिन जोडदार सिफारिस गरेको छु। किनकी यी विजेता बने। सडकमा राजु पाण्डेको जयजयकार मनाइएका भिडियोहरू देखिन्छन्। यस्तो नजिर बस्यो कि अब कुनै पनि नेताले आर्मीको ब्यारेक पुगेर मनलाग्दी आदेश दिन पाउनेछन्। नेपाली सेनाको सुझाव, मत, अभिमत सुन्नुपर्ने र सैनिक नियमलाई मान्यता दिनुपर्ने जरुरी रहेन।

) वार कलेज लगायत २५ भन्दा बढी तालिम गर्ने, छातीभरि एक डोको तक्मा झुन्ड्याउने र ब्यारेकभित्र अरिङ्गाल हुने हाम्रा १ तारे, २ तारे, ३ तारे र ४ तारेहरूमा रहेको अति न्यून सिपाहीपन (केही बाहेक) बारे आम नेपालीले दुत्कारेका छन्। सबैभन्दा ठूलो कुरा, नेपाली सेनाले अब आफ्नो ब्यारेक जोगाउने, हतियार बचाउने र पर्दा लड्नुपर्ने अर्थात् गोली हान्ने मनोबलमा ह्रास बढेको छ।

) एमाले (ओली समूह), माओवादी (पुरानै वर्गशत्रु ठान्छ), सीके. राउत र यसको पार्टी लगायतले नेपाली सेनालाई सत्तोसराप गरिरहेको अवस्थामा रास्वपा र प्रधानमन्त्री तथा रक्षामन्त्री बालेन साहले राजु पाण्डे नामक सांसद लगाएर नेपाली सेनामाथि “रणनीतिक अवमूल्यन” गरी तेजोबध समेत गरेका छन् । प्रधानमन्त्री तथा रक्षामन्त्री बालेनकै कारणले नेपाली सेनालाई अझै ओरालो लगाउन मद्दत पुगेको छ। यदि श्री ५ महाराजाधिराजको पालामा हुन्थ्यो भने यस्ता अन्यायी, कानुन मिच्ने अनि सेनालाई जे पायो त्यही बोल्ने सांसदको पद खोसिन्थ्यो। यो बारेमा रक्षामन्त्री बालेन मौन अनि प्रधानसेनापति मौन रहनु दुर्भाग्य हो। बालेन रक्षामन्त्री हुन्। यिनले किन केही बोलेनन् ?

४) नेपाली सेनाका अभिभावक अर्थात् सुप्रिम कमाण्डर–इन–चीफ राष्ट्रपति हुन्। यिनलाई सेनाले श्री १० महाराजजस्तै सम्मान दिन्छ। तर यिनको तर्फबाट पनि केही भएन ?
संगीन कुरा

१) नेपाल प्रहरीका हक, हित र न्यायका लागि अवकाशप्राप्त आईजीपी लगायतहरू एक ठाउँमा उभिएर नेपाल सरकार र अन्य निकायहरूमा संयुक्त आवाज उठाउँछन्। न्याय लिएका छन्। भर्खरको उदाहरणः नेपाल प्रहरी तालिम केन्द्र उठाउन लागेकोमा यिनकै पहलमा समेत सोही ठाउँमा थामियो । हेर्नुस्, हाम्रा अवकाशप्राप्त ४ तारेहरूको न एकता छ, न यिनले सेनाको बारेमा एक शब्द बोल्छन् । यिनका लागि नेपाली सेना भनेको कौडी बराबर छ। अनि म जस्ता सेनाका लागि बोल्ने–लेख्नेहरूका चाक पछाडि कुरा काट्छन्। यस्ता ४ तारेहरू नेपालमा हुनु नेपाली सेनाका लागि दुर्भाग्य हो।

२) नेपाली सेना समग्रलाई दोष दिनु पाप लाग्नेछ। तर फस्ट क्लास र सोभन्दा माथिका सैनिक अधिकृतहरूले सेनामाथि दुव्र्यवहार हुँदा, मनपरी गाली गर्दा समेत तपाईंहरू कत्तिसम्म सहनुहुन्छ? मलाई पक्का विश्वास छ कि एउटा कम्पनी हवल्दार मेजर र बटालियन हवल्दार मेजरले नेपाली सेनाको मान–इज्जत फर्काउन तपाईंहरूको भन्दा बढी काम गर्नेछन्। यी नामर्द छैनन्। यिनमा इख छ, विष छ।
अन्तमा

) मलाई जे गर्नुस्, जसो गर्नुस्। म कारबाही भोग्न तयार छु। म पानीमरुवा सैनिक कमाण्डरहरू देख्न चाहन्न। यसको मतलब सबै जना काँतर भनेको होइन। केही अरिङ्गालहरू पनि छन्। तपाईंहरूकै कारणले नेपाली सेनाको मनोबल गिरेको देख्न चाहन्न। यो सेना अरिङ्गाल थियो। तपाईंहरूले झिँगा नबनाउनुस्।

२) म सैनिक इतिहास लेख्ने सिपाही हुँ। तपाईंहरूको लायकी र नालायकीपन लेखेरै छाड्नेछु।

) आज बिहान नेपाली सेनाका अवकाशप्राप्त प्र.से., कर्नेल साब, सुबेदार साबदेखि तल्लो दर्जाका ९ जनाले फोन गरेर हिजोको घटना र नेपाली सेनाको इज्जतको सवालमा चासो राख्नुभयो। सेनाको इज्जत गयो भनेर मन दुखाउनुभयो। तपाईंहरूमा सेनाको माया देखेँ। सबैलाई ससम्मान सलाम छ !

मेरो देश – मेरो सेना : मेरा गौरव हुन् !

– प्रेम