काडमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो बाँकी जीवन विकास र समृद्धिमा केन्द्रीत रहने बताएका छन् ।
शनिबार काठमाडौंमा अन्नपूर्ण काठमाडौं समाजको साधारण सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले देशका लागि जे गर्ने सपना थियो त्यो पूरा हुन नसकेको बताए । उनले देशका लागि आफूले अझै धेरै काम गर्न बाँकी रहेको पनि बताए ।
‘मैले देशको लागि पनि गर्नुपर्ने अहिलेकोभन्दा अलि धेरै बाँकी छ। मैले देशभरि जाँदा भन्ने गरेको छु मेरो बाँकी जीवन अब विकास निर्माण र समृद्धिको निम्ति नै केन्द्रीत छ,’ उनले भने, ‘आउने दिनमा ती सपनाहरू पूरा गर्न संकल्प लिएकै छु।’ पूराना संरचनामा बानी परेकोले नयाँ संरचना अलि अप्ठेरो लाग्नु स्वभाविक भएको भन्द्र प्रचण्डले देश नयाँ संरचनाबाट पछि हट्न नसक्ने बताए ।
उनले भने, ‘जनता जागिसकेपछि नपत्याउँदा नपत्याउँदै श्रीपेच खोसेर फालिन्छ। पहिले गुमेको स्वर्ग फिर्ता लिन हिजोका राजा महाराजाहरू दश गुणा बढी शक्ति लगाउँछन् तर उनीहरुको अभिष्ट पूरा हुन्न ।’ परिवर्तनका नायकहरूलाई राजा महाराजाहरूले कुनै न कुनै रूपमा मनोबैज्ञानिक दवाव दिइरहेकोले सजक हुन जरूरी रहेको उनले बताए । ‘यो भन्दा धेरै बोल्दिन, मैले बोल्दै गरेको कुरा भोलि एउटा ऐतिहासिक सन्दर्भ बन्न पनि सक्छ।’

प्रतिक्रिया