रवि–बालेन आएपछि के चाहिँ फेरियो त ?


डा. जीवन क्षेत्री ।

अन्याय र अत्याचार उहिले पनि थियो, अहिले पनि छ । फरक यत्ति हो, उहिलेका सरकार अत्याचार गर्दा पनि डराउँथे, ढंग पुर्याउँदैनथे । त्यसैले अत्याचारको एउटा सीमा हुन्थ्यो । अहिले बालेन सरकार सक्षम छ अत्याचार गर्न । यही वैशाख १२ गते महिला अधिकार मञ्च बाँकेका अभियन्ता साथीहरुले ९ बुँदे माग राखेर शान्तिपुर्ण धर्ना शुरु गर्नुभयो । हत्या भएका निर्मला कुर्मीदेखि गुडिया कहारसम्म, मरणोपरान्त जिल्ला प्रहरी प्रमुखद्वारा चरित्र हत्या गरिएकी सृजना बुढामगरदेखि अनाहक ज्यान गुमाएका नाबालक दीपेश चमारसम्म, सबैका लागि न्यायको माग थियो उहाँहरुको ।

विगतबाट ‘रप्चर’ र ‘डिपार्चर’ गरेर आएको बालेन सरकारले नागरिकको यस्तो ज्यादती सहने कुरा भएन । वैशाख १५ गते सबैलाई समातेर थुनिदियो । हामी सबै काठमाडौंका भूमिहीनहरुमाथिको ज्यादतीको मुद्दामा केन्द्रित हुँदा यो सबै कुरा कतै समाचारको विषय बनेन ।

१५ गते राति अरु सबैलाई छाडियो तर रुबी खानलाई ‘सार्वजनिक शान्तिविरुद्धको कसुर’मा पक्राउ पुर्जी थमाइयो । बाहिर हत्याराहरु खुलेआम हिंड्दै थिए, हिरासतभित्र रहेकी रुबी खानले नेपालगन्जको सार्वजनिक शान्ति खल्बल्याउँदै थिइन्, नेपाल सरकारका अनुसार ।
महिला अधिकार मञ्चका साथीहरुको दाबी छः प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख र मूल आरोपी बादशाह कुर्मीबीच बैठक गरेर सोही अनुसार यो काम गरिएको हो ।

रुबी खानले त्यहीं हिरासतमा सत्याग्रह शुरु गरिन् । त्यसैले यसपटक रुबी खानको सत्याग्रह कुनै योजना र तयारीपछि भएको थिएन । राज्यको अचाक्ली ज्यादतीका कारण बाध्यतापुर्वक अचानक भएको थियो । यस्तो सत्याग्रहले कुनै पनि बेला अचानक ज्यान लिन सक्छ ।

सम्भवतः तबसम्म सरकारी संयन्त्र रुबी खानलाई भोकै मर्न दिएर यो आन्दोलनको ‘टन्टो’ सधैंका लागि सिध्याउने योजनामा थियो । आज २० दिनसम्म आइपुग्दा पनि सरकारको नियत फरक भएको देखिंदैन । त्यसमाथि ऊबेला त सिंगो देशको ध्यान काठमाडौंका सुकुम्बासी बस्तीमै थियो ।

न्याय दिनुपर्ने जे जति संस्था र व्यक्तिहरु थिए, ती सबैको मुखमा निर्मला कुर्मीको वंश नाश गरेर हत्याएको करोडौंको सम्पत्तिले बुजो लागेको थियो । बाँकै जिल्लाकै माननीय खगेन्द्र सुनारको चुनावी अभियानका हर्ताकर्ता नै निर्मलाको हत्या गरेर हडपिएको सम्पत्तिका मालिकहरु थिए । कतिसम्म भने, मानव अधिकारकै लागि भनेर बनेको इन्सेक नामक संस्थाको भवनका लागि लाखौं सहयोग गरेर बादशाह कुर्मीले नयाँ भवनमा आफ्नो नाम कुँदाउन सफल भएका छन् ।

त्यसैले बन्दी प्रत्यक्षीकरणको रिट दर्ता भएर अदालतले २४ घण्टाभित्र उपस्थित गराउने आदेश दिएपछि बल्ल तीन दिन थुनेर बाँके प्रहरीले रुबी खानलाई छाड्यो । त्यसपछिका १७ दिनसम्म रास्वपाले के गर्यो, सरकारले के गर्यो, जगजाहेरै छ । हो, देउवा र ओली नालायकै थिए । तर ती अत्याचार गर्नमा पनि उति लायक थिएनन् । मिडिया र सञ्जालको विरोधसित डराउँथे ।
अहिलेको सरकार लायक छ । मिटर ब्याज पीडितहरु हिजो कमसेकम सडकमा निस्कन्थे, पदयात्रा गर्थे र सरकारलाई झक्झक्याउँथे । यसपटक बाँके प्रहरीले तिनलाई पनि च्यापचुप समातेर सार्वजनिक शान्तिविरुद्धको कसुरमा मुद्दा चलाएछ । दिनभरि श्रम गरेर परिवार पाल्न पर्नेहरुलाई सात दिनसम्म थुनेर हायलकायल पारेपछि फेरि सडकमा ननिस्कने गरी हस्ताक्षर गराएर छाडेछ ।

यस्तो लाग्दैछः एकाध दिनमा यो सरकारले रुबी खानको ज्यान लिएरै छाड्नेछ र इतिहासमा आफ्नो नाम लेखाउनेछ । भोलि त्यसो भइहाल्यो भने पनि यो देशमा बालेन र रविको भक्तिगानले आकाश गुन्जि नै रहनेछ । या त निर्मला र रुबीहरु सदाका लागि बिर्सिनेछन्, नत्र ‘देश विकासका लागि निर्मला कुर्मी र रुबी खानहरु मारिनु किन आवश्यक थियो’ भनेर युट्युबेहरुले भिडियो बनाउनेछन् ।

सुखरानी चमार, दीपेश चमार, गुडिया कहार, नन्कुन्नी धोबी र सृजना बुढामगरले जिन्दगीभर जे जे सहे र जसरी तड्पेर मृत्युवरण गरे, त्यो कुरा इतिहासबाट सदाका लागि मेटिएर जानेछ । उसै पनि हार्ने, ठगिने र मारिनेहरुको पक्षमा बोलेर किन पो नयाँ सत्ताको उत्सवमा भाँजो हालिरहनु ? आम मनोविज्ञान त आखिर यही छ । जबसम्म अन्यायको तरबार हाम्रो घाँटीमा बजारिंदैन, तबसम्म उत्सवमै सामेल होऔं तर जब हाम्रो पालो आउँछ, त्यतिखेर बोल्नका लागि साँच्चै कोही बाँकी हुने छैन ।