दुग्धक्षेत्रमा आत्मनिर्भरता



निरन्जन तिमल्सिना ।

दुध नै मानिसको पहिलो आहार हो । शताब्दिऔंदेखि दुध र दुग्ध पदार्थ हरेक मानिसको व्यक्तिगत र सामाजिक जीवनको अभिन्न अंगको रुपमा रहेको छ । नेपालमा विशेष गरी हिन्दू परिवारमा दुधसँगको नाता अटुट रहेको पाइन्छ । जन्म संस्कारदेखि मृत्यु संस्कारसम्म, पञ्चामृतदेखि पिण्डसम्म दुध र दुग्ध पदार्थको अतिनै महत्वपूर्ण स्थान रहेको छ । बितेका केही दशकमा नेपालले थुप्रै राजनैतिक र सामाजिक परिवर्तन गरेपनि अझै नेपालको दुई तिहाई जनसंख्या कृषि पेशामै आवद्ध रहेका छन् । अझै पनि गाउँले परिवेशमा हरेक घरपरिवारले दुधको लागि पशुपालन गर्ने प्रचलन छ । नेपालमा दुध मध्यम तथा निम्नबर्गिय परिवारको पारिवारिक आयआर्जनको स्रोत पनि हो । कृषि अर्थतन्त्रकको दरिलो खम्बाको रुपमा रहेको दुग्ध क्षेत्रले प्रकाशित तथ्यांक अनुसार नेपालको अर्थतन्त्रमा कुल ९ प्रतिशत योगदान गरेको पाइन्छ तर पनि यस क्षेत्रले अझै पूर्ण रुपमाव्यवसायीकता र आत्मनिर्भरता हाँसिल गर्न सकेको छैन । दुग्ध क्षेत्रले दैनिक करोडौ रुपैयाँ शहरी क्षेत्रबाट ग्रामिण क्षेत्रमा संचार गर्ने गर्दछ ।

यस क्षेत्रलाई अहिले पनि लाखौ किसानले जीवनयापनको माध्यमको रुपमा अँगालेका छन् । नेपालको दुग्धक्षेत्रको आधुनिक इतिहास सुरु भएको सात दशक भैसक्दापनि नेपालकोदुग्धक्षेत्र सहि गतिमा अघि बढ्न सकेको छैन । सो समयमा दुग्धक्षेत्रले आफ्नो दायरा खासै फराकिलो बनाउन सकेको छैन । सात दशकको समयमा हामिले संख्यात्मक रुपमा दुग्ध प्रशोधनको क्षमता बढाए दैनिक ५०० लिटर बाट ८,००,००० लिटर बनाएपनि दुधको गुणस्तरमा ठोस सुधार गर्न सकेका छैनौं । त्यसको विपरीत हाम्रो दक्षिणी छिमेकी भारतको दुग्ध क्षेत्रले यही समयमा प्रगतीको उचाईसम्म पुग्न सफल भएको छ । नेपालको अर्थतन्त्रलाई मजबुत र आत्मनिर्भर बनाउने बहस चलिरहँदा नेपालको दुग्ध क्षेत्रपनि आत्मनिर्भरता उन्मुख भएको आँकडाहरु प्रस्तुत हुने गरेका छन् । नाराले मात्रै कुनैपनि क्षेत्र आत्मनिर्भर बन्न सक्दैन । आत्मनिर्भरता प्राप्त गर्नको लागि दुग्ध क्षेत्रका आफ्नै चुनौतीहरु रहेका छन् । ती चुनौतीहरु पार गर्दै अवसरलाई सदुपयोग गर्नसके यो क्षेत्रले पनि आत्मनिर्भरताको लक्ष्य प्राप्त गर्न सक्नेछ ।
आत्मनिर्भरताको लागि व्यवसायिकताको विकास
नेपालको दुग्ध क्षेत्रमा किसानको तहदेखि उद्योगको चरणसम्म व्यवसायिकताको अभाव प्रष्टै रुपमा देखिन्छ । दुग्ध क्षेत्र अझैपनि गुजारामुखी हिसाबमा चलिरहेको छ । गुणस्तरीय कच्चा पदार्थ बिना गुणस्तरीय र प्रतिस्पर्धी दुग्ध पदार्थ उत्पादन हुन सक्दैन । कृषकमा गुणस्तरीय कच्चा दुध उत्पादन र संकलनको ज्ञानको अभावले गर्दा दुग्ध क्षेत्रको गुणात्मक विकास हुन सकेको देखिदैन । सहि प्राविधिक र वैज्ञानिक ज्ञानको अभावमा यस क्षेत्रले सोचे जस्तो सफलता हात पार्न सकेको छैैन । यस क्षेत्रमा दुध उत्पादक पशुको जात र नश्ल छनोटदेखि प्रशोधन र वितरणसम्म प्राविधिक ज्ञानको अभाव स्पष्टै देखिन्छ । नेपालमा उन्नत जात र राम्रो नश्लका पशुको अभावले गर्दा देश भित्रउल्लेख्य मात्रामा पशुहरुको संख्या रहेपनि उन्नत जातको पशुको तुलनामा त्यस्ता पशुको दुध उत्पादन क्षमता निक्कै कमी रहेको पाइन्छ । जसको कारणले गर्दा लिन सिजन र फ्लस सिजनमा दुधको उत्पादनमा धेरै अन्तर आउने गर्दछ । यसरी लिन सिजन र फ्लस सिजनमा दुधको उत्पादनमा धेरै अन्तर आउँदा दुधको व्यवस्थापन निक्कै चुनौतिपूर्ण बन्ने गर्दछ र फलस्वरुप मिल्क होलिडे जस्ता समस्या आउने गर्दछन् । लिन सिजन र फ्लस सिजनमा दुधको उत्पादनमा धेरै अन्तर आउने मुख्य कारण भनेको, हाम्रो देशमा संकलन हुने दुध मध्ये प्रमुख हिस्सा भैंसीको दुधको छ ।

गाईको तुलनामा भैंसीको बाली जाने र ब्याउँने आफ्नै किसिमको समयचक्र हुन्छ जसको सिधा असर दुध उत्पादनमा पर्दछ । त्यस बाहेक हाम्रो देशमा ब्यवसायिक पशुपालक किसान भन्दा निर्वाहमुखी ग्रामीण पशुपालक किसानबाट दुध उत्पादन र संकलन हुने कारण पनि दुध उत्पादन र संकलनमा एकरुपता नभएको पाईन्छ । यसरी दुध उत्पादन र संकलनमा हुने अन्तरले दुग्ध क्षेत्रको व्यवसायिकतामा ठूलो असर पारेको छ । प्रकाशित आँकडा अनुसार हाल नेपालमा दैनिक ६२ लाख लिटर भन्दा बढी दुध उत्पादन हुने गरेको देखिन्छ । उत्पादन भएको ५० प्रतिशत दुध उत्पादककै तहमा खपत हुने गर्दछ । बाँकि ५० प्रतिशत दुधमा ३३ प्रतिशत दुध अनौपचारिक ढंगबाट बिना प्रशोधन बजारिकरण भै रहेको छ भने १७ प्रतिशत दुध मात्रै औपचारिक र संगठित रुपमा प्रशोधन भएर बजारमा पुग्ने गर्दछ, यसले पनि दुग्ध क्षेत्रमा रहेको व्यवसायिकताको अभावलाई देखाउँछ ।

दुग्ध व्यवसायमा आउन चाहने मानिसहरु सीमित लगानी सहित यस क्षेत्रमा प्रवेश गर्नले आफ्नो व्यवसाय संचालन र पूर्वाधार निर्माणमा लाग्ने खर्च समेत गर्न नसक्ने स्थिति निर्माण भएको छ । बिहानीको समयमा दुध वितरणको लागि टोलटोलमा बिना संरचना र सुबिधा राखिने खुल्ला बुथहरु र बिना कुनै सुरक्षाको उपाय टाटामोबाईलमा गरिने दुध र दुग्ध पदार्थको अव्यवस्थित ढुवानी पनि यस क्षेत्रमा भएका लगानी अभावका उदाहरणहरु हुन् । दुध र दुग्ध पदार्थ अतिनै संबेदनशील खाद्य पदार्थमा पर्ने गर्दछन्, जसको उत्पादन, प्रशोधन, भण्डारणदेखि विक्रि वितरणसम्म कोल्डचेन अथवा तापक्रमको तालमेल मिलाईनु पर्दछ । यस विषयमा सरकार, बोर्ड, विभाग र व्यवसायीको ध्यान जान सकेको छैन, जसको असर प्रत्यक्ष रुपमा उत्पादित वस्तुको गुणस्तरमा देखिन्छ । नेपाली दुग्ध उद्योगले अहिले पनि प्रशोधित तरल दुधको व्यापार बाहेक दुग्ध पदार्थको विविधिकरणमा अघि बढ्न नसक्नु पनि यो क्षेत्र बिस्तार नहुनुको प्रमुख कारण मध्ये एक हो ।

व्यवसायीले आफ्नो उत्पादनको विविधिकरणमा लाग्ने हो भने क्रमश आफैं अनौपचारिक क्षेत्रको दुध औपचारिक रसंगठित क्षेत्रमा आउने छ । यस क्षेत्रमा ब्यवसाय गरिरहेका अधिकांश मानिसमा प्रविधिक ज्ञानको कमी भएका कारणले पनि व्यवसायीले दुग्ध क्षेत्रलाई सामाजिक उत्तरदायित्व बिहिन नाफामुखी व्यवसाय बनाईरहेका छन् ।जसले गर्दा दुग्ध ब्यवसाय गुणस्तरमा भन्दा पनि नाफामुखी र गुणस्तरहिनताको दलदलमा फस्न पुगेको छ । उद्योग संचालकले आफ्नो उद्योगमा राखिएका दक्ष जनशक्तिलाई प्रविधि र व्यवसाय विस्तारमा लगाउनुको साट्टो तलवमा राखिएको कामदारको रुपमा बुझने चलन जहिलेसम्म रहन्छ तबसम्म यस क्षेत्रको बिस्तार सम्भव छैन । पशुपालन, दुध उत्पादन देखि विक्रि वितरणसम्म प्रविधि र प्राविधिक सहितको दक्ष जनशक्ति प्रयोग गर्नसके मात्र यो क्षेत्रले व्यवसायिकता र आत्मनिर्भरता हासिल गर्न सक्दछ ।
आयात प्रतिस्थापन र निजी क्षेत्र
नेपालको दुग्ध क्षेत्रमा निजी क्षेत्रको महत्वपूर्ण र अतुलनिय योगदान रहेको छ । नेपालको दुग्ध क्षेत्रमा निजी क्षेत्रको ठूलो लगानी रहेको छ तर पनि हाम्रो दुग्ध क्षेत्र अझै आत्मनिर्भर बन्न सकेको छैन । अझैपनि ठूलो परिमाणमा दुध तथा दुग्ध पदार्थ विदेशबाट आयात हुने गरेको भन्सार विभागको तथ्यांकले देखाउँछ । नेपालमा गएको आर्थिक बर्षमा मात्रै १ अर्ब ६० करोड रुपैयाँ बराबरको दुध तथा दुग्ध पदार्थ विभिन्न मुलुक बाट आयात भएको भन्सार विभागको तथ्यांकले देखाउँछ र सोहि समयमा १० करोड ८० लाख रुपैयाँ बराबरको दुध तथा दुग्ध पदार्थ नेपाल बाट विभिन्न मुलुक निर्यात भएको देखिन्छ ।

बिदेशबाट आयात भएको दुग्ध पदार्थमा मुख्यगरी पाउडर दुध, दही, आइसक्रिम, बटर, क्रिम, डेरीह्वाइटनर आदि गरी भन्सार बिभागको १७ वटा शीर्षकमा ७५ लाख ७२ हजार केजी (७,५७२ मेट्रिक टन)दुध तथा दुग्ध पदार्थ रहेका छन् । नेपालमा गुणस्तरीय दुध तथा दुग्ध पदार्थको माग कति छ भन्ने कुरा नेपालमा रहेको विदेशी ब्राण्डको उपस्थितिले पनि देखाउँछ । नेपालको दुग्ध क्षेत्रमा प्रत्येक्ष रुपमा वैदेशिक लगानी नभएपनि नेपाली बजारमा विदेशी ब्रण्डको डरलाग्दो उपस्थिति छ । नेपालका ठूला सपिङ्ग मल तथा डिपार्टमेन्टल स्टोरमा उल्लेख्य मात्रामा विदेशी उत्पादन पाइन्छ । हालको दिनमा नेपाली बजारमा विदेशी उत्पादन पाइने मात्रै हैन कि यस्ता उत्पादन नेपाली उपभोक्ताको रोजाइमा पनि पर्न सफल भएका छन् । अन्य विदेशी ब्रण्डका सामानलाई आँखा चिम्लीएर पैसा हाल्ने नेपाली उपभोक्ता स्वदेशी उत्पादनलाई त्यो भन्दा सस्तो मुल्यमा किन्न हिचकिचाउँछन् ।

त्यसको मुख्य कारण भनेको स्वदेशी उत्पादकले आफ्ना ग्राहकलाई आफुले उत्पादन गरेको सामानको गुणस्तरमा विश्वस्त बनाउन नसक्नु हो । त्यसैले अब नेपाली डेरी उद्योगले पनि मूल्यमा भन्दा गुणस्तरको आधारमा प्रतिस्पर्धा गर्नुपर्ने समय आएको छ । कुनै समय भारतीय सहरसम्म बजार बिस्तार गर्न सफल नेपाली याक चिजले अहिले आफ्नै स्वदेशी उपभोक्ताको मन जित्न सकिरहेको छैन । त्यसैले अब नेपाली डेरी उधोगले पनि समय र उपभोक्ताको माग बमोजिम आफ्ना उत्पादनको विविधिकरणमा ध्यान दिनुपर्ने देखिन्छ । नत्र उही पुरानै ढंगबाट दुध र दहीको उत्पादन र बजारीकरण गरेर उपभोक्ताको चाहना पूरा गर्न सकिदैन । कम्तीमा अब निजी क्षेत्रले गुणस्तरीय दुध तथा दुग्ध पदार्थ उत्पादन र बजारीकरणमा आवश्यक पूर्वाधार निर्माण र दक्ष जनशक्ति परिचालनमा ध्यान दिन सकेउपभोक्ताको चाहाना बमोजिम उत्पादन बजारसम्म पुर्याउन सकिन्छ । जसले गर्दा बजारमा बिदेशी उत्पादनलाई क्रमशः स्वदेशी उत्पादनले प्रतिस्थापन गर्दै स्वदेशी उत्पादनले उपभोक्ताको मन जित्न सक्छ ।

दुग्धक्षेत्र र सरकार
आत्मनिर्भरता नाराले मात्रै सम्भव छैन, त्यसको लागि ठोस योजना सहितको पहल आवश्यक देखिन्छ । नेपालको अर्थतन्त्रमा ९ प्रतिशत योगदान दिने दुग्ध क्षेत्रले ग्रामिण आयआर्जन र स्वरोजगारमा अतुलनिय योगदान दिएको छ तर यसको बिपरीत लामो समयदेखि यो क्षेत्र सरकारको कुनैपनि कार्यक्रममा प्राथमिकतामा पर्न सकेको देखिदैन । नेपाल सरकारले यस क्षेत्रको विकासको लागि बनाएको राष्ट्रिय दुग्ध बिकास बोर्ड बजेट र जनशक्तिको अभावमा आफ्नै अस्तित्व रक्षाको लडाई लड्नुपर्ने स्थितिमा छ । हाम्रै छिमेकी देश भारतमा केही दशकको अन्तरालमा NDDB कै नेतृत्वमा भारतले दुग्ध क्षेत्रमा आमूल परिवर्तन गर्दै विश्वमै सबैभन्दा धेरै दुध उत्पादन गर्ने राष्ट्र बन्न पुग्यो । आगामी आर्थिक बर्षको लागि छिमेकी देश भारतको बोर्डको बजेट मात्रै ३,२८९ करोड भारु रहेको छ ।

त्यसको बिपरित नेपालमा सरकारले राष्ट्रिय दुग्ध विकास बोर्डमार्फत छुट्याएको केही करोडको बजेटले अर्बौको लगानी रहेको नेपालको दुग्ध क्षेत्रलाई कसरी नेतृत्व प्रदान गर्न सक्ला ? यदि साँच्चै यस क्षेत्रको आत्मनिर्भरता चहाने हो भने, नेपाल सरकारले पनि दुग्ध क्षेत्रलाई प्राथमिकतामा राखि राष्ट्रिय दुग्ध बिकास बोर्ड मार्फत बार्षिक ५० करोड देखि १ अर्ब रुपैयासम्मको बजेटको व्यवस्था गरी दुग्ध क्षेत्रको पुर्वाधार विकास र सुधारमा लगाउनुपर्ने देखिन्छ । त्यस्तै सरकारले गुणस्तरीय कच्चा दुध संकलनको लागि नेशनल मिल्क ग्रिड र कोल्डचेन नेटर्वकको निर्माण गर्नुपर्दछ । हैन भने सरकारले निजी क्षेत्रकै मुख ताकेर आत्मनिर्भरताको परिकल्पना गर्नु दिवा सपना मात्रै हुनेछ । यदि यस क्षेत्रलाई साच्चै आत्मनिर्भर बनाउने हो भने राष्ट्रिय दुग्ध विकास बोर्डको नेतृत्व र पशुसेवा विभागको सहयोगमा स्थानीय निकाय मार्फत दुध उत्पादन बृद्धिका कार्यक्रम लागु गर्नुपर्ने देखिन्छ ।

किसान र व्यवसायीलाई प्रविधिमैत्री र व्यवसायिक बनाउन समय समयमा तालिम र सचेतना कार्यक्रमहरु गरिनुपर्छ । दुग्ध क्षेत्रको प्रविधि विकासको लागि दुग्ध अनुसन्धान केन्द्रको स्थापना गरी दक्ष जनशक्तिलाई यस क्षेत्रको अध्ययन, अनुसन्धान र विकाससँग जोड्नु पर्दछ । गुणस्तरीय कच्चा दुध उत्पादन र संकलनको लागि हरेक स्थानीय निकायमा दक्ष जनशक्ति सहितको प्रयोगशाला निर्माण गर्नुपर्दछ । यसको लागि यस कार्यक्रमलाई शुरुमा कुनै एक जिल्लाको स्थानिय निकायमा परिक्षण कार्यक्रमको रुपमा संचालन गरी क्रमश देशैभरीका स्थानिय निकायमा बिस्तार गर्न सकिन्छ । हाम्रो छिमेकी देश भारतमा दुध उत्पादन कार्यक्रम Operation flood लागु हुनु भन्दा पहिले भारतको बार्षिक पाउडर उत्पादन क्षमता १०,००० मेट्रिक टन मात्र रहेकोमा सो कार्यक्रम पछि क्रमश सो क्षमता बिस्तार भएर हाल बार्षिक पाउडर उत्पादन क्षमता २,००,००० मेट्रिक टन सम्म पुगेको छ । बितेको १५ बर्षमा भारतले आफ्नो दुध उत्पादन क्षमतामा शतप्रतिशत बृद्घि गरेको छ । सन् २००५ मा भारतको दुध उत्पादन क्षमता ९२.५ मिलियन मेट्रिक टन रहेकोमा सन् २०१९ बढेर १८७.७मिलियन मेट्रिक टन पुुगेको छ । सोहि अबधिमा नेपालमा दुध उत्पादन ६० प्रतिशतले मात्रै बृद्घि भएको छ । सन् २००५ मा नेपालको दुध उत्पादन क्षमता १.३८४ मिलियन मेट्रिक टन रहेकोमा सन् २०१९ बढेर २.१६८ मिलियन मेट्रिक टन पुुगेको छ ।

यसरी हेर्दा सो समयमा हाम्रो देशमा बार्षिक रुपमा दुधको उत्पादनमा सरदर बृद्धिदर ४ प्रतिशत मात्रै रहेको छ जसलाईअब हामिले सरकारी तहबाट प्रभावकारी कार्यक्रममार्फत बढाउनुपर्ने देखिन्छ । जबसम्म राष्ट्रिय दुग्ध बिकास बोर्डको आफ्नै आम्दानीको स्रोत हुँदैन तबसम्म बोर्डका कार्यक्रम प्रभावकारी ढंगबाट संचालन हुन सक्दैनन् । त्यसैले जसरी हरेक पर्यटक बाट पर्यटन क्षेत्रको विकासको लागि शुल्क उठाई नेपाल पर्यटन बोर्डको नाममा जम्मा गरिन्छ त्यसरी नै दुग्ध क्षेत्रको विकास र विस्तारको लागि एक लिटर दुधमा एक रुपैया विकास शुल्क उठाइनु पर्दछ ताकि यस क्षेत्रले आफ्नो क्षेत्रको विकासको लागि कसैको मुख ताक्नु नपरोस् । यस्तो रकम कृषक, उधोगी व्यवसायी बाट नभई सिधै उपभोक्ता बाट उठाउन सकिन्छ रयसरी उठेको पैसालाई राष्ट्रिय दुग्ध विकास बोर्डमार्फत उपभोक्ताकै हितको लागि गुणस्तरीय दुध तथा दुग्ध पदार्थ उत्पादनमा लगाई यस क्षेत्रको दिगो विकासमा खर्च गर्न सकिन्छ । हैन भने दैनिक करोडौ रुपैयाँ उपभोक्ता देखि कृषकसम्म पुर्याउने यो क्षेत्र सधै धराशायी नै रहने देखिन्छ ।
विश्व दुध दिवस २०२० को सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना ।

(लेखक डेरी टेक्नोलोजिष्ट हुन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तोलामा दुई हजार सात सयले घट्यो सुनको मूल्य

  काठमाडौँ । स्थानीय बजारमा पहेँलो धातुको मूल्यमा मंगलबार गिरावट भएको छ ।

चैते धानप्रति दाङका किसानको आकर्षण बढ्दो

घोराही (दाङ) । दाङको बङ्गलाचुली गाउँपालिका–४ गहतेरा निवासी डोरबहादुर घर्तीले यस वर्ष पनि

यसरी रोक्न सकिन्छ शिक्षकहरूको दलीय आवद्धता

केशवप्रसाद भट्टराई । १. राज्य कानुनद्वारा संगठित सेवामा रहेका शिक्षक वा कर्मचारी कसैले

लगानीको वातावरण बनाउन सरकारी नीतिले निरन्तरता पाउँछ : अर्थमन्त्री पुन

  काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले सरकारले अबलम्बन गरेका राम्रा नीतिको निरन्तरताले मुलुकमा