-शारदा पुरी ।
बलात्कार कुनै पनि समाजमा सबैभन्दा गम्भीर र संवेदनशील हिंसामध्ये एक हो । यसले व्यक्तिको शरीर, मन, आत्मसम्मान र भविष्य सबैमा गहिरो प्रभाव पार्छ। तर शारीरिक वा कानुनी उपचारले मात्र पीडिताको जीवन सहज रूपमा सामान्यमा फर्किँदैन । खासमा, बलात्कारपछि पीडितले सबैभन्दा धेरै भोग्नुपर्ने कुरा समाज र परिवारको व्यवहार हो । हाम्रो समाजमा बलात्कारलाई अपराध ठानिए पनि त्यो अपराधको दोष भने प्रायःपीडितामाथि नै थोपिन्छ । यही मानसिकता र व्यवहारका कारण धेरैजसो पीडितहरूलाई आफू बसेको समुदायमै सुरक्षित महसुस हुँदैन । घटना गलत हो, पीडित निर्दोष छ भन्ने बुझ्दापनि समाजले ‘लाज’, ‘बदनाम’, ‘मान्छेको कुरा’जस्ता गलत धारणालाई अपराध भन्दा ठूलो ठान्छ । यसैले पीडितहरू घर–टोल फर्किन डराउँछन्, गाउँले, छिमेकी वा परिवारकै सदस्यबाट हेला, गाली, शंका वा चरित्रहत्या सहनुपर्छ । यस्तो व्यवहारले पीडितको मानसिक स्थिति झनै कमजोर हुन्छ । उनीहरू एकान्त पर्खालमा थुनिन्छन् र दैनिक जीवन चलाउन कठिन हुन्छ ।
यतिमात्र होइन, परिवार स्वयंले पनि पीडितलाई स्वीकार गर्न गाह्रो मान्नेहरू धेरै छन् । परिवारलाई लाग्छ कि यो घटनाले उनीहरूको ‘इज्जत’झन् घटाउँछ, घटनाबारे समाजले नराम्रो भन्छ र परिवारलाई आलोचना सहनुपर्छ ।यस्तो सोचका कारण परिवार पीडितलाई दोष दिन थाल्छ, तानेर बोल्छ,‘किन यो भयो? तेरो गल्ती हो जस्ता प्रश्न गर्दै पीडितलाई नै दोष दिने प्रयास बारम्बार गर्छ । तर पीडितलाई प्रश्न होइन, संरक्षण र साथ चाहिन्छ । उनले झेलेको दर्दलाई बुझेर भावनात्मक रूपमा अँगालो हालिदिने भूमिका परिवारकै हो । तर धेरैजसो घटनामा, परिवारको अस्वीकृतिले पीडितको आत्मविश्वास एकदमै घट्छ । उनीहरू भर्खरै खडा हुन खोज्दै गर्दा फेरि लड्छन् । यसलाई मनो–सामाजिक रूपमा’दुःखको दोहोरो आघात’भनिन्छ । यस्तो समयमा पीडित एक्लोपन, तनाव, अपराधबोध, निराशा र भविष्यबारे ठूलो डरले भरिन्छन् । उनीहरूको मानसिक स्वास्थ्यमा दीर्घकालीन असर पर्न थाल्छ । जुन समयमै सम्बोधन नगरे जीवनभरि असर पार्न सक्छ।
यस्तो अवस्थामा कानुनी उपचार मात्रै पर्याप्त हुँदैन । अदालती प्रक्रिया, मेडिकल परीक्षण, कागजपत्र, पुलिस केस जस्ता कानुनी चरणहरूले पीडितलाई न्याय त दिलाउन सक्छन्, तर समाजमा सम्मानकासाथ बस्ने अधिकार कानुनले मात्र ग्यारेन्टी गर्न सक्दैन । पीडितले न्याय पाएपनि यदि परिवारले साथ दिएनन् भने वा समुदायले तिरस्कार गरिरहे भने, ती व्यक्तिहरूको जीवन सामान्य बनाउन गाह्रो हुन्छ । दोस्रो कुरा, कानुनी प्रक्रियामा सबैसँगै हिंड्नु पनि पीडितका लागि चुनौती हुन्छ । त्यसैले परामर्शदाता, संस्था र सामाजिक सहयोगकर्ता सबैले मिलेर हिँड्न आवश्यक छ । कानुनी उपचारले बलात्कारलाई अपराधसिद्ध गर्छ । तर सामाजिक उपचारले मात्र पीडितलाई फेरि सुरक्षित महसूस गराउँछ।
यसैले, बलात्कारपछि परिवार र समाजको भूमिका अत्यन्त महत्त्वपूर्ण हुन्छ । परिवारले पीडितलाई दोष होइन, विश्वास र अँगालो दिनुपर्छ । उनीहरूका भावना सुन्न, सहयोग गर्ने, न्यायको प्रक्रियामा साथदिने, र घरमा सुरक्षित वातावरण बनाइदिने जिम्मेवारी परिवारकै हो । परिवारले यदि सकारात्मक र सहयोगी व्यवहार गर्छ भने, पीडित ५०% बाटो आफैँ सहजै पार गर्छन् । उनीहरूलाई आफू एक्लो छैनभन्ने महसुस हुन्छ, र पुनःस्थापनाको बाटो छिटो खुल्छ।
यस्तै, समाजले पनि पीडितलाई गलत नजरले हेर्ने पुरानो सोच बदल्नुपर्छ । दोषी अपराधी हो, पीडित होइन यो आधारभूत कुरा समाजले बुझ्नैपर्छ । स्थानीय नेतृत्व, महिला समूह, विद्यालय, युवा समूह, सामाजिक संस्था र समुदायका अगुवाहरूले पीडितमैत्री वातावरण बनाउनुपर्छ । समाजले पीडितलाई सामान्य मानिसजस्तै स्वागत गर्न सक्छभने, उनीहरूको आत्मबल धेरै बढ्छ । कुनै पीडितले आफूले भोगेको हिंसाका कारण आफ्नो गाउँघर छोड्नुपर्ने अवस्था आउनु नै ठूलो अन्याय हो । समाजले सहयोग दिँदै भन्ने पनि’तिमीले गल्ती गरेकी होइनौ, तिमीमाथि अन्याय भयो, हामी तिम्रो साथमा छौँ’ यस्तो सरल वाक्यले पनि पीडितको मनमा ठूलो आशा जगाउन सक्छ।
बलात्कार केवल कानुनी मुद्दा होइन । यो सामाजिक चेतनाको पनि विषय हो । परिवार र समाजले सही रूपमा भूमिका निभाउन सके मात्र पीडितको जीवनपुनःनिर्माण सम्भव हुन्छ । पीडितले आफ्नो घर, समाज, विद्यालय, कार्यस्थलवा समुदायमा सम्मानका साथ पुनःफर्केर बाँच्न सक्ने अधिकार कुनै परिस्थितिमा खोस्न सकिँदैन । कुनै पनि घटना घटे पनि पीडितको जीवन, उसको अस्तित्व, उसको मूल्य र उसको सम्मान जहिले पनि सुरक्षित हुनुपर्छ । पुनःस्थापनाको मार्ग कानुनी, मनो–सामाजिकर सामाजिक तीनै तहबाट मिलेर खुलेको हुन्छ। जब परिवार, समुदाय, संस्था र राज्य सबैले संयुक्त रूपमा काम गर्छन्, तबमात्र पीडितले नयाँ जीवन सुरु गर्न प्रेरणा पाउँछन्।
-पुरी मनोविद् हुन् ।

प्रतिक्रिया