कांग्रेसको विशेष महाधिवेशनबारे पूर्वन्यायाधीश ईश्वरप्रसाद खतिवडाको टिप्पणी


-ईश्वरप्रसाद खतिवडा ।

म कुनै राजनीतिक नेता पनि होइन, कुनै पनि राजनीतिक दलको कार्यकर्ता पनि होइन । संविधान, कानून र राजनीति शास्त्रको अध्येता नेपाली नागरिक हुनुको नाताले मुलुकको राजनीतिक प्रणाली र क्रियाकलाप प्रति मेरो जिज्ञासा स्वभाविक रुपमा रहने गर्दछ । त्यसैले एउटा विचार/जिज्ञासा यहाँ सम्प्रेषण गरेको छु ।
२४ पुष, २०८२ को समाचार हेरियो । नेपाली कांग्रेसले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गर्ने महाधिवेशन प्रतिनिधिहरूलाई हस्ताक्षर फिर्ता लिन अनुरोध गर्ने निर्णय गरेछ । यो खबर सुनेर अचम्म लाग्यो । विधिसम्मत रुपमा हुनुपर्ने महाधिवेशन हुन नदिने गरी सुरुदेखि भएका कार्य लोकतान्त्रिक मूल्य मान्यता प्रतिकूलको कदम हो । अहिले आएर हस्ताक्षर फिर्ता लिन लगाउने भनी गरिएको निर्णय महाधिवेशन प्रतिनिधि र आमकार्यकर्ताहरुलाई दिइएको अनुचित दवाव र धम्की पनि हो ।

यो कस्तो लोकतन्त्र हो ? विधिसम्मत् रुपमा विशेष महाधिवेशनको माग भएपछि विशेष महाधिवेशन गरिनु आवश्यक र अनिवार्य थियो । संस्थापन समूहको स्वार्थ, अहम् र फरक विचारलाई दवाउने र दमन गर्ने अलोकतान्त्रिक हठको कारणबाट विशेष महाधिवेशनलाई छल्न र विथोल्न खोजियो । हामी आम जनताले यसलाई लोकतन्त्र भनेर कसरी बुझ्ने ? यो भाँडतन्त्र भएन र ? यस्तै शैली र पृष्ठभूमिमा ‘झोले र चम्चे’ भाष्यको निर्माण भएको होइन र ? यी र यस्तै अरु केही प्रश्नहरु बीच म मेरो देशको राजनीतिक भविष्य नियाल्दै छु ।

-खतिवडा सर्वोच्चका पूर्वन्यायाधीश हुन्