राष्ट्र, धर्म र मानवताको रक्षा गरौँ : राष्ट्रिय सुरक्षाप्रति एकताको आह्वान


– शैलेन्द्र कुमार श्रेष्ठ

नेपाल केवल हिमाल, पहाड र तराईले बनेको भौगोलिक भूभाग मात्र होइन, यो ऋषि–मुनिहरूको तपोभूमि, भगवान् बुद्धको जन्मभूमि, भगवान् पशुपतिनाथको पुण्यभूमि, जनकजननी सीताको पावन भूमि तथा करुणा, सहिष्णुता र आध्यात्मिक चेतनाले अनुप्राणित राष्ट्र हो। यही आध्यात्मिक शक्ति, सांस्कृतिक विविधता र राष्ट्रिय एकताले शताब्दीयौँदेखि नेपालको स्वाभिमान, स्वतन्त्रता र अस्तित्वलाई अक्षुण्ण राख्दै आएको छ।

वर्तमान समयमा देशका केही स्थानमा देखिएका धार्मिक तनाव, हिंसा, तोडफोड तथा अशान्तिका घटनाले सम्पूर्ण नेपालीलाई चिन्तित बनाएको छ। यस्ता घटनाले सामाजिक सद्भाव, पारस्परिक विश्वास, राष्ट्रिय एकता तथा शान्तिपूर्ण सहअस्तित्वमा नकारात्मक असर पार्न सक्छन्। हिंसाले कुनै धर्मको गौरव बढाउँदैन, यसले मानवता, समाज र राष्ट्रलाई मात्र पीडा दिन्छ। त्यसैले आजको आवश्यकता दोषारोपण होइन, आत्मसंयम; प्रतिशोध होइन, मेलमिलाप, विभाजन होइन, राष्ट्रिय एकता हो।
यस दुःखद घटनामा ज्यान गुमाउनु भएका देशका भविष्य होनहार, सपनाले भरिएका नेपाली युवाहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। परमात्माको असीम कृपाले उहाँहरूका दिव्य आत्माले चिरशान्ति र सद्गति प्राप्त गरून्। शोकसन्तप्त परिवारजनमा धैर्य, शक्ति र आत्मबल प्राप्त होस् परमात्माको कृपाले दिवङ्गत आत्माहरूले चिरशान्ति प्राप्त गरून् तथा शोकसन्तप्त परिवारजनमा धैर्य, शक्ति र साहस प्राप्त होस्। एउटा नेपालीको मृत्यु कुनै एक परिवारको मात्र क्षति होइन, सम्पूर्ण राष्ट्रकै अपूरणीय क्षति हो। यस्तो पीडादायी घटना फेरि कहिल्यै नदोहोरियोस् भन्ने हाम्रो सामूहिक प्रार्थना हो।

पूर्व सुरक्षा प्रमुखका रूपमा लामो राष्ट्रिय सेवाका क्रममा मैले एउटा गहिरो सत्य अनुभूत गरेको छु-राष्ट्रिय सुरक्षा केवल सीमा सुरक्षा वा सुरक्षा निकायहरूको दायित्व मात्र होइन; यो नागरिकबीचको विश्वास, सामाजिक सद्भाव, विधिको शासन, नैतिक अनुशासन र राष्ट्रिय एकताको बलियो आधारमा टिकेको हुन्छ। समाजभित्र घृणा, अविश्वास र विभाजन बढ्दै जाँदा त्यसको असर अन्ततः राष्ट्रिय सुरक्षामै पर्छ। त्यसैले सामाजिक सद्भावको रक्षा गर्नु राष्ट्रिय सुरक्षाको पहिलो आधार हो।

नेपालको इतिहासले सधैँ प्रमाणित गरेको छ कि चार वर्ण, छत्तीस जात, विभिन्न भाषा, धर्म, संस्कृति र परम्परामा आबद्ध नेपालीहरू कठिनभन्दा कठिन परिस्थितिमा पनि राष्ट्रलाई सर्वोपरि राखेर एकताबद्ध भएका छन्। हिन्दू, बौद्ध, मुस्लिम, किराँत, इसाई तथा सबै आस्था र समुदायका नेपालीहरूले परस्पर सम्मान, सहिष्णुता र मेलमिलापका साथ साझा मातृभूमिको रक्षा गरेका छन्। यही विविधताभित्रको एकता नेपालको वास्तविक शक्ति र विश्वसामु हाम्रो अनुपम पहिचान हो।

हाम्रा सनातन जीवनमूल्य ‘वसुधैव कुटुम्बकम’, ‘सर्वे भवन्तु सुखिनः’ र ‘अहिंसा परमो धर्मः’ ले सम्पूर्ण मानवजातिलाई प्रेम, करुणा, क्षमा र सहअस्तित्वको मार्ग देखाउँछन्। साँचो धर्मले मानिसलाई जोड्छ, छुट्याउँदैन; साँचो आध्यात्मिकताले प्रेम र सेवाको मार्ग देखाउँछ, घृणा र हिंसाको होइन।

आज धर्मका नाममा विभाजित हुने समय होइन, राष्ट्रका नाममा एक हुने समय हो। हामी सबैभन्दा पहिले नेपाली हौँ। हाम्रो धर्म, भाषा, जाति र संस्कृति फरक भए पनि हाम्रो राष्ट्रिय आत्मा एउटै छ। हाम्रो विविधता नै हाम्रो सौन्दर्य हो र हाम्रो एकता नै हाम्रो सबैभन्दा ठूलो शक्ति हो। आउनुहोस्, चार वर्ण, छत्तीस जात, सबै भाषा, धर्म, संस्कृति र समुदायका नेपालीहरू प्रेम, विश्वास, सहिष्णुता र आत्मीयताको दिव्य सूत्रमा आबद्ध भई बज्रसरी राष्ट्रिय एकताको रूपमा उभिऔँ। जब हामी यसरी एकढिक्का हुन्छौँ, कुनै पनि विभाजनकारी सोच, हिंसा वा वैमनस्यले हाम्रो सामाजिक सद्भाव, राष्ट्रिय एकता र राष्ट्रिय सुरक्षालाई कमजोर बनाउन सक्दैन।

यही चेतना, यही आत्मविश्वास र यही साझा राष्ट्रिय संकल्पका साथ हामी सबैले शान्त, सुरक्षित, समृद्ध र गौरवशाली नेपालको निर्माणमा हातेमालो गर्नु आजको परम आवश्यकता हो।

सामाजिक सद्भाव, राष्ट्रिय सुरक्षा र सुदृढ सीमा व्यवस्थापन:

राष्ट्रिय सुरक्षा आज केवल सीमा रक्षा वा सुरक्षा निकायहरूको जिम्मेवारीमा मात्र सीमित विषय होइन। बदलिँदो विश्व परिवेशमा राष्ट्रिय सुरक्षा भनेको नागरिकको सुरक्षा, सामाजिक सद्भाव, राष्ट्रिय एकता, आर्थिक स्थायित्व, कानुनको शासन तथा राष्ट्रिय मनोबलको समग्र संरक्षण पनि हो। जब समाजभित्र अविश्वास, घृणा र विभाजन बढ्छ, त्यसको प्रत्यक्ष प्रभाव राष्ट्रिय सुरक्षामै पर्छ। त्यसैले सामाजिक सद्भावको संरक्षण गर्नु राष्ट्रिय सुरक्षाको आधारभूत दायित्व हो।

नेपालको सबैभन्दा ठूलो शक्ति यसको धार्मिक, सांस्कृतिक र सामाजिक विविधता हो। यही विविधताभित्रको एकताले नेपाललाई संसारमा विशिष्ट पहिचान दिलाएको छ। त्यसैले कुनै पनि अफवाह, उत्तेजना, घृणा वा साम्प्रदायिक वैमनस्य फैलाउने गतिविधिप्रति सबै नागरिक सचेत, संयमी र जिम्मेवार बन्न आवश्यक छ। सत्य, विवेक र संवादलाई प्राथमिकता दिँदै राष्ट्रिय हितलाई सदैव सर्वोपरि राख्नु आजको आवश्यकता हो।

राष्ट्रिय सुरक्षालाई अझ सुदृढ बनाउन सीमा व्यवस्थापनलाई समयानुकूल, वैज्ञानिक र प्रविधिमैत्री बनाउँदै लैजानु आवश्यक छ। नेपालको खुला सीमाको ऐतिहासिक र सामाजिक विशेषतालाई सम्मान गर्दै वैध आवागमनलाई सहज बनाउनुका साथै गैरकानुनी प्रवेश, मानव बेचबिखन, संगठित अपराध, अवैध आर्थिक गतिविधि तथा समाजमा धार्मिक वा साम्प्रदायिक वैमनस्य फैलाउने उद्देश्यले हुने कुनै पनि गैरकानुनी गतिविधिलाई प्रभावकारी रूपमा रोक्न आवश्यक नीति, कानुनी व्यवस्था र संस्थागत संयन्त्रलाई अझ सुदृढ बनाइनुपर्छ।

नेपालको सार्वभौमसत्ता, सार्वजनिक शान्ति, सामाजिक सद्भाव र राष्ट्रिय सुरक्षामा प्रतिकूल प्रभाव पार्ने उद्देश्यले गैरकानुनी रूपमा नेपाल प्रवेश गरी हिंसा, अपराध वा विभाजनकारी गतिविधिमा संलग्न हुने जोसुकै व्यक्ति वा संगठित सञ्जालको निष्पक्ष अनुसन्धान, पहिचान र विधिसम्मत कानुनी कारबाही सुनिश्चित गर्न राज्यले आवश्यक नीतिगत तथा कानुनी सुधारलाई निरन्तर अघि बढाउनेछ भन्ने विश्वास व्यक्त गर्दछु। यस्तो व्यवस्था कुनै समुदाय वा राष्ट्रप्रति लक्षित नभई विधिको शासन, राष्ट्रिय हित र सम्पूर्ण नागरिकको सुरक्षाप्रतिको साझा प्रतिबद्धता हो।

नेपाल सरकारले संविधान, कानुनको शासन तथा न्यायका सिद्धान्तअनुसार शान्ति–सुरक्षा, सामाजिक सद्भाव र राष्ट्रिय एकताको संरक्षणका लागि आवश्यक पहललाई निरन्तर सुदृढ बनाउनेछ भन्ने विश्वास छ। साथै धार्मिक नेतृत्व, नागरिक समाज, सञ्चारमाध्यम, शैक्षिक संस्था, सुरक्षा निकाय तथा सम्पूर्ण नागरिकबीचको सहकार्य, संवाद र पारस्परिक विश्वासले मात्र दिगो शान्ति र स्थायी सामाजिक सद्भाव सुनिश्चित गर्न सक्छ।

हामी सबैले सधैँ स्मरण गरौँ: राष्ट्रिय सुरक्षाको पहिलो किल्ला नागरिकको चरित्र हो, सामाजिक सद्भाव त्यसको जग हो र बज्रसरी राष्ट्रिय एकता त्यसको सबैभन्दा ठूलो शक्ति हो। जब सम्पूर्ण नेपाली साझा राष्ट्रिय हितका लागि एकढिक्का भएर उभिन्छन्, तब कुनै पनि प्रकारको हिंसा, वैमनस्य वा विभाजनकारी शक्तिले नेपालको राष्ट्रिय एकता, सार्वभौमसत्ता र राष्ट्रिय सुरक्षालाई कमजोर बनाउन सक्दैन।

समृद्ध नेपालका लागि साझा संकल्प र आध्यात्मिक आह्वान:

आज हाम्रो वास्तविक चुनौती एक नेपालीले अर्को नेपालीसँग विभाजित हुनु होइन; गरिबी, बेरोजगारी, अशिक्षा, पछौटेपन र अविकासलाई पराजित गर्नु हो। हाम्रो शक्ति घृणा र द्वन्द्वमा होइन, विकास, सुशासन, शिक्षा, विज्ञान, उत्पादन, रोजगारी र राष्ट्रिय समृद्धिमा केन्द्रित हुनुपर्छ। यही नै आजको सच्चा राष्ट्रधर्म हो। नेपाल प्राकृतिक सम्पदा, सांस्कृतिक वैभव, आध्यात्मिक चेतना र मानवीय मूल्यले सम्पन्न राष्ट्र हो। हिमालको स्वच्छता, भगवान् बुद्धको करुणा, भगवान् पशुपतिनाथको आशीर्वाद, जनकजननी सीताको आदर्श, योग, ध्यान, सहिष्णुता र मानवताको सन्देश नेपालले विश्वलाई दिन सक्ने अमूल्य सम्पदा हुन्।

यी सम्पदाको संरक्षण र सदुपयोग गर्दै समृद्ध, शान्त र आत्मनिर्भर नेपाल निर्माण गर्नु हामी सबैको साझा जिम्मेवारी हो। राष्ट्र निर्माण केवल सरकार वा कुनै एक संस्थाको दायित्व होइन। यो प्रत्येक नागरिक, परिवार, शिक्षक, धर्मगुरु, सञ्चारमाध्यम, नागरिक समाज, सुरक्षा निकाय, निजी क्षेत्र र युवाको साझा उत्तरदायित्व हो। जब सबै क्षेत्र एउटै राष्ट्रिय उद्देश्यका साथ अघि बढ्छन्, तब राष्ट्रको शक्ति अझ सुदृढ बन्छ।हामी सबैले आफ्नो धर्मको सम्मान गरौँ, तर मानवतालाई कहिल्यै नछोडौँ। आफ्नो संस्कृतिको संरक्षण गरौँ, तर अर्कोको संस्कृतिप्रति पनि सम्मान राखौँ। आफ्नो आस्थामा दृढ रहँदै परस्पर विश्वास, सहिष्णुता र सद्भावलाई जीवनको आधार बनाऔँ। यही नेपाली सभ्यताको आत्मा हो, यही हाम्रो राष्ट्रिय चरित्र हो।

आज म सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक आह्वान गर्दछु-आउनुहोस्, हामी सबै जाति, भाषा, धर्म, संस्कृति र क्षेत्रभन्दा माथि उठेर एउटै मातृभूमिका सन्तानका रूपमा हातेमालो गरौँ। प्रेमलाई आफ्नो शक्ति, करुणालाई आफ्नो आचरण, सहिष्णुतालाई आफ्नो संस्कार र राष्ट्रप्रेमलाई आफ्नो सर्वोच्च कर्तव्य बनाऔँ। हाम्रो विविधता नै हाम्रो गौरव हो र हाम्रो एकता नै हाम्रो शक्ति हो। चार वर्ण, छत्तीस जात, हिमाल, पहाड र तराईका सम्पूर्ण नेपालीहरू प्रेम, विश्वास, सहिष्णुता र आत्मीयताको दिव्य सूत्रमा आबद्ध भई बज्रसरी राष्ट्रिय एकताको रूपमा एकढिक्का भएर उभिऔँ। यही एकताले सामाजिक सद्भावलाई सुदृढ बनाउनेछ, राष्ट्रिय सुरक्षालाई अझ बलियो बनाउनेछ र भावी पुस्तालाई सुरक्षित, समृद्ध तथा गौरवशाली नेपाल हस्तान्तरण गर्ने आधार तयार गर्नेछ।

हाम्रा आध्यात्मिक सद्गुरुदेव हरुको दिव्य शिक्षाले हामीलाई सधैँ स्मरण गराउँछ-साँचो विजय अरूमाथिको होइन, आफ्नै अहंकार, क्रोध, लोभ, द्वेष र हिंसामाथिको विजय हो। जब हृदयमा प्रेम जाग्छ, समाजमा विश्वास बढ्छ; समाजमा विश्वास बढ्दा राष्ट्र बलियो हुन्छ; र राष्ट्र बलियो हुँदा शान्ति, विकास र समृद्धिका ढोका स्वतः खुल्छन्।

आउनुहोस्, आज हामी सबै मिलेर पवित्र संकल्प गरौँ:

घृणाको स्थानमा प्रेम स्थापित गरौँ।
हिंसाको स्थानमा शान्ति स्थापित गरौँ।
विभाजनको स्थानमा बज्रसरी राष्ट्रिय एकता स्थापित गरौँ।
अविश्वासको स्थानमा आत्मीय विश्वास स्थापित गरौँ।
निराशाको स्थानमा आशा, आत्मबल र सकारात्मकता जगाऔँ।

भगवान् पशुपतिनाथ, जनकजननी सीता माता, भगवान् बुद्ध तथा सम्पूर्ण दिव्य शक्तिको असीम कृपाले हाम्रो मातृभूमि नेपालमा सधैँ शान्ति, सद्भाव, राष्ट्रिय एकता, अखण्डता, समृद्धि र आध्यात्मिक चेतनाको उज्यालो फैलिरहोस्। प्रत्येक नेपालीको हृदयमा राष्ट्रप्रेम, मानवता र करुणाको दीप सधैँ प्रज्वलित रहोस्।

राष्ट्रभन्दा माथि कुनै स्वार्थ छैन।
मानवताभन्दा माथि कुनै धर्म छैन।
सद्भावभन्दा ठूलो कुनै सम्पत्ति छैन।
बज्रसरी राष्ट्रिय एकताभन्दा ठूलो कुनै शक्ति छैन।
शान्तिभन्दा ठूलो कुनै विजय छैन।

जय श्री सीताराम।
जय नेपाल।

(सशस्त्र प्रहरी बल नेपालका पूर्व महानिरीक्षक श्रेष्ठ हिमालयन सिद्ध महायोग आध्यात्मिक प्रतिष्ठानका उपाध्यक्ष, सांस्कृतिक सम्पत्ति संरक्षणका विज्ञ तथा करिब* डेढ दशकदेखि आध्यात्मिक, सांस्कृतिक र सामाजिक रूपान्तरणका विविध अभियानमा सक्रिय समाजसेवी व्यक्तित्व हुन्।)