ज्ञानेन्द्र शाहीको प्रश्नः भोलि छिमेकीले मिचेको भूमि फिर्ता देउ भन्यो भने कताको भूमि दिने ?’


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सीमानाको विषय अतिसंवेदनशील भएकाले यसमा सत्ता पक्ष र प्रतिपक्ष एक ठाउँमा उभिनुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा परराष्ट्रमन्त्री शिशिर खनालले वक्तव्य दिएपछि समय लिएर सांसद शाहीले नेपालले भारतको भूभाग मिचेको छ भन्ने अभिव्यक्ति सच्याइनुपर्ने माग गरे ।

सीमानामा रहेका नेपालीहरू हरेक दिन देशको रक्षाका लागि लडिरहेको तर्फ सदनले गम्भीरताका साथ लिनुपर्ने उनले बताए । उनले सीमाको विषय कुनै एक दल वा प्रतिपक्षको मात्र मुद्दा नभई सम्पूर्ण संसद र राष्ट्रको साझा मुद्दा भएको बताए । उनले देशको बहालवाला प्रधानमन्त्रीले नेपालले अर्को देशको भूमि मिचेको आशयको अभिव्यक्ति दिएको विषयमा संसदले समयमै प्रश्न उठाउनुपर्ने भए पनि त्यसो हुन नसकेको बताए ।

उनले भने, ‘सीमाको विषय अतिसंवेदनशील विषय हो । सायद यो प्रतिपक्षको मात्र मुद्दा हो जस्तो लाग्दैन । यो सार्वभौम संसदको मुद्दा हो । यो सबै पक्षको मुद्दा हो । देशको बहालवाला प्रधानमन्त्रीले हामीले अर्काको देशको सीमा मिचेका छौं भनेर भनिरहँदाखेरि हामीले त्यही दिन नै प्रश्न गर्नुपर्ने हुन्थ्यो तर गर्न सकेनौं ।’

उनले भविष्यमा कुनै पनि प्रधानमन्त्रीले नेपालले मिचेको भनिएको भूमि फिर्ता दिनुपर्ने अवस्था आए त्यसबेला कुन भूमि दिने भन्ने प्रश्न उठ्ने भन्दै सीमाको विषयमा संसद गम्भीर हुनुपर्ने उल्लेख गरे । संसद काम गर्ने थलो भएकाले यस्ता राष्ट्रिय महत्वका विषयमा स्पष्ट छलफल हुनुपर्ने उनको भनाइ थियो ।
उनले भने, ‘आज रास्वपाको प्रधानमन्त्रीले यस्तो बोले भन्ने मात्र होइन भोलि अर्को प्रधानमन्त्री आए भने त्यतिखेर देशको सिमाना कहाँ कहाँ मिचेका छौं देउ भन्यो भने कताको भूमि दिने ?’

सांसद शाहीले राष्ट्रभन्दा ठूलो कुनै पनि कुरा नरहेको उल्लेख गर्दै विभिन्न पेशा, वर्ग र राजनीतिक विचारमा आबद्ध भए पनि सबै नेपालीलाई जोड्ने साझा आधार नेपाल र नेपाली माटो नै भएको बताए।