नारायण गाउँले ।
महाधिवेशन गरेर सभापति बन्नु पनि छैन, प्रधानमन्त्री बन्ने भन्ने त सपनै भएन । जम्मा एक पल्ट सांसद जितेका थिए, पार्टी सरकारमा जाँदा मन्त्री बनिहालूँ भनेको पनि देखिएन । बरु प्रदीप पौडेल र बद्री पाण्डेजस्ता युवालाई मन्त्रीमा अघि बढाए । चुनाव हार्दा पनि जित्नेलाई अबीर दल्न जानेदेखि आफ्ना विपक्षीविरुद्ध एकवचन तुच्छ नबोली चुनाव जितेको पनि देखियो । यिनको वैचारिक स्तर पनि समकालीन अन्यभन्दा कत्ति कम छैन ।
काठमाडौंमा सानो डेरा थियो । झापाको पैतृक घर पनि जल्यो । तैपनि संयमित र शान्त नै देखिए । यसपटक चुनावमै नयाँलाई पालो दिनुपर्छ भने । सुरुवात आफैँबाट गरे । हार्ने भएर नउठ्ने भए कि भन्ने पनि लाग्यो तर सुरक्षित हुने गरी समानुपातिकमा बस्न पनि सक्थे, राष्ट्रियसभाको ढोका प्रयोग गर्न पनि सक्थे, त्यसो गरेनन् । बारम्बार सांसद भएर, मन्त्री भएर छोडेको भए पनि एउटा कुरा । जम्मा एकपल्ट सांसद् भए, त्यो पनि आधा कार्यकालमात्रै । त्याग नै त भन्न नसकिएला तर लोभको त्याग भने स्पष्ट देखियो ।
अहिले विशेष महाधिवेशनको पक्षमा विश्वप्रकाश शर्माले दह्रोसँग खुट्टा नटेकेको भए पक्कै यो माहोल बन्ने थिएन । पार्टीलाई असामयिक बन्नबाट जोगाउने र युवाहरूमा रहेको आक्रोशलाई सम्बोधन गर्ने अस्त्रका रूपमा महाधिवेशनलाई लिएको देखियो । कांग्रेसका अधिकांश प्रतिनिधि पनि यही चाहने रहेछन् भन्ने देखिँदै छ । यत्रो आक्रोश र परिवर्तनको लहर चलेको बेला समयमा महाधिवेशनसम्म नगरी आफैं आफ्नो म्याद थप्दै चुनावमा जानपर्ने तर्क आफैँमा औचित्यहीन छ । कार्यकालको बीचमा महाधिवेशन मागेर देउवालाई हटाउन खोजेको भए औचित्यको प्रश्न उठ्दो हो ।
पार्टी फुट्दैन भनेको सुनियो । तर दह्रो खुट्टा टेकिरहने हो भने पार्टी फुट्ने नै देखियो । बहुमत सदस्यले महाधिवेशनमापÞर्mत् विधि र नेतृत्व परिवर्तन गर्ने हो भने देउवाजीको एउटा वृद्ध र अल्पमतको ग्रुप पार्टी छोडेर जान सक्ने अवस्था छ । नेपाली कांग्रेस प्रजातान्त्रिक भन्ने दल बिउँझेला । बहुमतले नेतृत्व परिवर्तन गर्न चाहेपछि जसले स्वीकार गर्दैन, त्यो फुट्छ ।
आन्तरिक द्वन्द्व र बाह्य असन्तुष्टिको यो माहोलमा कांग्रेस फुटेर या जुटेर पनि पहिलो पार्टी बन्छजस्तो धेरैलाई लाग्दैन । आजसम्म पहिलो हुँदा त माओवादी र एमालेको पछि लाग्नेबाहेक केही गर्न नसकेको दलले दोस्रो, तेस्रो भएर गर्न सक्ने के नै होला र । तर नीति र नेतृत्व नयाँ भयो र आफ्नै खुट्टामा उभिने भयो भने चुनाबहरू आइरहन्छन् ।
एउटा राष्ट्रिय दल माझिएर आयो भने अन्य दलमा पनि त्यसको असर पर्छ । अहिले नै पनि धेरै दलहरूमा सक्षम, पठित र विज्ञ युवाहरूको हस्तक्षेप बढ्दो छ । देश र राजनीतिप्रति चासो हुनेहरूले पार्टीहरूभित्रका परिवर्तन र सुधारका प्रयासलाई सघाउनु पर्छ । बल दिनुपर्छ । आफूले लोभ नगरेपछि राजालाई पनि झुकाउन सकिन्छ भन्ने भनाइ छ । यिनले सक्लान् त झुकाउन ?

प्रतिक्रिया