शेयर बजारमा तीन अर्ब ५३ करोडको कारोबार


काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक बुधबार झिनो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार नेप्से परिसूचक शून्य दशमलव ५५ अङ्कले बढेर दुई हजार छ सय ४२ दशमलव ४० मा पुगेको छ ।
ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ परिसूचक एक दशमलव ३९ अङ्कले बढेर चार सय ६३ दशमलव ६१ मा पुगेको छ । त्यस्तै, फ्लोट परिसूचक शून्य दशमलव २० अङ्कले बढेर एक सय ८१ दशमलव ५६ तथा सेन्सेटिभ फ्लोट परिसूचक शून्य दशमलव ४८ अङ्कले बढेर एक सय ५६ दशमलव ९६ मा पुगेको छ ।

आज विभिन्न कम्पनीका ८७ लाख एक हजार नौ सय ४४ कित्ता सेयर तीन अर्ब ५३ करोड २१ लाख पाँच हजार पाँच सय १८ मूल्यमा खरिदबिक्री भएका छन् ।

कारोबार भएका १३ उपसमूहमध्ये छ उपसमूहको सूचक बढेको छ भने सात उपसमूहको सूचक घटेको छ । आज एक सय दुई कम्पनीको सेयर मूल्य बढ्दा एक सय ६५ कम्पनीको सेयर मूल्य घटेको छ । नौ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।

नेप्सेका अनुसार आज माउन्ट एभरेस्ट पावर डेभलपमेन्ट कम्पनी, इमर्जिङ नेपाल र एचआइडिसिएलका लगानीकर्ताले कमाएका छन् । त्यस्तै, आइसिएफसी फाइनान्स डिबेञ्चर, अपर लोहोरे खोला हाइड्रोपावर तथा प्रभु बैंक डिबेञ्चरका लगानीकर्ताले गुमाएका छन् ।