वीरेन्द्रनगर नगरपालिकाको मेयर र उपमेयरमा एमाले विजयी


कर्णाली । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको मेयर र उपमेयरमा पदमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । नेपाली कांग्रेस–नेकपा (माओवादी केन्द्र) को गठबन्धनलाई पराजित गर्दै मेयर पदमा नेकपा एमालेका मोहनमाया ढकाल र उपप्रमुखमा नीलकण्ठ खनाल विजयी भएका हुन् ।

ढकालले गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार उपेन्द्रबहादुर खड्कालाई ५४४ मत अन्तरले पराजित गरेकी हुन् । ढकालले १६ हजार ३८ तथा उनका निकटतम प्रतिद्वन्द्वी खड्काले १५ हजार ४८४ मत प्राप्त गरे । उपमेयर खनालले २० हजार ३६४ र गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार शान्ति ढकालले ११ हजार ५३३ मत प्राप्त गरिन् । कूल १६ वडा रहेको वीरेन्द्रनगरमा ११ वडा एमाले र पाँच वडाको नेतृत्व कांगे्रसले पाएको छ ।

विसं २०७४ को निर्वाचनमा यहाँ प्रमुखमा कांगे्रस र उपप्रमुखमा एमाले विजयी भएका थिए । यसपटक राष्ट्रिय प्रजातन्त्र पार्टीले तेस्रो मत ल्याएको छ । उक्त पार्टीका प्रमुख पदका उम्मेदवार मुकुन्दश्याम गिरीले १० हजार छ र उपप्रमुख पदका उम्मेदवार लक्ष्मीकुमारी सार्कीले तीन हजार ६९७ मत प्राप्त गरिन् । सुर्खेतका नौमध्ये अब सिम्ता गाउँपालिकाको मात्र निर्वाचन परिणाम आउन बाँकी छ । त्यहाँ एमाले उम्मेदवारले अग्रता लिएका छन् ।